शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

भ्रष्टाचार मुद्धामा पूर्वआइजीपी बोहोरालाई सर्वाेच्चको सफाइ

दैनिक नेपाल २०७५ मंसिर २० गते १७:५८

काठमाडौँ, २० मंसिर । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

बिहीबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।

विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

तथ्यमा प्रवेश नगरी न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो ।

त्यसविरुद्ध सरकारले पुनरावेदन गरेपछि पुनः मुद्दा विशेष अदालत फर्केको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले २०६८ चैतमा दोषी ठहर हुने फैसला सुनाएको थियो । सर्वोच्चले त्यो फैसला त्रुटिपूर्ण रहेको भन्दै सफाइ दिएको हो ।

बोहरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक भएका थिए । यसअघि बोहराको मुद्दा विशेष अदालतबाट सम्पत्तिको स्रोत खुलाउनका लागि हदम्यादको आधारमा खारेजीमा परेको थियो । तर, सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश अनुपराज शर्मासमेतको इजलासले भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने भन्ने फैसला सुनाएपछि त्यसै आधारमा फेरि ब्युँतिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित