मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

फेरिएका नेता, नफेरिएका जनता !

वि.वि. श्रेष्ठ २०७५ कार्तिक २१ गते ११:०८

-वि.वि. श्रेष्ठ

विकास र समृद्धिका नारा ओकल्ने नेताहरू अहिले आएर निजी स्वार्थमा लिप्त छन् । राजनीति के का लागि र मेरो भुमिका के भन्ने भन्दा पनि चुनावी गणितीय जितसँग फेरिएका नेता देख्दा लाग्दछ उनीहरू उ वेलाका जंगबहादुर हुन् । म नै सर्वैसर्वा भन्ने घिनलाग्दो चिन्तनसँग जनतामा नैराश्यता छाएको छ । सत्ता र शक्तिको चास्नीमा मस्त नेताहरू सोच्दा हुन् भोलिका दिन पनि यहि रवैयामा बित्नेछ । यहि एकात्मक अधिनायकवादी चिन्तनले गाँजेका नेताहरू वैचारिक धरातल खोक्रो र अदुरदृष्टिता देख्न सकिन्छ ।

जनताका आर्थिक विकास समृद्धिका नारा दिएर चुनावमा होमिएका नेताहरू हिजोको चुनावी प्रतिबद्धता भुलेर स्वार्थ केन्द्रित कोठे राजनीतिमा अभ्यस्त छन् । जनताको इच्छा आकांक्षाको कुनै पनि प्रवाह नगरी खोक्रो भाषणमा रमाएका नेताहरू आर्थिक उपार्जन नै जनताको विकास र समृद्धि देख्छन् । समाजवाद उन्मुख गणतन्त्रको शिशुत्वमा आलिङ्गन भएको नेपालको राजनीति त्यसले आकार नलिदै तुहिने हो कि भन्ने शंका छ । आफ्नोे भुमिका के भन्ने समान्य हेक्का समेत राख्न नसकेका कारण संघीयता नै नेताहरूको लागि अभिसाप बनिसकेको छ । अल्पवुझाईको परिवन्धमा देशको सार्वभौमसत्ता, राष्ट्रियता र स्वतन्त्रता नै धरापमा छ । संघीयताको यो अपव्याख्या र नेताहरूमा देखिएको दरिद्रताले देशमा भएको भाईचारा, अपनत्व हराउँदै गएको छ । देश, समाज र जनताप्रतिको जवाफदेहिता के ? जनताको वैचारिक धरातल, आर्थिक उपार्जन, समाजिक तथा आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने चिन्तन नहुने नेताहरू गणतन्त्रका धमिराहरू हुन् । जसले देश र समाजलाई आर्थिक रूपमा कंगाल मात्र बनाएका छैनन्, देश नै बर्बाद पारिसके ।

देश संघीयताको पहिलो चरणमा वामे सर्देछ । यस बेलामा हरेक क्षेत्रमा तरलता उत्पन्न हुनु स्वाभाविक हो । तर यहि जंजालको भुमरीमा आफुलाई नै सर्वेसर्वा र मसिहा सम्झेर अगाडी बढ्नु नै घातक हो । विकास तत्काल हुन सक्दैन भन्ने समान्य चिन्तन समेत बुझन नसक्ने नेताहरू जनताको भीड देख्ने वित्तिकै आकाशको तारा खसाल्न खोज्ने प्रवृत्ति नै समाजका र जनताका लागि अभिसाप बनिसक्यो ।

नेता फेरिए, नेताको सोच फेरिए, व्यवहार फेरिए, नेताको चढ्ने गाडी फेरियो, जनतालाई गर्ने व्यवहार फेरियो । तर जनताको जीवनस्तर कहिल्यै फेरिएन, यहि अन्यौलतामा फसेको व्यवस्था अझै लामो समयसम्म चल्न सक्नेछ

जनताको चाहना र ईच्छा भन्दा पनि स्वार्थतामा गरिने क्रियाकलापले साच्चै नेताहरू परिवर्तन भएको देखिन्छ । तर निजी स्वार्थका लागि । भएको संरचना र अधिकारलाई नै पूर्ण रूपमा कार्यन्वयन गरेर जनचाहना बमोजिम अगाडी बढ्नु नै अहिलेको चाहना हो । तर देशमा भएको स्थानीय प्रदेश हुदै संघीय चुनावले देश र समाजमा परिवर्तन होईन । बोझ थपिदियो । जनताको मत पाएर चुनिएका जनप्रतिनिधीले आफ्नोे भुमिका के भन्ने समेत हेक्का राख्न सकेनन् । जनताको अभिमतलाई कमाउने भाँडोको रूपमा प्रयोग भएको यो बेथितीले देशलाई लामो समयसम्म धान्न सक्ने देखिँदैन । राणा शासन, पंचायत, राजतन्त्र, प्रजातन्त्र हुँदै संघीय गणतन्त्रमा प्रवेश गरेको देश नेपाल असिम सम्भावना बोकेको देश हो । तर नेताहरूमा देखिएको वैचारिक विचलन, स्वार्थ केन्द्रित राजनीति र कमजोर मानसिकताका कारण आज देश झन्–झन् अल्पविकसित र पहिचान गुमाउन नै केन्द्रित रहेको पाईनछ । यो सबकैो मुख्य कारक भनेको जनता नै हो । नेताहरूको मिठो ललिपप र क्षणिक स्वार्थमा रम्न अभ्यस्त हामी सधैँ नेताहरूको गुलामीमा नै केन्द्रित रह्यांै । यसैको प्रभाव दिर्घकालिन रूपमा परिरह्यो ।

