शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

यी हुन् कांग्रेसका स्वार्थी नेताहरू, गुटले निम्त्यायो अर्को समस्या

दैनिक नेपाल २०७५ कार्तिक २९ गते ८:४९

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसभित्र गुटको भेला भैरहेका बेला विधान मस्यौदाको काम अवरुद्ध भएको छ । मस्यौदा समितिको काम रुकेपछि महासमिति बैठक प्रभावित हुने देखिएको हो ।

दुई दिन अगाडि मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेतृ सुजाता कोइरालाको निवासमा दिवा भोजसहितको गुटको भेला गरेका थिए । कृष्णप्रसाद सिटौलाले पनि भित्रभित्रै गुटको भेला गरेर सभापति देउवालाई असहयोगको नीति लिएका छन् ।

सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका आ–आफ्ना स्वार्थ बढेपछि विधान मस्यौदाको काम अवरुद्ध भएको हो । विधानको मस्यौदाको कायम अवरुद्ध भएपछि मंसिर हुने भनिएको महासमिति बैठक पुनः प्रभावित हुने भएको नेताहरूले बताउन थालेका छन् ।

महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदन निर्माण कार्य गुटका कारण अवरुद्ध भएको छ । विधान मस्यौदा र प्रतिवेदन लेखन नसकिएकै कारण २८ मंसिरदेखि काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक पुनः सर्ने सम्भावना बढेको एक नेताले बताएा ।

यसअघि ५ देखि ९ मंसिरसम्म काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक कागजात निर्माण सम्पन्न नभएको भन्दै २८ मंसिरसम्मका लागि सारिएको थियो ।

पार्टीको विधान संशोधनको मस्यौदा तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ भदौमा गठित समितिले सात विषयमा देखिएको विवादमा सहमति हुन नसक्दा मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन ।

पार्टी संगठन संघीय संरचनामा ढाल्ने गरी तयार गर्न लागिएको विधानको मस्यौदामा सात विषय विवादित बनेका छन् । पदाधिकारी अधिवेशनबाटै निर्वाचित गर्ने या महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय सदस्यमा निर्वाचितमध्येबाट सभापतिले मनोनीत गर्न केन्द्रीय समितिमा प्रस्ताव गरेर बहुमतले पारित गर्ने भन्नेमा विवाद छ ।

संसदीय समिति कति सदस्यीय बनाउने, अनुशासन समिति निर्वा्चित गर्ने या सभापतिले मनोनीत गर्ने, सभापतिले केन्द्रीय समितिमा अहिले रहेको २५ प्रतिशत मनोनीत गर्न पाउने व्यवस्था यथावत् राख्ने या १५ मा झार्ने भन्ने विषयमा पनि विवाद छ ।

केन्द्रीय समितिको सदस्य संख्या बढाउने या नबढाउने तथा सदस्यता एकै प्रकारको राख्ने या अहिलेको जस्तो क्रियाशील र साधारण कायम राख्ने भन्नेमा समेत विवाद छ ।

प्रतिक्रिया
सम्बन्धित