बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

‘बिगतको कठिन दिन सम्झिदा मन ढक्क फुलेर आउँछ’

दैनिक नेपाल २०७५ मंसिर २२ गते ११:१६

विमल योगी

काठमाडौं । सहिल खानले कुनै दिन आफूलाई पनि मान्छेहरूले बाक्लै रुपमा रुचाउलान् र खोज्लान् भनेर कहिल्यै सोँचेका थिएनन् । यति धेरै सफल हुन्छु भनेर पनि उनले ध्यान दिएका थिएनन् ।

काठमाडौंको शुरुवाती दिनहरू स्मरण गर्दै उनले भने, ‘विगतका दिन सम्झिदा मन ढुक्क भएर फुलिन्छ ।’ कुनै बेला अनामनगरमा खानले आफ्नै आफिस खोलेका थिए । महिनाको १५ हजार भाडा रहेको अफिसमा खानले एक वर्ष जम्मा पाँच हजारको काम गरेका थिए । ‘कुनै दिन यस्ता पनि थिए’, खानले भने, ‘अहिले मलाई काम गर्न फुर्सद छैन ।’

खानले फिल्मसम्बन्धी काम गर्छन् । काठमाडौंको (राजदरबारको पछाडि)उत्तरढोकामा उनको अफिस छ । चार/पाँच जना सहयोगीहरू राखेर फिल्म सम्पादन गर्छन् । खानको विशेषज्ञता नेपाली फिल्महरूको ट्रेलर बनाउने हो । दुई घण्टाको फिल्मलाई खानले दुई मिनटभित्र झारिदिन्छन् । त्यति मात्रै होइन ट्रेलर हेरेर फिल्म हेर्न दर्शक हलसम्म आउने गरेको उनको बुझाइ छ । उनलाई फिल्मको ट्रेलर बनाउन न्युनतम १ हप्तादेखि १५ दिनसम्म लाग्छ । भन्छन्, ‘फिल्म पूरै हेर्नुपर्छ । कथावस्तु बुझ्नु पर्छ । त्यसपछि ट्रेलर बनाउने हो ।’

खानलाई फिल्मको ट्रेलर बनाउने सम्पादकमा नेपाली फिल्म क्षेत्रमा एक नम्बर सम्पादकका रुपमा लिने गरेको निर्देशकहरू बताउँछन् ।

आफूलाई महँगो सम्पादक भनेर प्रचार गरिएकोमा खान असन्तुष्ट छन् । भन्छन्, ‘मैले निर्माता र निर्देशकलाई चित्त बुझाएर काम गर्नुपर्छ । राम्रो काम गरियो भने अर्को पटक काम पाइन्छ । त्यही अनुसारको पारिश्रमिक लिन्छु ।’ हुन पनि पछिल्लो समय ट्रेलर बनाउने कामका लागि खान नेपाली फिल्ममा चर्चित नाम पर्छ । उनीसँग ट्रेलर बनाउन फिल्म निर्माता र निर्देशकहरू लाइनमा छन् ।

खानले नेपाली फिल्मको ट्रेलर बनाउने ट्रयाक नै परिवर्तन गरिदिएका हुन् । अभिनेत्री झरना थापाको होम प्रोडक्सन रहेको ‘फेसबुक’ फिल्मको ट्रेलरबाट खानले नयाँ प्रयोग भित्र्याएका थिए । ‘फेसबुक फिल्मको ट्रेलर बनाएपछि मलाई निर्माता र निर्देशकहरूले खोज्न थाल्नुभयो’, उनले भने, ‘त्यसपछि मलाई पछाडि फर्केर हुनुपर्ने अवस्था आएन ।’

विगत ११ वर्षदेखि फिल्म क्षेत्रमा कार्यरत खानले सक्दासम्म यो क्षेत्र नछाड्ने बताउँछन् । जमलमा रहेको एरिना मल्टिमिडियामा कञ्चनराज पाण्डेसँग प्राविधिक काम सिकेका खानले लामो समय तत्कालीन ताल म्युजिक कम्पनीमा सम्पादनको काम गरेका थिए । त्यसपछि उनले विपिन मल्लसँग विजी बी इन्टरटेनमेन्टमा सम्पादक भएर काम गरेको स्मरण सुनाए । शुरु–शुरुमा खानले फिल्मको सम्पादनका लागि फुटेज काट्ने काम गर्थे ।

सम्पादक खानले नाइ नभन्नु ल २, स्टुपिड मन, फेसबुक, च्याम्पियन, आरोप, वेष्ट फ्रेण्ड, फरेभर, आवेग, छिरिङसहितका दुई समय बढी फिल्मको ट्रेलर बनाइ सकेका छन् । खानद्वारा सम्पादन गरिएका भिलेन, लभ डाइरिज्, पोखराकी काली, होलिडे लगायतका फिल्मका ट्रेलर पनि आउँदै छन् । भुवन केसी र अनमोल केसीको फिल्मको ट्रेलर पनि खानले बनाउँदै छन् ।

हलिउड फिल्मका ट्रेलरबाट प्रभावित ठान्ने खानले भने, ‘हलिउडकै लेवलको काम गर्न नसकेपछि त्यसकै छेउछाउ हुने गरेर काम गर्नुपर्छ । म हलिउडका ट्रेलरलाई फलो गर्छु ।’
हुन त खानले ‘लभ डाइरिज’मा पनि एसोसिएट निर्देशकको काम गर्न भ्याएका छन् । म्युजिक भिडियोहरूमा फाटफुट मोडलिङ गर्दै आएका खानले भविष्यमा फिल्म निर्देशक बन्ने योजना सुनाए । भन्छन्, ‘निर्देशक बनेर राम्रो फिल्म बनाउने योजना छ ।’

प्रतिक्रिया
सम्बन्धित