युएई । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेपछि उग्ररुप लिँदै एक महिलाको ज्यान गएको छ ।
युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
बिहीबार राति भएको झगडामा चक्कु प्रहारपछि घाइते हुनेमा काठमडौंकी सृजना बराल, ममता चौधरी, सलिना मगर र आशा दर्जी रहेका छन् । उनीहरूलाई प्रहरीले एम्बुलेन्समार्फत् तत्कालै अल काशिमी अस्पताल लगेको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सृजना बरालको सघन उपचार कक्षमा उपचार हुँदा हुँदै मृत्यु भयो । अन्य घाइते ममता चौधरीको अझै उपचार भइहेको छ, उनको अवस्था सुधारोन्मुख । सामान्य घाइते सलिना मगर र आशा दर्जीलाई उपचारपछि डिस्चार्ज गरिएको छ।
मादक पदार्थले मातेर चक्कु हान्ने सबिना तामाङ्गलाई उनले प्रयोग गरेको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ । युएईको कानून अनुसार हत्या अभियोगमा दोषी देखिएमा मृतकको परिवारको इच्छाअनुरुप मृत्युदण्ड, मृत्युदण्डको साटो ब्लडमनि अथवा माफी पनि हुन सक्छ ।
यसअघि अन्जानमा दुर्घटनावश अरुको मृत्यु भएको घटनामा देश विदेशका नेपालीले ब्लडमनि संकलन गरेर धेरै नेपालीलाई जेलमुक्त गराएका छन् । तर यो घटना फरक प्रकृतिको भएकाले परिवारले ब्लड मनि माग गरे पनि नेपाली समुदायले सविनालाई सहयोग गर्ने सम्भावना न्युन छ ।















प्रतिक्रिया