शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

किन ‘नातावाद’को प्रचारमा फस्छ महिला राजदूत सिफारिस र नियुक्ति ?

दैनिक नेपाल २०७५ कार्तिक ३० गते १२:३६

काठमाडौं, ३० कात्तिक । इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउँदै सरकारले त्यहाँ अञ्जान शाक्यलाई गरेको सिफारिस नातावादको कसीमा प्रचार हुन थालेको छ ।

शाक्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीकी ‘साली’ भनेर विभिन्न तहबाट आलोचना भएको छ । पूर्व सञ्चारकर्मी समेत रहेकी शाक्य गायिका पनि हुन् । उनको ‘यो मन्दिर यो मस्जिद….’ बोलको गीत एकताका नेपाल टेलिभिजनमा निक्कै चर्चित थियो ।

नेपाल टेलिभिजनमा समाचार वाचिका समेत रहेकी शाक्य सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधी सकेकी महिला हुन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समय सम्म निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेकी उनी अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष थिइन् ।

‘उहाँको योग्यतालाई कदर गरेरै राजदूतमा सिफारिस गरिएको हो’, प्रधानमन्त्री ओली सचिवालय स्रोतले भन्यो,‘यसमा नातावादी भन्नु अनर्थ र अनर्गल प्रचार भन्दा अरु केही होइन ।’

शाक्यले पद्मकन्या कलेजमा २०५२ देखि करीब एक दशक प्राध्यापन गरेकी थइन् । अहिले पनि उनी प्रेसिडेन्सियल कलेजमा पढाउँछिन् ।
तर शाक्यको सिफारिसमात्र विवादमा तानिएको होइन । तत्कालिन माओवादी र नेपाली कांग्रेसको सरकारले गरेका कतिपय राजदूत नियुक्ति पनि नातावादी कित्ताबाट विवादमा फँसेको थियो ।

जापानमा राजदूत रहेकी प्रतिभा राणा, ओमानकी शर्मिला पराजुलीको नियुक्ति पनि विवादमा तानिएको थियो । राणा नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाकी नातामा सासु पर्छिन् । आफ्नो सरकारका समयमा राणालाई सिफारिस गर्दा ठूलो विवाद भएको थियो । राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री थिइन् ।

यस्तै कांग्रेससँग नजिकको सम्बन्ध राखेको र नेताहरूसँग उठबस रहेका कारणले वैदेशिक रोजगार व्यावसायमा रहेकी शर्मिला पराजुलीको नियुक्ति पनि विवादमा तानिएको थियो । उनलाई तत्कालिन सरकारले राजदूत बनाएर ओमान पठाएको थियो ।

पराजुली र आशा लामाको सिफारिस त अझ विवादमा फँसेको थियो । यहि कारण पनि तत्कालिन सरकार लामाको नाम फिर्ता लिन बाध्य भयो । तर, पराजुलीको नाम भने फिर्ता भएन ।

‘राजदूत नियुक्ति भागशान्तीमा नै नेताहरूले गर्दै आएको परम्पराको चर्चामा अहिलेको नियुक्ति पनि फसेको हो’, नेकपाका एक नेता भन्छन्,‘कांग्रेसले जतिचाहीँ हामीले गरेका छैनौं ।’

प्रतिक्रिया
सम्बन्धित