शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सरकार ! हामी चेलीहरु असुरक्षित कहिलेसम्म ?

रबिना पौडेल २०७५ मंसिर २० गते १२:४२

-रबिना पौडेल

आज नेपालकी छोरीहरु आफ्नै सरकारसँग न्यायको भिक मागिरहेका छन् । अँध्यारो यस भूमिमा दिउँसो बत्ति बालिरहेका छन् । आफ्नो घरमा सुरक्षा नभएको भन्दै सडकबाट सरकारलाई गुहारी रहेका छन् ।

यी दृश्यहरुले मलाई नेपाल सरकार समक्ष केवल एक प्रश्न सोध्न बाध्य गराउँछ । ए सरकार ! हामी चेलीहरु असुरक्षित कहिले सम्म ? थाहा छ ! मेरो सरकार मुर्ति जस्तै मौन छ । नेपाली छोरीहरुप्रति पनि नकरात्मक त छैन । चाहना राख्छ सुरक्षा दिन तरपनि, ए सरकार ? तिम्रो रणनीतिले, तिम्रो नीति नियमले, तिम्रो कानूनले हामी चेलीहरुको इज्जत जोगाउन सकेको छैन ।

घरबाट स्कुल गएकी छोरी बाटोमै बलात्कृत हुन्छिन् । झुटो प्रेम र आश्वासन देखाएर चेलीको अस्मिता लुटिन्छ । यहाँ न त चेलीलाई घरमा दाजुभाई, बाबा–काकाबाट सुरक्षा छ, न त स्कुलमा गुरुहरुबाट नै ।

निर्मला त एक चित्र हो । केवल तस्वीर । जसलाई आज सारा संसारले देखेको छ । तर, तिमीलाई के थाहा ! कयौँ निर्मलाहरु अझै यो नेपाल आमाको काखमा रहेर पनि जिउँदै जलिरहेका छन् । अनेक हिंसाहरुको शिकारमा रुमलिरहेका छन् । खै कहाँबाट सुरुवात गरौँ हामी चेलीहरुमाथि भएको निर्मम अन्याय, अत्याचार, उत्पीडन र बलात्कारको ज्वालामुखी आवाजहरु ? म सोचमग्न छु । दिनहुँ चेलीहरुमाथि हुने आक्रमण र प्रहारले नेपाली समाजमा विकराल रुप लिँदै गएको छ । घरदेखि बन पाखा सम्म, देशदेखि विदेश सम्म, बाटोदेखि स्कुलसम्म गाउँदेखि सहरसम्म महिलाहरु हरक्षण र हरसमय असुरक्षाको कटघरामा छन् ।

कतिखेर कुन पुरुषको निशाना र प्रहारबाट ग्रसित र शिकार हुनुपर्ने हो त्यसको कुनै लेखाजोखा छैन । हाम्रो समाजमा जरा गाडेर बसेको पुरुषत्व, संकीर्ण सोच र चेलीहरुमाथिको गिद्धे नजरबाट अझैपनि १९ औँ शताब्दी दोहोरिरहेका छन् । घरबाट स्कुल गएकी छोरी बाटोमै बलात्कृत हुन्छिन् । झुटो प्रेम र आश्वासन देखाएर चेलीको अस्मिता लुटिन्छ । यहाँ न त चेलीलाई घरमा दाजुभाई, बाबा–काकाबाट सुरक्षा छ, न त स्कुलमा गुरुहरुबाट नै । म आक्रन्त छु ।

लेखक

त्यति मात्र हैन सरकार ! जागिर खान गएकी चेली हाकिमबाट बारम्बार बलात्कृत हुन्छिन् यहाँ ! कलेजमा नाम निकाली दिन्छु, ट्युसन पढाउँछु भनेर कोठामा बोलाउने गुरुहरु चोकचोकमा भेटिन्छन् । यहाँ बाइक देखाएर घर पुर्याइदिन्छु भन्ने, लुटपाट गर्ने र पाकेट मार्नेहरु छ्याप्छ्याप्ती छन् । सहरमा त छोरीहरुको सुरक्षा छैन भने घना जंगल पार गर्दै लेकबेसी गर्ने छोरीहरु कति सुरक्षित छन् आफै मूल्याङ्कन गर्नुहोस् ।

बलात्कारीलाई फाँसी देऊ भन्न खोजेको त हैन । फाँसीले कहिँपनि बलात्कार रोक्न सकेको छैन । नेपालमा चेलीलाई सुरक्षा देऊ, न्याय देऊ । बलात्कारीलाई नैतिकता देऊ, होस देऊ, धर्म देऊ ।

