शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

‘पारस’ प्रवित्तिका अनेक अवषेशहरू

विनोद ढकाल २०७५ कार्तिक २८ गते १२:४९

-विनोद ढकाल

चितवन विमानस्थलमा उत्रिँदै गर्दा पूर्वयुवराज पारस शाहको स्वागतका लागि आएको एउटा मात्र व्यक्ति तस्बिरमा भेटियो । फूलगुच्छा र माला लिएर स्वागतका लागि पुग्नेहरूको लर्को नै थिएन । १२ बर्षअघिको इतिहासले इतिहास बनाइदिएको पारसले त्यस विषयलाई विश्लेषण गरेको हुनुपर्छ । हिजो राजाको पुत्र हुनु र अहिले सन्यासीको भेषमा विमानस्थलमा उत्रिनु उनको चरित्र, आडम्बरपन, शक्तिकेन्द्रमा हुँदा भए/गरेका दुरुपयोगका नतिजा हुन् भन्नेमा दुईमत छैन । अझै केही झुन्ड राजतन्त्रको कुनै पनि अवशेषलाई बोक्न तयार भएकै भेटिन्छ । तर, हिजोजस्तो होइन । धेरैलाई थाहा छ यो सिपाहीको सुरक्षाघेरा नभएको, ज्युहजुरी गर्नेको ताँतबिनाको ख्याउटे पारस नाम मात्र हो । तर, प्रवित्ति भने ज्युउँदै छ ।

पात्र फेरिए तर समस्या उही । हिजो राजदरबार छिर्नका लागि पारसका अनुयायी बन्नेहरू आज सिंहदरबार छिर्नका लागि नेताका सन्तान र सन्ततीको फेरो समात्न उद्दत छन् । किनभने त्यहाँ शक्ति, शक्तिपछाडीको स्वार्थका नमिठा गन्धहरूलाई मधुुरसमा मिसाएर सुरक्षित बनाउन सकिन्छ

पूर्वयुवराज भएका कारणले उनको अस्तित्व कति बलियो कति कमजोर भन्ने तर्कवितर्क एकातिर हुनसक्छ, तर त्यो प्रवित्तिलाई निरन्तरता दिने अनेक पारसहरू छोरा, ज्वाँई, भतिज, भान्जाका प्रारूपमा शक्ति केन्द्रका वरिपरि मडारिइरहेका छन् । जसको नियन्त्रण, नियमवन र निलम्बन गर्नका लागि नेताहरू अग्रसर हुन सक्तैनन् । उनीहरूलाई रगतको साइनोले छेक्छ । र, सुरक्षा, शक्तिकेन्द्र र प्रशासनमा सुशासनको कुरा गर्दागर्दै पनि मुलुक कहिँ न कहिँ नयाँ पारसहरूको स्वार्थको बन्दी हुनबाट मुक्त छैन । केही जन र केही थानलाई म पनि चिन्छु । नाम सुनेको छु । काम सुनेको छु ।

धेरैलाई पारस बन्ने रहर जागेको छ यहाँ । हाडीगाउँको रेस्टुरेन्टमा प्रहरीका अधिकारीसँग लन्च र डिनर गरेर होस् अथवा विदेश सयर गरेर होस् । शक्ति केन्द्रका प्रारूप बदलिएपछि उदाएका नयाँ ‘पारस’हरू प्रवित्ति बनिरहेका छन् । जसले शक्तिकेन्द्र, सुरक्षाकेन्द्र, मिडियालाई आफ्नो खल्तीमा छ भन्ने ठान्छन् । यो विषयलाई प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, नेताहरूले पनि नजरअन्दाज गरिँदिँदै गएका कारणले प्रवित्तिले परिवर्तनको मौका पाएन । पात्र फेरिए तर समस्या उही । हिजो राजदरबार छिर्नका लागि पारसका अनुयायी बन्नेहरू आज सिंहदरबार छिर्नका लागि नेताका सन्तान र सन्ततीको फेरो समात्न उद्दत छन् । किनभने त्यहाँ शक्ति, शक्तिपछाडीको स्वार्थका नमिठा गन्धहरूलाई मधुुरसमा मिसाएर सुरक्षित बनाउन सकिन्छ । जीवनमा संघर्ष गरेर परिवर्तनमा मौका पाउँछु भन्नेहरू एकाध लाखको भारी बोकेर गाउँमा पुर्नस्थापित हुन सकिरहेका छैनन् । तर त्यसबेला जन्मिएका, आन्दोलन र त्यागको सामान्य छायाँ पनि नपरेका कतिपय भने सिंहदरबारमा राखिएको बाबुको कुर्सीको छायाँ बनिरहेका छन् ।

