शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

काँग्रेसमा नेविसंघ विवाद फेरि बल्झियो, महामन्त्रीले दिए यस्तो चेतावनी

दैनिक नेपाल २०७५ कार्तिक २६ गते १८:१५


काठमाडौँ, २६ कार्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कारण फेरि विवाद चुलिएको छ । विवाद समाधान नभए पार्टी नेतृत्व विरुद्ध नै आन्दोलनमा जाने विद्यार्थीहरुको चेतावनी छ ।

संघको असन्तुष्ट पक्षले १२औं महाधिवेशन हुने वातावरण सुनिश्चित गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको हो । महाधिवेशन नगराए पार्टी नेतृत्वविरुद्ध नै आन्दोलन गर्ने महामन्त्री कुन्दन काफ्लेले चेतावनी दिए ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महामन्त्री काफ्लेले महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए । ‘संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरीतका गतिविधि गरेकाले त्यसलाई रोक्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउन परेको हो’ उनले भने ।

गत कार्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२औं महाधिवेशन पनि पछि सरेपछि महामन्त्री काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएको हो ।

असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ । महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित