११ कार्तिक २०८३, बुधबार

हाम्ले छोएको भाँडा चल्दैन…

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १६ मंसिर । ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ फ्याक्ट्रीमा काम गर्न गएको हुँ । चाडबाडमा मात्र घर आउँछु ।’ ‘घर आएका बेला पनि परिवार र आफन्तमाथि अछूतको व्यवहार भइरहेको देख्दा मन भत्भती पोल्छ’, उनले भने, ‘त्यही भएर कहिलेकाहीँ त चाडपर्वमा पनि घर नआऊँ जस्तो लाग्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पर्सा जगरनाथपुर गाउँपालिका–२ जानकी टोला छेउमै डोम (दलित) बस्ती छ । वृजेशको घर पनि यहीँ छ । बस्तीमा १५ घर डोम छन् । जानकी टोलको यो वस्ती छेवैमा सानो बजार छ । बजारमा आधा दर्जन खाजा नास्ताका होटेल छन् । ती होटेलमा चिया नास्ता खान जाँदा डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् ।

होटेलवालाले डोमले छोए अशुद्ध हुने भन्दै उनीहरूलाई स्टिल वा सिसाका गिलासमा खान दिँदैनन् । डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् । गिलास र प्लेट नलग्नेलाई होटलवालाले प्लास्टिकको ग्लासमा चिया र कागजमा खाजा पोको पारेर दिन्छन् ।

डोमबस्तीमा भेटिएका वृजेशले मनको बह पोख्दै थपे, ‘छठमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजा सामग्री राखेरै सबैले पूजापाठ गर्छन् । त्यसबेला हामीले बनाएका ती डाला र टोकरी पाक् (पवित्र) हुन्छन् । तर, होटलमा खान जाँदा हाम्रो जिउ उनीहरूलाई नापाक् (अपवित्र) हुन्छ । जिउ छोइन्छ भनेर पर पर बस्छन् । नास्ता पनि कागजमा दिन्छन् ।’ ‘घरबाटै भाँडा लैजाँदा पनि होटलवालाले जिउ छोइन्छ भनेर होटलभित्र बस्न दिँदैनन्’, बस्तीका ७२ बर्से वृद्ध रमुना राउत डोमले भने, ‘होटलवालाले तिमीहरू अछूत हौ होटल बाहिरै बस भन्छन् ।’

‘पैसा तिरेरै नास्ता माग्दा पनि होटेल साहुले भेदभाव गर्दा मन साह्रै कुँडिन्छ’, बस्तीकै अर्का किशोरी राउत डोम भन्छन्, ‘नींच व्यवहार सहनु पर्दा किन डोम जातमा जन्मिएछु भनेर आफैंलाई धिक्कार्न मन लाग्छ ।’ ‘हामी पनि त अरूजस्तै हौं, अरूजस्तै हाम्रा पनि हातगोडा, नाकमुख सद्दे नै छन्’, बस्तीकी मायादेवीले भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै किन विभेद गरिन्छ रु हाम्रा हातखुट्टा र जिउमा कीरा परेको छ र रु ’ डोम भनेर होटेल साहुले गर्दै आएको छूवाछूतको विभेद आफूहरूले वर्षांैदेखि सहँदै आए पनि पाहुना आउँदा भने झनै सकस हुने गरेको माया देवी बताउँछिन् ।

‘हामी त भेदभाव जसोतसो सहौंला । घरमा आएका पाहुनालाई होटलमा चियानास्ता खुवाउन लैजाँदा निकै लज्जित हुनुपर्छ’, उनले भनिन्, ‘सकभर पाहुना नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । आइहाले पनि होटल लैजान लाज लाग्छ ।’ मायादेवीको जस्तै पीडा दुलारीदेवीको पनि छ । उनी भन्छिन्, ‘पाहुनालाई होटल लैजाँदा भित्र बस्नै दिँदैनन्, घरबाटै गिलास लिएर जानुपर्छ । होटलमा लानुको सट्टा घरमै खुवाउँछौं ।’