
ह्यामबर्ग । तमू समाज ह्यामबर्ग, जर्मनीले ल्होसार पर्व मनाएको छ । जर्मनीको ह्यामबर्ग शहरमा भएको कार्यक्रमका प्रमुख अतिथि तथा जर्मनीका लागि नेपाली राजदुत राजेन्द्र खनालले विदेशी भूमिमा रहेरपनि आफ्नो कला, संस्कृति जोगाउनका लागि तमू समाजले खेलेको भुमिकाको प्रशंसा गरे ।
समाजका अध्यक्ष लालबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सबैलाई ल्होसार एवम् नयाँ वर्षको शुभकामना दिएका थिए । जर्मनीको ह्यामवर्ग, बर्लीन लगायत युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, कलाकार सर्वसाधारण गरी करिब ६ सय जनाको उपस्थिति रहेको कार्यक्रममा नेपालदेखि आएका कलाकारले स्टेज तताएका थिए भने स्थानीय कलाकारको पनि प्रस्तुति रहेको थियो ।
लोक कलाकार प्रकाश सपूत, सुनिता दुलाल र पपगायक धिरज राईले दर्शकलाई भब्य मनोरन्जन प्रदान गरेका थिए ।
तमू संस्कृती जोगाईराख्न, तथा जर्मनीमा जन्मे हुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन यस्ता कार्यक्रमको विशेष महत्व रहने कार्यक्रममा सहभागिहरुको भनाइ थियो । सन् २००२ बाट मनाउँदै आएको ल्होसारमा प्रत्येक बर्ष जस्तै यस पटक पनि आयोजकले उपस्थित सबैलाई खादा ओढाएर सम्मान सहित स्वागत गरेको थियो ।
नेपालमा मुलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तमू , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष ‘खी’ अर्थात कुकुर बर्गलाई बिदाई गर्दै फो अर्थात मृग बर्गलाई स्वागत गरेका छन् ।
नयाँ वर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलाको ग्रह दशा शान्ति गराउँछन् र भोलि पल्ट नयाँ दिनको झुल्के घामसँगै नयाँ बर्षको स्वागत गर्दछन् ।















प्रतिक्रिया