मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्–गृहमन्त्री थापा

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १४:१२


काठमाडौं, २२ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘भ्रष्टहरुलाई कारवाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

उनले सरकारले बलात्कारीहरुलाई पनि कारबाही गरिरहेको बताए । उनले भने, ‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरु, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँछन् ।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने, ‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’

सडक दुर्घटनाहरु दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने, ‘यो दुर्घटना हुनुको पछाडी ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहिँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहिँ कतै त्रुटिहरु भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरुरी छ । सडकहरुको अवस्थाबारे निर्माण व्यवसायीहरुको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रुपमा अब सच्याउनुपर्छ ।’

मन्त्री थापाले तिहारको शुभकामना दिँदै भने, ‘सम्पूर्ण देशवासीहरुको सुख, समृद्धिको कामना गर्न चाहन्छु । राष्ट्रले राखेको लक्ष्यपनि त्यही हो । हामी यतिवेला समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छौं । तिहार र आउने पर्वहरुले नेपाल र नेपालीहरुलाई सुखी बनाउन योगदान गरोस् । म यही कामना गर्न चाहन्छु ।’

त्यस्तै उनले तिहारको क्रममा देउसी–भैलो चलिरहेको बताउँदै भने, ‘यसले देशको संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । हाम्रो देशको संस्कृति र पहिचान सम्र्वद्धन होस् भन्नेपनि शुभकामना दिन चाहन्छु ।’

प्रतिक्रिया
सम्बन्धित