शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

नेविसंघमा ‘टीके’ अध्यक्षको खोजी, पौडेल समूहले प्रतिवाद गर्ने

दैनिक नेपाल २०७५ कार्तिक २७ गते ८:२६

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दवाव दिँदै आएको छ । तर, त्यो दवावलाई संस्थापन पक्षले अटेर गरिरहेको आरोप छ ।

नेविसंघको १२औँ महाधिवेशन गर्न तालिका नै सार्वजनिक भएको थियो । तर, नेविसंघका अध्यक्ष नैनसिंह महरको असक्षमता र सभापति शेरबहादुर देउवाले नेविसंघ पनि गुमाउने डरले महाधिवेशन गर्न दिएका छैनन् ।

महर पनि नेविसंघको अध्यक्षमा दोहोरिने दाउँमा छन् । महर सभापति देउवालाई प्रभावमा पारेर ‘टीके’ अध्यक्ष बन्न खोजेको आरोप पौडेल र सिटौला समूहको छ । तर, महरले यो आरोप अस्वीकार गरेका छन् ।

पौडेल समूहका विद्यार्थी नेता मोतीलाल भण्डारीले नेविसंघलाई ध्वस्त बनाउन संस्थापन पक्ष लागेको आरोप लगाए । ‘टीके प्रथाबाट नेविसंघ चलाउन सभापति शेरबहादुर देउवा र अध्यक्ष नैनसिंह महर लाग्नुभएको छ’, उनले भने, ‘फेरि पनि टीके प्रथाबाट नेविसंघ चलाउने हो भने त्यसको परिणाम कांग्रेसलाई नै घातक हुन्छ ।’

नेविसंघका नेता भण्डारीले छिटोभन्दा छिटो १२औँ महाधिवेन गराएर नेविसंघमा नयाँ नेतृत्व ल्याउनुपर्ने माग गरेका छन् । उनले नेविसंघ चलायमान भयो भने मात्रै कांग्रेसलाई फाइदा हुने समेत उल्लेख गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले पनि नेविसंघको १२औँ महाविधेशन गर्न दवाव दिइरहेको छ । सिटौला समूहबाट कुन्दनराज काफ्लेले दवाव दिँदै आएका छन् ।

नेविसंघभित्र उमेर हद र विधान संशोधनमा किचलो छ । ११औँ महाविधेशनमा पौडेल समूहले उमेर हदको कुरा उठाएको थियो । सोही एजेण्डालाई टेकेर सभापति देउवाले नेविसंघभित्र उमेर हद लागू गरिदिएपछि पौडेल र सिटौला समूहलाई टाउको दुखाइ भएको छ । सिटौला समूह पनि नेविसंघ हत्याउन मौका छोपेर बसेको छ । तर, सिटौलाको गुट कांग्रेसभित्र कमजोर समूहका रुपमा चिनिन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट उमेर हद लागू भएपछि मनोजमणि आचार्य, कुन्दनराज काफ्लेसहितका धेरै विद्यार्थी नेताका लागि नेविसंघको राजनीति गर्ने बाटो बन्द भएको छ ।

कांग्रेसका भातृ संस्थाहरूको हालसम्म भएका महाधिवेशनमा संस्थापन पक्षले गुमाएको छ । मजदुरसहितका संस्था गुमाएपछि सभापति देउवा नेविसंघ पनि गुम्ने डरमा छन् । सोही कारण पनि नेविसंघमा टीके प्रथा चलाउन खोजेको आरोप पौडेल समूहको छ ।

२०७३ सालको साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसंघको कार्यकाल ०७५ साल भदौ २ गते सकिएको छ । निर्वाचन नभएपछि कांग्रेसको नेविसंघ हेर्ने निर्देशक समितिले मंसिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

नेविसंघको म्याद सकिनै लाग्दा पनि नेविसंघको १२औँ महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष चुपचाप लागेर बसेको छ ।

प्रतिक्रिया
सम्बन्धित