शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यस्ता थिए आइतबार मन्त्रिपरिषद्का निर्णय : राजदूतदेखि प्रधानमन्त्रीका सल्लाहकार नियुक्तिसम्म

दैनिक नेपाल २०७५ कार्तिक २६ गते १३:००


काठमाडौँ, २६ कार्तिक । यसअघि सरकारका प्रवक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक सकिएपछि निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँथे । तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि भने उनले सरकारका कुनै निर्णय भनेनन् बरु, बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने बताए ।

तर, उनले भनेजस्तो केही नयाँ प्रबन्ध नहुँदै सरकारका निर्णयहरु चुहिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्नेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार नियुक्तिको काम गरेको छ । यद्यपी, सरकारका सबै निर्णय अाैपचारिक रुपमा बाहिरिसकेका छैनन् ।

बैठकले छिमेकी मुलुक भारतसहित बैदेशिक रोजगारमा जाने नेपालीहरुको मुख्य गन्तव्य मलेसिया र युएईमा पनि राजदूत नियुक्त गरेको छ । भारतका लागि नेपाली राजदूतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई सिफारिस गरिएको छ भने मलेसियाको लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि कृष्णप्रसाद ढकाललाई राजदूत सिफारिस गरेको छ ।

भारतका लागि राजदूत सिफारिस गरिएका आचार्य नेपाल–भारत सम्बन्धका विविध आयामहरुको पुनरावलोकन गर्न गठित प्रवुद्ध व्यक्ति समूहका सदस्य पनि हुन् । आयार्च यसअघि श्रीलंकाका लागि राजदूत भएका थिए । २०४६ सालको परिवर्तनपछि बनेको पहिलो सरकारमा उनी कानूनमन्त्री थिए ।

पाण्डे यसअघि साउदी अरेबियाको राजदूत भइसकेका छन् भने ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । उनीहरुको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि एग्रिमो स्वीकृतिका लागि सम्बन्धित देशमा पठाइनेछ । एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा नेकपाका युवा नेता इन्द्र भण्डारीलाई नियुक्त गरेको छ । लामो समयदेखि प्रधानमन्त्री ओलीको साथमा रहेका भण्डारीलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको हो ।

झापाको दमक निवासी भण्डारीले यसअघि पनि प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसकेका छन् । भण्डारी २०५१ सालदेखि ओलीका निकट सहयोगीका रुपमा रहँदै आएका छन् ।

यस्तै आइतबारकै बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ । पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् । उनी यसअघि पनि ओलीको विदेश मामिला सल्लाहकार थिए ।

प्रतिक्रिया
सम्बन्धित