व्यवहारिक कार्यान्वयन र जनताको आर्थिक एवं वैचारिक क्षमताको अभिबृद्धि नै अहिलेको मुख्य आवश्यकता हो भन्ने चिन्तन वैचारिक धरातल नै कमजोर मानसिकतामा अडेको नेता तथा नेतृत्व गणले कसरी नै बुझन सक्दछ । जोसँग जे रहन्छ, त्यहि नै दिने हो भन्ने समान्य नियम समेत अबलम्वन गर्न नसक्ने चेतना नै अहिलेको बाधक बनिदियो । नेतालाई मात्र होईन जनतालाई समेत देशको माया र ममता नभएपछि त्यसको कार्यन्वयन कसरी होला ?

राजनैतिक परिवर्तनका लागि लामो संघर्ष गरेका नेपाली जनता देश विकासका लागि कहिले संघर्षरत होला ? नेतामुखी जनता जबसम्म भईरहनेछ, यो खाडल त्यहि बेलासम्म चलिरहनेछ भन्ने बुभ्mन अब ढिला गर्नुहुँदैन । दृष्टिकोण र क्षमताबिना देश र समाज निर्माण हुन सक्दैन भन्ने कुराको जवसम्म हेक्का हँुदैन । नेताहरू जनताका नाम भजाएर स्वार्थ केन्द्रित राजनीतिमा अभ्यस्त भईरहनेछ । समाज र देश रूपान्तरण एवं विकास हुनका लागि जनता नेतामुखी होईन, नेताहरू जनमुखी हुनुपर्दछ । जुन एकमात्र सत्य हो । तर यो एकमात्र सत्यतालाई असत्यमा रूपान्तरण गर्न हजारांै नेताहरू अभ्यस्त कोशिशरत रहेका छन् र हामी त्यहि मसिहा बनिरहेका छौं । किनकी हामीलाई देश र समाज होईन, हामी बन्नु छ, त्यसका लागि कर्म जस्तो सुकै होस्, त्यसले केही फरक पार्नेवाला छैन ।

हिजो चप्पल लगाएर जनताको माझमा जाने नेता सिहंदरवार छिरेर श्री ५ को कल्पनामा रमिरहेका छन् । जनतालाई रैति देख्ने परिपाटीको हिस्सेदारी बनिरहेका छन् । जनताले तिरेको करबाट आर्थिक हैसियत उँचो बनाएकाहरू जनतालाई कसरी भेँडा बनाउन सकिन्छ भन्ने जोड घटाउनमा अभ्यस्त छन् । जव राजनीति देश र जनताका लागि नभै व्यक्ति केन्द्रित हुन्छ, त्यो देश आर्थिक रूपमा समृद्ध बन्न सक्दैन । समृद्ध नेपाल सुखी नेपालीको नारा मागीखाने भाँडो नवनोस् । त्यसका लागि जनता नै चेतनशील बन्नुपर्दछ । आन्दोलन र राज्य व्यवस्था परिवर्तनका लागि एकजुट भएका जनता अबका दिनमा विकास र समृद्धिका लागि नेताहरूलाई खबरदारी गर्नुको विकल्प छैन । यो चेतना जबसम्म जनतामा विकास हुँदैन, जनताका नाम भजाएर लुटतन्त्र अनादिकालसम्म चलिरहन्छ ।

नेता फेरिए, नेताको सोच फेरिए, व्यवहारमा फेरिए, नेताको चढ्ने गाडी फेरियो, जनतालाई गर्ने व्यवहार फेरियो । तर नेतालाई त्यो अवस्थामा पुर्याउने नेपाली जनताको जीवनस्तर कहिल्यै फेरिएन । यहि अन्यौलतामा फसेको व्यवस्था अझै लामो समयसम्म चल्न सक्नेछ, जनताको सोचमा परिवर्तन र चेतनाको विकास भएन भने । नेता फेर्न सक्ने जनता अब देश र जनताका लागि समग्र विकास र आर्थिक रूपमा समृद्ध हुनका लागि वैचारिक सोच र इच्छाशक्ति फेरिन जरूरी छ । नत्र देश नेताले विगारे भनेर मात्र अलाप्नुको कुनै अर्थ छैन । नेता फेरिनु आश्चर्यजनक हैन, जनताको सोच र चेतना फेरिनु आश्चर्यजनक हो । एकदिन अवश्य आउनेछ, त्यो बेलामा नेतामुखी जनता होईन, जनतामुखी नेताहरू वेग्रल्ती भेटिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित