शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

दैनिक नेपाल २०७५ कार्तिक २९ गते २०:३५

पर्सा, २९ कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जको हरपतगङ्गमा आयोजना गरेको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, “मिल्ने मात्र होइन, नेताहरुमा रहेका गलत प्रवृत्तिलाई समाप्त पारी पार्टीलाई एकढिक्का बनाई अगाडि बढ्नु नै आजको आवश्यकता हो ।” उहाँले अरुको पतनमा आफ्नो प्रगति देख्ने प्रवृत्तिलाई अन्त्य गर्दै नेतृत्वले न्याय, निष्पक्षता र पारदर्शी मुल्याङ्कनको आधारमा पार्टीलाई अगाडि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

नेता पौडेलले भ्रष्टाचार, महँगी, अपराध बढ्दै गएकाले जनतामा वर्तमान सरकारप्रति निराशा छाएको आरोप लगाउनुभयो । उहाँले सरकार गठन भएको छ महीना बितेपनि सरकारले जनतालाई राहत दिनुको सट्टा काण्डै–काण्डमात्र दिएकाले जनता निराशा भएको टिप्पणी गर्नुभयो ।

नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजयकुमार चौरसिया लगायतले तीनै तहका सरकारको कर नीतिले जनतालाई दुःखी बनाएको धारणा व्यक्त गर्नुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित