१ कार्तिक २०८३, शनिबार

सरकारका कोरा नाराले जनता वाक्क दिक्क–प्रदीप पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जापान, ९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्क दिक्क भइसकेको बताएका छन् ।

जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफ मात्र गरिरहेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्, तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन’ पौडेलले भने । दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्री स्वयंको त्यस्ता हावादारी गफका कारण जनता निराश भएको पौडेलको भनाइ छ ।

‘चिल्ला मिठा गफ गर्दै प्रधानमन्त्री ओलीले गरीब निमुखा जनताको भोट तान्ने काइदा मात्र गर्नुभयो, के हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओलीको योग्यता यति मात्र हो ?’ उनले भने । असुरक्षा, महंगी, फितलो प्रशासन, जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मुकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनले बताए ।

जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

लगानीमैत्री वातावरण भएमा विदेशीका नेपालीहरु स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । मुलुुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको पौडेलले आरोप लगाए ।