काठमाडौं, १४ मंसिर । गत जुलाईमा भएको संसदीय निर्वाचनमा हुन सेनले ८० प्रतिशत मत पाए । संसद्का १२५ मध्ये १०० सिट जिते । अत्यधिक मतका साथ उनी फेरि पनि निर्वाचित भए ।
किनकि, विपक्षी दललाई चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो । विरोधीहरूलाई हत्या गरेर, जेल हालेर र विदेश धपाएर गरिएको निर्वाचनको नतिजा पनि एकतर्फी भयो । यस्तै प्रायोजित निर्वाचनका आधारमा हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
३३ वर्षदेखि शासनमा रहेका उनीभन्दा लामो समय सत्तामा रहेका ‘निर्वाचित’ नेता विश्वमा अरू कोही छैन । निर्वाचनको नाममा सत्तालाई कब्जामा राख्दै आएका उनी भ्रष्टाचार र मानवअधिकार हननका हिसाबले पनि विश्वमै दुर्नाम छन् ।
यसपालिको संसदीय निर्वाचनमा पर्यवेक्षकका रूपमा नेकपाका नेता माधव नेपाल कम्बोडिया पुगेका थिए । तर, यो निर्वाचनलाई संयुक्त राष्ट्रसंघले भने मान्यता दिएको छैन ।
नेपालमा भने हुन सेनले भव्य स्वागत पाएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन सेनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए भने सर्वसाधारणलाई ट्राफिक जाममा रोकेर उनलाई सोल्टी होटेल पु-याइएको थियो ।
संयोग अर्को के भने, आफ्नै अल्पसंख्यक सात लाख मुस्लिम नागरिकलाई देशबाहिर धपाएर विश्वकै आलोचनाको केन्द्रमा परेकी आङ सान सुकी पनि शान्ति सम्मेलनमा भाग लिन नेपाल आएकी छिन् ।















प्रतिक्रिया