बहिर्गमनको पीडालाई विद्रोहको आवाज बनाउने लेलिनहरू विमानस्थलमा रोकिन्छन्, पक्राउ पर्छन् । जीवनभर पढाएर विश्वविद्यालयको श्रीवृद्धि गर्नेहरूलाई ठाडो आदेशमा झिकाइन्छ, रोकिन्छ । भ्रष्ट चरित्रको विरोध गर्नेलाई अनेक बाहनामा फसाइन्छ । राज्यलाई खोक्रो बनाउने प्रवित्तिलाई भने सम्मान गरिन्छ । त्यसको उदाहरणका लागि विवादमा तानिएका मेडिकल व्यापारी दुर्गा प्रसाई र प्रचण्डको एकसीटे तस्बिर थियो । प्रधानमन्त्री केपी ओली र प्रचण्डसँग प्रसाईले गरेको ‘मार्सी लन्च’ थियो । यो सम्बन्धको कसी सिधै भएको थियो की कुनै माध्यम थियो ? यसमा निर्विकल्व उत्तर छ– नातावादी चरित्रको उदाङ्गो सम्बन्ध जोड्ने रहर थियो । यसलाई पुष्टी गर्ने विविध आधार पर्याप्त छन् । अहिलेका लागि यत्ति काफी छ ।

शंकाका कारणले जमिनमा भाषिएको ग्रन्थसँग जोडिएको नेपाली समाजमा त्यति नै समय जेल बसेको नेताको चरित्रमा परिवर्तन आयो कसरी भन्ने ? त्यो भन्दा धेरै जंगलमा बसेर राजनीति गरेका नेताका निजी स्वार्थले दिइरहेका सन्देश के हन् ? सर्वसाधारणले विश्लेषण गरेकै छन्, त्यसको निचोड र निर्णय पनि दिने नै छन्

१४ बर्ष वनबास बसे पनि भगवान् राममा एउटा प्रवित्ति नमेटिएको उदाहरण रामायण र त्यसपछिका ग्रन्थहरूले प्रस्ट बनाएको छ । की, रावणको अपहरणमा परेकी सीता पवित्र थिइन् कि थिइनन् भन्ने । उनी पवित्र हुँदाहुँदै पनि रामको शंकाका कारणले जमिनमा भाषिएको ग्रन्थसँग जोडिएको नेपाली समाजमा त्यति नै समय जेल बसेको नेताको चरित्रमा परिवर्तन आयो कसरी भन्ने ? त्यो भन्दा धेरै जंगलमा बसेर राजनीति गरेका नेताका निजी स्वार्थले दिइरहेका सन्देश के हन् ? सर्वसाधारणले विश्लेषण गरेकै छन्, त्यसको निचोड र निर्णय पनि दिने नै छन् । यो लोकतान्त्रिक पद्दतीमा देखिने परिणाम हो । तर त्यसअघि र त्यसपछि फेरि यो प्रवित्ति निर्मूल हुन सक्छ ?

एक जना नेताले आइएनजिओको कार्यक्रममा फारम भर्दा लेखेका थिए पेशा– राजनीति । यो देशमा राजनीतिलाई पेशा मान्नेहरू कति छन् ? बेलायतका बाहलवाला प्रधानमन्त्री निजी कामका लागि ट्रेन चढेर, नियमपूर्वक त्यहाँ उभिएर यात्रा तय गर्छन् । यो देशका पूर्वप्रधानमन्त्री नुहाउन जाँदा हेलिकोप्टर लैजान्छन् । अमेरिकाको पूर्वराष्ट्रपति कार्यकाल सकिएपछि अध्यापनमा सक्रिय हुन्छ । नेपालको पूर्वप्रधानमन्त्री पिएसओ र सुरक्षाघेराबाहिर बस्न सक्तैन । यहाँ नीतिका बहस धेरै हुन्छन् नियतको व्याख्या र परिवर्तनका कुरा किन हुँदैनन् ? यहि दशाग्रहमा हामी हुर्किएका छौं । हामी नेता मान्न तयार छौं, भगवान मान्न तयार छैनौं । हामी धर्मका लागि राजनीति गर्छौं, कर्म गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गराउन सक्तैनौं । दोष जहाँ छ, त्यहाँबाट दोषलाई निर्मूल बनाउने होइन, लाभको बाटो रोज्छौं । एउटाले घर देखाइदिन्छ, अर्काले गाडी र ड्राइभर दिन्छ । त्यसमा उन्नत नेपालको परिकल्पना सम्झौता गरिन्छ । नयाँ पारसहरूले गरेका छन् । यो विस्तारै मौका मिले मै पनि बनौंला भन्ने रहर बनिसकेको छ । नपत्याए ठूला–ठूला ठेक्का, राज्यका अनेक पदलाई कोट्याँऊ न । कहाँ कसका छोरानाती भेटिन्छन् । एउटा घाइतेको आफन्त भेटिन्छ की भेटिँदैन ?

परिश्रम र मिहेनको कसीमा छैन, मुलुक । रावणले बडो मिहेनतसहित परिश्रम धैर्यतासाथ भक्ति गरेर महादेवलाई नशामा पारी पावर्ती उछिट्याएको कथा पढेको देशमा मिहेनत नगरी सबैथोक आइलाग्ने ध्वाँसमा बाँच्छौं । यो प्रवित्ति नभएर के हो त ? जबसम्म यहि विन्दूबाट राजनीतिका अनेक कोण र डिग्रि कोरिने क्रम यसरी नै जारी रहन्छ तबसम्म परिवर्तन शव्दमा केन्द्रित हुन्छ । मानिसहरूमा आवेग छ, परिवर्तन महशुस गर्न नसकेको रिस छ । तर, राज्यका हरेक संयन्त्रमा उसको सहज पहुँचको आधारविन्दु छैन ।

मलाई स्मरण छ बाहलवाला प्रधानमन्त्री भएका बेला साझा सवाल कार्यक्रममा माधवकुमार नेपाललाई एउटा प्रश्न सोधिएको थियो । भाईलाई हङकङको महावाणिज्यदूत किन बनाउनुभयो ? उनको उत्तर थियो– उसको योग्यता थियो । त्यसपछि दाजु प्रधानमन्त्री भएको बेला भाईले त्यति हुन नपाउने ? हो, यहि राजनीतिक प्रवित्तिको बन्दी अहिले पनि छौं । के आम नागरिक तहमा अर्को योग्य व्यक्ति थिएन जसका दाजु, बाबु वा काका प्रधानमन्त्री थिएनन् ? यो एउटा उदाहरण मात्र हो, राजनीति भित्र यस्ता कयन तथ्यहरू छन् । विद्यमान छन् । को कहाँ कुन पदमा पुग्ने भन्ने उसको योग्यताले मात्र काम गर्दैन, उसको नातावाद, कृपावादी चालचलनको योग्यता पनि खोजिन्छ ।

रेलको सपना देख्ने नागरिकका अघि कर्मचारी, सुरक्षा संयन्त्र र राजनीतिभित्रको गुह्य व्यवाहार बुझ्दा ‘लाजनीति’भन्दा केही भेटिँदैन । त्यहाँ बस्, विभिन्न अनुहारका स्वार्थ भरिएका नयाँ बिम्बहरू देखिन्छन् । बदनाम बनिदिन्छ एउटा नाम तर भरमार व्याख्या हुन्छ, प्रवित्ति । ति हुन् , पारसका अवशेषहरू

भारत र नेपालको राजनीतिक दुशाग्रहको समानता भनेको परिवारवादमा अल्झिएको लोभ नै हो । फ्रान्समा ३६ बर्षीय इम्मानुएल म्यांक्रो राष्ट्रपति निर्वाचित हुँदै गर्दा उनको पृष्ठभुमी र देखाउने राजनीतिक लोभ र लाभको विश्लेषण र तुलना गरौं ।

एउटा गजबको मधुशाला छ जहाँ सम्बन्ध र सम्पर्क नभएका आम मानिसहरू उत्रिन्छन् । जीवनका ठूलो बोझ र तनावलाई हलुका बनाउन केही चुस्की रक्सी पिउँछन् । देशको अवस्था, चरित्र र राष्ट्रियताका विषयमा मिहिन ढंगका आफ्ना तर्क राख्छन् । त्यहाँ सम्बन्धका आयामहरू भन्दा बढी संघर्षका आयाममा कुरा हुन्छन् । र, त्यहिँ कुरा हुन्छन् नवउदारवादी मुलुकका नयाँ पारसहरूले मच्चाइरहेको हत्कण्डाका कथाहरू । सुन्दा गसिपजस्तो लाग्ने, बुझ्दा यथार्थको धरातलभन्दा केही नभेटिने यहि तथ्यमा देश रुमल्लिरहेको छ । रेलको सपना देख्ने नागरिकका अघि कर्मचारी, सुरक्षा संयन्त्र र राजनीतिभित्रको गुह्य व्यवाहार बुझ्दा ‘लाजनीति’भन्दा केही भेटिँदैन । त्यहाँ बस्, विभिन्न अनुहारका स्वार्थ भरिएका नयाँ बिम्बहरू देखिन्छन् । बदनाम बनिदिन्छ एउटा नाम तर भरमार व्याख्या हुन्छ, प्रवित्ति । ति हुन् , पारसका अवशेषहरू ।

प्रतिक्रिया
सम्बन्धित