५ कार्तिक २०८३, बिहिबार

कुमार बस्नेत भन्छन् : पप गीत मैले ल्याएको हुँ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।
कलियुगको बेलैमा
जोशमा हुन्न होस्
उनकै छोरी तरुणी
हामीलाई के–को दोष ?

खासगरी, लोकगीतका माध्यमबाट ६ दशकअघि नै एउटा नाम स्थापित भयो– कुमार बस्नेत । विसं २००० सालमा जन्मिएका बस्नेत नाटक हुँदै संगितको दुनियाँमा प्रवेश गरे । अहिले पनि सक्रियताका साथ संगितबजारलाई मुल्यांकन गर्छन् ।

लामो समयसम्म प्रतिलिपि अधिकारको अध्यक्ष, संगीत संघको अध्यक्षका रूपमा पनि काम गरेका बस्नेर्त जीवनका हरेक रंगसँग घुलित छन् । एउटा कालखण्डकै आधुनिक पात्रका रूपमा स्थापित उनका लागि कैयौं केटी मरिहत्ते गर्थे । तीन छोरा तीन छोरीका धनी बस्नेत सेक्सी गायनका मानक हुन् । त्यसैले त उनको जमानाको गीत

छोरी भन्दा आमा तरुणी
लिपिस्टिक पाउडरले
लान्छ क्यारे घुमाउन
झिल्के ड्राइभरले

मुख मुखमा झुन्डिएको थियो । त्यसपछि पप गीतको अर्को युग आयो । लोक आधुनिकको युग आयो । अहिले कभरदेखि अनेक प्रकारका युग आए । उल्लिखित उनको गीतमा नै समाजको अहिलेको बस्तुस्थिति पनि मिल्छ । अहिले छोरीहरू भन्दा आमाहरूको चल्तीफुर्ति ठूलै हुन्छ, ग्ल्यामर बजारमा । जे होस्, बस्नेतले संगीतका अनेक युग नियाँलिसकेका छन् ।

सबै युगलाई नियाँलिरहेका बस्नेतको दाबी छ, पप गीत पनि उनले भित्राएका थिए । भन्छन्,‘मैले पप गीत गाएको हो । त्यो एक जमानामा चलेको थियो ।’

दिउँला यो जोवन
दिउँला तिमिलाई

बोलको पपगीत निक्कै चर्चित भयो । यहि गीतलाई त्यो जमानामा रुचाइयो । नाचघरमा ५ पटकसम्म त दर्शक स्रोताको चाहनामा (वान्समोर)मा गाएका थिए । छैठौं पटक गाउन नसक्दा तोडफोड भएको थियो । ‘अनि यति हिट पप गीत ल्याएको थिएँ मैले । मैले भित्राएको होइन त ?’, उनी दाबी गर्छन् ।

बस्नेतका धेरै गीतले देश ततायो । परदेशसम्म घुमायो । अहिले पनि विभिन्न मुलुकमा उनी पुग्नासाथ आफर हुन्छ–

लै बरी लै लै बरी लै
गाउँकी ठिटी सबैलाई
शनि सातको दशाले घुमाउँदा

लगायतका गीतहरू । सकेसम्म उनी गाउँछन् । देशका दूरदराज पनि देखेका उनी विदेशका विभिन्न मञ्च पनि पुगिसकेका छन् ।

 

‘बौद्धिक सम्पत्तिमा डकैंती’ 
नेपाली संगितको पहिलो पुस्तातिरकै जीवित इतिहास हुन्, लोकगायक कुमार बस्नेत । झन्डै ८ दशकको उमेर र ६ दशकभन्दा लामो गायन इतिहासका जीवित पात्र बस्नेत अहिले नेपालमा भइरहेको संगितको विकास, डिजिटल युगको तारिफ गर्छन् ।

तर यो तारिफसँगै उनको मनमा खड्कीन्छ, पुराना संगित र बौद्धिक सम्पत्तीको चोरी । अझ चोरी भन्दा पनि डकैति नै भएजस्तो लाग्छ उनलाई । यसैलाई रोक्नका लागि संगितकर्मीको प्रतिलिपि अधिकार कायम गरिदिने सम्बन्धी संस्थाको अध्यक्ष पनि बनेका थिए उनी । तर, कसले मानिदिने ? प्रविधिले हस्तक्षेप गरेको संसारमा नेपालभित्र मात्र होइन, बाहिरबाट पनि बौद्धिक सम्पत्तिमा डकैती भइसकेको छ ।

‘गीत धेरै छन् । कस–कसका गीतका कुरा गरौं । हामीले कमसेकममा त्यसको मर्म र भावनाको हनन् नहोस्, स्वीकृति लिएर काम गरियोस् भन्ने चाहनामात्र राखेका हौं’, उनी भन्छन्,‘यस विषयमा सशक्त आवाज उठाएर नियमन गर्न पनि आवश्यक देखिन्छ ।’

बलिउडमा यस्ता बौद्धिक सम्पत्तिको सम्मानमात्र होइन, प्रतिलिपि गरेवापत ठूलो रोयल्टी दिने प्रचलन पनि छ । तर नेपालमा प्रतिलिपि गरिदिने तर रोयल्टी नदिने, कानुनी दायरामा पनि नआउने प्रचलन देखेर उनी दिक्क छन् ।

‘सृजना भनेका सम्पत्ति हुन् । एउटा कलाकारले जीवनमा पैसा कमाएको हुँदैन । अझ हाम्रा बेलाका गायक गायिकाले कसरी पैसा कमाउँथे र ? अहिले पैसा कमाउने होडमा कतिपय नयाँ गीतमा पुराना कलाकारका सृजना नसोधी चोरिन्छ’, उनी थप्छन्,‘यस्तालाई कारबाही गरिदिने, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ की पर्दैन ? यो क्रम रोकिनुको साटो बढिरहेको छ ।’

रिमिक्स वा कभर भर्सनमा युट्युबमा आउने पुराना गीतका असली मालिक उनका सन्तानले त्यहि गीतको इज्जतमा गरिबीको रोटी खाइरहनुपर्ने तर नयाँ स्वर भर्नेले लाखौं कमाउने गरेको देख्दा मन कुँडिन्छ ।

‘यो डाहा अथवा कसैको विरोध होइन, त्यसको केही प्रतिशत वा अनुमति लिएर आयआर्जन भएको रकमले पुराना कलाकारका परिवार, उनले गरेका समाजसेवामा समर्पित गर्ने समाज किन बनिरहेको छैन ?’, उनी प्रश्न गर्छन्,‘कतिपयले सम्पत्तीका रूपमा त्यस्ता गीतका क्यासेटलाई थोत्रो घरमा म्युजियम बनाएर बसेका छन्, त्यहाँभित्रको सम्पत्तिचाहीँ अर्कैले बेचेर मालामाल भइरहेको छ ।’

कानुनी हिसाबमा बौद्धिक सम्पत्ति चोरीको मुद्दा अदालतमा लाग्न सक्छ । यो कानुनी विषयलाई नजरअन्दाज नगरी इन्टरनेटका विभिन्न माध्यममा भइरहेका बौद्धिक, सांगितिक चोरी र डकैतिकाविरुद्ध आजको पुस्ताले नै बोल्नुपर्ने ठान्छन् उनी । ‘मेरो पुस्ताका धेरै मानिस कहाँ छन् र ? प्रेमध्वज र म सक्रिय हौं । तर हामी दुईको आवाज अहिले कसले सुनिदिन्छ ?’, उनी थप्छन्,‘यस्तो गम्भिर विषयमा संगितका पुस्ताले नै विचरण गर्नुपर्छ ।’