काठमाडौं, ९ मंसिर । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनालले पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन् ।
‘उहाँहरू अहिले पोलिटब्युरो कमिटी नबनाऔँ, पहिले कार्यविभाजन टुंग्याऔँ भन्ने पक्षमा देखिनुभएको छ । हामी पोलिटब्युरो कमिटी टुंग्याएपछि मात्रै कार्यविभाजन सजिलो हुन्छ भनिरहेका छौँ,’ नेपाल–खनाल पक्षधर एक शीर्ष नेताले भने, ‘पहिले अध्यक्षद्वयले कसरी जाने भन्ने सम्बन्धमा कार्यविभाजनको मापदण्डसहितको प्रस्ताव ल्याएपछि मात्र अघि बढ्ने कुरा प्रस्ट हुन्छ ।’
नेताहरूको मत बाझिए पनि पहिले कार्यविभाजनको ठोस प्रस्तावका लागि मापदण्ड बनेपछि बाँकी छलफल गर्ने सहमति जुटेको छ । आवश्यक गृहकार्यका लागि आइतबार सचिवालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबारदेखि थाती सबै एजेन्डा टुंग्याउने उद्देश्यले लगातार सचिवालय बैठक बसिरहेको छ ।
पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा पनि छलफलमै रहेकाले कार्यविभाजनको मापदण्ड बनेपछि थप रणनीति बनाउने तयारीमा वरिष्ठ नेता नेपाल छन् । यसअघि पोलिटब्युरो कमिटी गठन टुंग्याएर कार्यविभाजनको प्रस्तावमा छलफल गर्ने सहमतिविपरीत अध्यक्ष ओली अघि बढ्न खोजेको भन्दै नेपाल केही सशंकित बनेको स्रोतले जनाएको छ ।
नौ सदस्यीय सचिवालयमा अध्यक्षद्वयका पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल उभिएका छन् भने नेपाल र खनालको मतमा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल र वामदेव गौतमले भने प्रस्ट धारणा राखेका छैनन् ।
सचिवालयमा केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डाले प्रवेश पाए पनि मापदण्डसहितको ठोस प्रस्ताव बनाउने गृहकार्यका लागि बैठकले अध्यक्ष ओली र प्रचण्डलाई जिम्मा दिएको छ । ‘आइतबार दिनभर अध्यक्ष कमरेडहरूले गृहकार्य गरेर सोमबारको बैठकले टुंग्याउने गरी ठोस प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘जनवर्गीय संगठनको एकता, पोलिटब्युरो गठनलगायत सबै एजेन्डा टुंग्याएर जाने दिशामै छलफल अघि बढिरहेको छ ।’
स्रोतका अनुसार सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज र जुनियरलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्ज बनाउने गरी छलफल चलिरहेको छ ।
पोलिटब्युरो सदस्य र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकिए बाँकीलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । सचिवालयले कार्यविभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले ४ सय ४१ जना केन्द्रीय सदस्यकै कार्यविभाजन गर्नेछ । केन्द्रीय कमिटीको एकतिहाइ १ सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ ।















प्रतिक्रिया