बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

राणालाई अदृश्य शक्तिको फोन, त्यसपछि भाँडिएको थियो एकीकरण

दैनिक नेपाल २०७५ मंसिर २१ गते ८:२१

काठमाडौं, २१ मंसिर । विभाजित तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकीकरण गराउन पुनः मध्यम आवाजमा उठ्न थालेको छ । कार्यकर्ताहरूले तीन वटै राप्रपाका शीर्ष नेताहरूलाई पार्टी एकताका लागि दवाव दिँदै आएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)ले पार्टी एकीकरणको लागि अन्तिम तयारी भएको थियो । तर, शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थले पार्टी एकीकरण हुन सकेको थिएन ।

तीनवटा राप्रपाका अध्यक्षहरूबीच पृथ्वीनारायण शाहको वंशलाई राजसंस्था राख्ने वा जनमत संग्रहसम्म जानेसम्मका विषयमा सहमति भएको स्रोतको भनाइ छ । हिन्दू राष्ट्रका विषयमा तीन वटै राप्रपा तयार थिए ।

पार्टीको नेतृत्वको विषयमा तीन जना अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच बराबरीको हैसियत रहने गरेर तीन जना अध्यक्ष राख्ने सहमति भएको स्रोतको भनाइ छ ।

पार्टी एकीकरण घोषणा गर्ने एक दिन अगाडि राप्रपाहरूका बीच एकता भाँडिएको थियो । राप्रपाहरूको एकता प्रक्रिया भाँडिएको कारण अहिले पनि नेताहरूले खोजी गरिरहेका छन् । स्रोतका अनुसार राप्रपालाई मिल्न नदिनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका रहेको छ ।

कमल थापा नेतृत्वको राप्रपाका एकजना नेताले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपति शम्शेर राणालाई फोन गरेर कमल थापासँग नमिल्न दवाव दिएपछि पार्टी एकीकरण हुन सकेन ।’

तर, राप्रपा (प्रजातान्त्रिक)का सहप्रवक्ता किरणले गिरीले तीन वटा राप्रपाबीच एकीकरणको कुरा अझै पनि जीवित रहेको बताए । ‘त्यस्तो केही पनि होइन । राप्रपाहरूबीच पार्टी एकीकरणको बिकल्प छैन’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित