
काठमाडौँ, ८ पुस । भारतले तेस्रो पक्षले उत्पादन गरेको विद्युत आयात सम्बन्धी व्यवस्थालाई खुकुलो पारेको छ। त्यसैगरी, भारतीय प्रशारणलाई प्रयोग गरेर विद्युत व्यापार गर्न सकिने व्यवस्था समेत गरेको छ।
भारत सरकारका ऊर्जा मन्त्रालयले जारी गरेको सीमापार विद्युत व्यापार सम्बन्धी नयाँ निर्देशिकाले नेपालले उठाउँदै आएको मागको सम्बोधन हुने गरी यस्तो व्यवस्था गरेको हो।
भारतले मंगलबार जारी गरेको नयाँ निर्देशकाको नयाँ व्यवस्थाले नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापारका लागि समेत ढोका खोल्नेछ।तर, जारी नयाँ निर्देशिकाले परियोजना अनुसार भारत सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था पनि गरेको छ।
भारतले दुई वर्षअघि जारी गरेको निर्देशिकामा भने भारत सरकार वा भारतीय कम्पनीको ५१ प्रतिशत लगानी भएको जलविद्युत आयोजनाको मात्रै विजुली किन्ने व्यवस्था थियो।
नेपालले भारतसँग भएको विद्युत व्यापार सम्झौताको विपरित प्रावधान भन्दै विरोध गर्दै आएको थियो । नयाँ निर्देशिकाले नेपालबाट उत्पादित विजुली भारत हुँदै बंगलादेश पुर्याउने बाटो खोलिदिएको छ।
यसअघिको भारतीय निर्देशिकामा तेस्रो मुलुकबीच विद्युत आयात वा निर्यातको व्यवस्था गरिएको थिएन, जसका कारण नेपाली विद्युत तेस्रो मुलुक, खासगरी बंगलादेश निर्यात गर्न असम्भवप्राय थियो।
यद्यपी, तेस्रो मुलुकबीच हुने व्यापारका लागि भने भारतसँग विद्युत व्यापार सम्झौता हुनुपर्ने व्यवस्था गरेको छ। हाल नेपाल र बंगलादेशको भारतसँग विद्युत व्यापार सम्झौता रहेको छ।















प्रतिक्रिया