शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

गरिबीमुक्त अभियानमा पवन चामलिङ

दैनिक नेपाल २०७५ मंसिर १९ गते १०:२७

सञ्जय प्रधान

सिक्किम। ‘मलाई सिक्किम मनपर्छ…सिक्किमे जनता मनपर्छ…’ गीतबाट यसरी भावना उजागर गरेर आफ्ना जनताप्रति माया र सम्मान जनाउने सिक्किमका मुख्यमन्त्री पवन चामलिङ जनताका दुःख सुख बारेमा सधैं विचारशील, क्रियाशील रहेको गीतबाट स्पष्ट बुझिन्छ। सिक्किमलाई झोपडीमुक्त, गरिबीमुक्त बनाउने बृहत अभियानमा आफ्नो प्रारम्भिककालदेखि नै मुख्यमन्त्री पवन चामलिङ लागेका छन्।

शुरूमा मोडल ए को रूपमा मुख्यमन्त्री ग्रामीण आवास योजनाअन्तर्गत ४ लाख ८९ हजार रूपियाँको सरकारी लगानीमा सिमेन्टको पक्का घर निर्माण गरिँदै आएको थियो। यसपछि यसै योजनाअन्तर्गत पहिलो चरणमा १२ लाख रूपियाँको लगानीमा सरकारले गरिबको निम्ति घर निर्माण गरिदिने कार्य गरिरहेको छ।

सो १२ लाखको घरभित्र खुबै राम्रा कोठाहरू, सुविधायुक्त भान्साघर, बाथरूम, सिटिङ रूम रहेको छ। सिक्किमभरिनै यस्ता घरहरू गरिबको निम्ति निर्माण भइरहेका छन्। गेजिङ समिष्टको पेचरेकमा ग्रामीण प्रबन्धन विकास विभागका मन्त्री एसबी सुवेदीले ग्रेसी राई र श्रीमती गीता छेत्रीको नयाँ घर रिबीन काटि उद्घाटन गरेर दुवैलाई बधाई साथै शुभकामना जनाए।

मन्त्री एसबी सुवेदीले भने, ‘यो घर मुख्यमन्त्री पवन चामलिङको विचारले बनिएको हो। उनी चाहन्छन् सिक्किममा कुनै पनि गरिब झोपडीमा बस्न नपरोस्। गरिबलाई गरिबीबाट मुक्त बनाउने उनको यो अभियान हो।’ उनले भनेअनुसार पहिलो चरणमा सिक्किममा यस्ता ३ हजार घरहरु निर्माण भइरहेको छ ।

१२ लाखको नयाँ घर पाएकी २६ वर्षीया श्रीमती ग्रेसी राई औधीनै खुसी थिइन्। ‘पहिलाको घर सानो र पक्का नभएको हुनाले धेरैनै असुविधा थियो। अहिलेको नयाँ घरमा सबै सुविधाहरू छन्। पाहुनाहरू आए अब धेरै सजिलो हुनेछ। यस्तो राम्रो घरमा बस्न पाउँछु भन्ने सपनामा पनि सोच्न सकेको थिइन। यसको निम्ति हाम्रा मुख्यमन्त्री पवन चामलिङप्रति हार्दिक धन्यवादसहित अभार प्रकट गर्दछु’ खुशी हुँदै ग्रेसी राईले भनिन्।

यस्तै गेजिङ नगर परिषदको वडा नं. १ ओमचुङ निवासी श्रीमती मेनुका दर्जी अघिबाटै ४ लाख ८९ हजार रुपियाँको लगानीमा सरकारले निर्माण गरिदिएको पूर्ण सुविधायुक्त घर पाएर अहिले आफ्ना दुईजना छोराहरू र पति केशर बहादुर दर्जीसित हाँसीखुशी  जीवन बिताइरहेकी छन्। उनकी पति सिक्किमकै माइनिङमा वाई वाई कम्पनीमा जागीर गर्छन्। ‘पुरानो घरमा हावापानी आउँदा, भुइँचालो आउँदा साह्रै डर लाग्थ्यो। शौचालयको निम्ति पनि समस्या थियो। राम्रो घरमा बस्न इच्छा लाग्थ्यो तर, हामीसित त घर बनाउने क्षमता थिइन्। यस्तो पक्का, राम्रो र सुविधायुक्त घरको कल्पनासमेत गर्न सकेको थिइन्। तर मुख्यमन्त्री पवन चामलिङले हाम्रो इच्छा पुरा गरिदिनु भयो। सिक्किममा साँचैनै गरिबीबाट मुक्ति दिलाउने सरकार आएको छ’, यसो भन्दा मेनुका दर्जीको आँखा हल्का रसाएको थियो।