सानो छँदा चुङ्गि र थोत्रो चप्पलबाट बनेका गाडी दिन्छु भन्दै फकाउने साथीहरु समाजमा नै छन् । रुखभरि लटरम्मै पाकेको आँप टिपीदिन्छु भनेर फकाउने दाजुहरु पनि समाजमा नै हुनुहुन्छ । सानो छँदा कपडा खोलेर गरेका अनेक व्यवहारहरु बाबाआमालाई भन्न लजाउँछिन् चेलीहरु । ठूलो भएपनि आफ्नै जीवन जोखिममा पर्ने हो कि भनेर अरुलाई भन्न डराउँछन् । भित्रभित्र जलेकी चेलीहरुले सुन्न सक्छन् निर्मलाका बोलीहरु, तिमी सक्दैनौ सरकार ?

बलात्कारीलाई फाँसी देऊ भन्न खोजेको त हैन । फाँसीले कहिँपनि बलात्कार रोक्न सकेको छैन । नेपालमा चेलीलाई सुरक्षा देऊ, न्याय देऊ । बलात्कारीलाई नैतिकता देऊ, होस देऊ, धर्म देऊ । यस्तो संस्कार देऊ की उनीहरुले कुनै चेलीको इच्छा बिना छुन नसकुन् । अझ यहाँ भन्दा ठूलो आजीवन जेल सजाय देऊ । नेपाली चेलीहरुलाई सुरक्षित हुने उपाय देऊ, चेतना देऊ, शिक्षा देऊ र अन्याय, अत्याचारको विरुद्घ जुध्न सक्ने हिम्मत देऊ, शक्ति देऊ ।

हामी चेलीहरु सुरक्षाकर्मी, राज्य र सरकारको अपनत्वको पर्खाइमा छौँ । हामी जति धैर्यशील र अनुशासित छौँ, त्यो भन्दा बढी धैर्यताको बाँध फुट्यो भने त्यसको ठूलो मूल्य राज्य सरकारले नै चुकाउन पर्नेछ ।

देशको सुरक्षाकर्मीहरुले गरेको व्यवहारले सरकारको नियतमाथि ठूलो शङ्का र प्रश्न चिन्ह खडा गरेको छ । ती सुरक्षाकर्मीहरुलाई प्रमाण नस्ट गर्नै नमिल्ने कडाभन्दा कडा कानून बनाइ देऊ । अब हामी बाँकी जीवित निर्मलाहरुले भोलि अकालमा मर्न नपरोस् । निर्मलाहरुलाई न्याय दिने, यो देशको सच्चा नागरिक हुने हाम्रो इच्छा पुुरा गर सरकार !

हामी चेलिहरुलाई अँध्यारो र असुरक्षित ठाउँमा राख्ने अधिकार कुन कानुनले दियो सरकार ? सक्छौ भने देखाऊ । नत्र हाम्रो पुरुष सरह हिड्न पाउने, पढ्न पाउने, बाँच्न पाउने अधिकार छ भन्ने कुराको ग्यारेन्टी गर सरकार ! हामी चेलीहरु सुरक्षाकर्मी, राज्य र सरकारको अपनत्वको पर्खाइमा छौँ । हामी जति धैर्यशील र अनुशासित छौँ, त्यो भन्दा बढी धैर्यताको बाँध फुट्यो भने त्यसको ठूलो मूल्य राज्य सरकारले नै चुकाउन पर्नेछ ।

मैले हरेक पीडा र अन्याय मनमा गुम्साएर राख्न नसकेर शब्द मार्फत पोखेकी छु । यहाँ लाखौँ चेलीहरु छन् सरकार ! जो आफ्नो आवाज, पीडा, अन्याय गुम्साएर बसिरहेका छन् । एक चोटी निर्मला र योगमाया जस्ता चेलीलाई आफ्नो छोरी सम्झेर त्यो तिम्रो आँखाबाट हेर त सरकार ! चेलीहरुमा अनेक पीडाहरु छन्, कहाली लाग्दा कथाब्यथाहरु छन् । यसैले मलाई प्रश्न गर्न मन लागेको छ, भन सरकार हामी असुरक्षित कहिले सम्म ?

पत्रकार समेत रहेकी लेखक कानुनकी विद्यार्थी हुन् ।

प्रतिक्रिया
सम्बन्धित