काठमाडौं, १३ मंसिर । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन हुने आयोजनाको ठेक्का नेपालीले नपाउने भएका छन्।
बोलपत्रमा उल्लिखित मापदण्ड नपुग्ने भएपछि नेपाली ठेकेदार प्रतिस्पर्धामै परेनन्। झण्डै ३६ अर्ब रुपैयाँको नारायणघाट–बुटवल र कञ्चनपुर–कमला सडकको बोलपत्रमा विदेशी ठेकेदार मात्र सहभागी भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
ऋण सहयोगमा सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय एडीबीले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दैछ। ‘सडक निर्माण गर्न नेपाली निर्माण व्यवसायीको क्षमताभन्दा ठूला दुईटा प्याकेज बनाइएको छ।
नेपाली प्रतिस्पर्धामै नआउन् भनेर यसो गरिएको हो’, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने नारायणगढ–बुटवल सडकखण्ड १ सय १३ किलोमिटर र कञ्चनपुर–कमला खण्ड ८७ किलोमिटर लामो छ।
यी दुवै सडकखण्डलाई दुईदुईवटा प्याकेजमा बाँडिएको छ। नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर लामो छ। कञ्चनपुर–कुसाहखण्ड ४० र कुसाह–कमलाखण्ड ४७ किलोमिटर लामो छ। दुई लेनमात्र रहेको उक्त सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो।
‘स्वदेशी निर्माण व्यवसायीले ५ वर्षदेखि यस्ता ठेक्का पाएका छैनन्’, सिंहले भने, ‘यस्ता ठूला पूर्वाधार निर्माणमा नेपालीले प्रतिस्पर्धा नै गर्न सक्दैनन्। देशले लिएको ऋण फेरि विदेश नै फर्किन्छ।’
बोलपत्रको सर्तानुसार ठेक्का प्रक्रियामा सहभागी हुन कम्पनीले विगत ५ वर्षभित्र आयोजनाको कुल लागतको ४० प्रतिशत रकम बराबरका दुई वटा सडक बनाएको हुनुपर्छ।
नारायणघाट–बुटबल र कञ्चनपुर–कमला सडक विस्तार गर्न १८/१८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। लागत र कार्यक्षमताका आधारमा यति ठूलो परियोजना ५ वर्षयता सम्पन्न भएको छैन। त्यसैले बोलपत्र डिजाइनमा नै खोट रहेको सिंहले बताए।















प्रतिक्रिया