‘मेरो टाउकोमा घाउहरू भएको छ मलाई दुख्छ, चिलाउँछ सुत्नै गाह्रो पर्छ। बुढेसकालमा छु डाक्टर देखाउन जानु शहरतिर जान पनि सक्दिन। तर यहाँ त हाम्रो गाउँमै थुप्रै डाक्टरहरू आउँदैछन् भनेर मेरो छोराबाट सुने। मलाई छोराले नै यहाँ ल्याएको हो। यहाँ आउँदानै सञ्चो लागिरहेको छ’, नब्बे वर्ष पुगेकी श्रीमती प्रतिभामाया बस्नेतको अनुहारमा राहतको छाप स्पष्ट देखिन्थ्यो। जनतालाई सहुलियत प्रदान गर्न जनताकै दैलोमा पुग्ने सरकार खोज्न परे भारतको हिमाली राज्य सिक्किम भेटिन्छ। समग्र भारतमा एउटा नमुना राज्यको रूपमा
अघि आइसकेको सिक्किमले विकासको क्षेत्रमा अब कोशौँ छलाङ मारिसकेको छ। गएको २४ वर्षदेखि सिक्किममा निरन्तर सरकार गठन गर्न सफल बन्दै आएको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को सरकारले जनताका निम्ति थुप्रै योजनाहरू संचालन गरिरहेको छ। कैयौँ योजनाहरू कार्यान्वयन गर्दै सिक्किमेली जनताको स्वास्थ्य सम्बन्धमा एसडीएफको सरकार सधैं सक्रिय बन्दै आइरहेको छ।

सिक्किमको निक्कै दुर्गम क्षेत्र पश्चिनम जिल्लाको देन्ताम बजारमा १ अनि २ दिसम्बरको दिन निःशुल्करूपमा विराट स्वास्थ्य शिविर “हेल्थ एक्स्पो” आयोजना गरेको थियो। सिक्किमका शहरी विकास एवं आवसीय विभागका मन्त्री एनके सुब्बाको सक्रियतामा आयोजना भएको सो स्वास्थ्य शिविरमा सिलगढी, कलकता, दिल्लीका डाक्टरहरू र नर्सिङ होमहरूका असल असल डाक्टरहरू आएका थिए। विभिन्न किसिमका रोगहरू जाँच गर्नका निम्ति २० वटा भन्दा बढी जाँच गर्ने स्टलहरू राखिएका थिए। दुई दिनको यस निःशुल्क शिविरमा १२
सयभन्दा बढी मानिसहरूले स्वास्थ्य जाँच गराए। डाक्टरहरूले दुर्गम क्षेत्रबाट आएका मानिसहरूको रोग जाँच गर्दै परामर्श दिए साथै निःशुल्क औषधीहरू पनि वितरण गरे। बाङ्तेन गाउँबाट कानको उपचार गराउन आएका ४५ वर्षीय फुर्बा छिरीङ भोटिया यस्तो शिविर आयोजना भएकोमा निक्कै खुशी थिए।

‘मेरो कान दुख्छ र उपचार गराउन शहरमा जान मलाई समस्या छ। तर हाम्रो एसडीएफको सरकारले हाम्रो क्षेत्रमा यस्तो निस्शुल्क शिविर आयोजना गरिदएर ठूलो उपकार गरिदिएका छन्। शहरमा गएर उपचार गराउन नसक्ने गाउँका जनताका निम्ति यस्तो शिविर आयोजना हुन आवश्यक छ’, फुर्बा छिरीङ भोटिया खुशी व्यक्त गर्दै भन्छन्। देन्ताम क्षेत्रकै खान्डु गाउँबाट आएका ५९ वर्षीय भीमराज बस्नेत भन्छन्, ‘धेरै अघिदेखि ढाड र घिच्रो दुखेर मलाई असुविधा भइरहेको छ। उपचारको निम्ति गाउँदेखि बहिर शहरमा जान सकेको थिइँन। सरकारले हाम्रो गाउँमै डाक्टरहरू ल्याइदिएर हामीलाई धेरै सुविधा दिएको छ।’

सिक्किममा सरकारी आयोजनामा राज्यभरिनै विभिन्न ठाउँहरूमा यस्तो स्वास्थ्य शिविरहरू प्रायः निरन्तर भइरहन्छ। यस शिविरमा मुख्य अतिथिको रुपमा उपस्थित रहेका ग्रामीण प्रबन्धन विकास विभागका मन्त्री एसबी सुवेदी भन्छन्, ‘जीउ छ भने घिउ खान पाइन्छ। एसडीएफ सरकार सिक्किमेली जनतालाई सुस्वास्थ राख्न साथै जनताको निम्ति विकास गर्न सधैं प्रतिविद्ध रहेको छ।’

यस शिविरमा सिक्किम पुलिसको मोटर व्हिकल डिभिजन रोड सेफ्टी सेलको क्लिनिक भ्यान र गैर सरकारी संस्था भविष्य भारत (हंस फाउन्डेशनद्वारा संचालित) मोइबाल क्लिनिक भ्यानमा डाक्टरहरू संलग्न रहेर जाँच गरिरहेका थिए। भाविष्य भारतको मोबाइल क्लिनिक देन्तममा दुईवटा राखिएको छ जसले ४० वटा गाउँहरूलाई सहयोग पुर्या इरहेको छ भने, उत्तर जिल्लाको मङ्गनमा एउटा राखिएको छ।

दक्षिण जिल्लामा भविष्य भारतलाई स्टेट ब्याङ्क अफ् इन्डियाद्वारा सहयोग प्राप्त छ भने त्यहाँ राखिएको एउटा क्लिनिक भ्यानले २५ वटा गाउँहरूलाई सुविधा पुराइरहेको यसका एडमिन बीआर रसाइली बताउँछन्। सिक्किममा रोगीहरु कोही उपचार गराउनका निम्ति बाहिर जान परे यात्रा खर्च साथै उपचारको निम्ति पनि सरकारद्वारा नै प्राप्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित