काठमाडौं, २८ कात्तिक । त्रिवि शिक्षण अस्पतालका चिकित्साकर्मी ‘राइट एक्सटेन्डेड हिपाटेक्टोमी’ भनिने कलेजोको जटिल शल्यक्रिया गर्न सफल भएका छन् ।
विशेष चिकित्सकीय प्रक्रिया अपनाएर शिक्षण अस्पतालमा पहिलो शल्यक्रिया गरिएको कलेजो प्रत्यारोपण विशेषज्ञ एवं ग्यास्ट्रोइन्टेस्टाइनल शल्यचिकित्सक डा.रमेश सिंह भण्डारीले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
शल्यचिकित्साको नेतृत्वकर्ता भण्डारीले भने, ‘४२ वर्षीय पुरुषलाई क्यान्सरले गर्दा कलेजोको ९० प्रतिशत भाग निकाल्नुपर्ने अवस्था थियो । बाँकी १० प्रतिशत कलेजोले बाँच्न नसकिने हुँदा हामीले विशेष प्रक्रिया अपनायौं ।’
उक्त प्रक्रियाअन्तर्गत करिब २ महिनाअघि इन्टरभेन्सनल रेडियोलजिस्टको सहयोगले कलेजोको दायाँ रगतको नसालाई अवरुद्घ पारियो । यसो गर्दा बायाँतिर कलेजो वृद्घि हुन थाल्यो ।
६ सातापछि सिटी स्क्यानलगायतले परीक्षण गर्दा कलेजो वृद्घि भएर ३० प्रतिशत पुगेपछि चिकित्सकहरूले दायाँ भागको शल्यक्रिया गरे ।
‘हामीले दायाँतिरको पूरै कलेजो झिक्यौं,’ डा.भण्डारीले भने, ‘पहिला पनि यस्तो प्रयास गरिएको थियो तर सफल भएको थिएन, यसपटक हामी सफल भयौं ।’
भण्डारीको नेतृत्वमा गरिएको शल्यक्रियामा डा.राजेश मण्डल, डा.निराजन सुवेदी, डा.कार्तिकेश मिश्र, डा.शंकर अधिकारी, डा.नवीन भट्टलगायत इन्टरभेन्सनल रेडियोलजिस्ट डा.दिनेश चटौत, डा.अजित थापा, एनेस्थेसियामा डा. अनिल श्रेष्ठ, डा.अमित भट्टराइसँगै क्रिटिकल केयर विशेषज्ञ डा.सुवास आचार्य, डा.प्रमेश श्रेष्ठ संलग्न थिए ।
कलेजोको जटिल शल्यक्रियाको सफलतालाई शिक्षण अस्पतालमा भविष्यमा हुने कलेजो प्रत्यारोपणमा सघाउ पुग्ने चिकित्सकहरू बताउँछन् । अस्पतालले कलेजो प्रत्यारोपण गर्ने सबै तयारी पूरा गरेर सरकारको अनुमतिको प्रतीक्षामा छ ।















प्रतिक्रिया