शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

घुससहित रंगेहात पक्राउ परेका डिएसपी धरौटीमा छुटे

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १७:०९


काठमाडौँ, २९ कार्तिक । घुस लिएको आरोपमा पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ । विशेषले राईसँग १ लाख ४० हजार धरौटी लिएर हिरा गरेको हो । उनी सोही बराबरको रकमसहित आफ्नै कार्यकक्षबाट गएको असोज २० गते पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीसँग घुस रकम बराबरको धरौटी माग गरेको थियो । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

डिएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए । पछि आफैंले टिभी किनेर ल्याएकाले त्यो बापतको १ लाख ४० हजार रुपैयाँ दिनु भनी घुस लिँदालिँदै आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । प्रहरी अधिकारीहरूले पटकपटक उनलाई सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् ।

उनी पक्राउ पर्नु अघिल्लो दिन मात्रै मुलपानीमा राईको संरक्षणमा चल्दै आएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित