बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

विद्या कसम, अरुले घुँडा टेक्ने हिम्मत गर्दैनन्

विनोद ढकाल २०७५ कार्तिक ६ गते १२:०८

-विनोद ढकाल

सामाजिक सञ्जालमा पक्ष र विपक्षको बहस चर्को छ, राष्ट्रपति विद्यादेवी भण्डारी निवासमा दशैंको टिकाको सन्दर्भबारे । विरोध गर्नेहरूको ठूलो ताँती कांग्रेसमा आस्था राख्नेहरूको छ, केही धार्मिक सम्प्रदायका व्यक्ति पनि भेटिएका छन् । सार्वजनिक भएका केही तस्बिरहरूलाई राखेर राजनीतिक र आस्थाका आधारमा आलोचना भएका छन् ।

आलोचनाभित्र मर्यादाका तर्क छन् तर त्यसका राम्रा, साझा र नकारात्मक असर पर्नसक्ने सैद्धान्तिक प्रश्न उठाइएका छैनन् । मात्र उडाइएका छन् । सार्वजनिक भएका केही तस्बिरले सैद्धान्तिक र व्यवाहारिक प्रश्न अनिवार्य खडा गरेका छन् । यी प्रश्नहरू अघि तस्बिरबारे मन्थन गरौं ।

शीतल निवास र निर्मल निवासका दुई तस्बिर दशैं पेरिफेरिको चर्चामा रहे । यी तस्बिरमा जति माध्यमिक आलोचना भएका छन्, त्यो भन्दा बढि प्राथमिक साझापन भेटिन्छन् । चर्चामा रहेका दुईतिरका तस्बिरका मानक हुन्– हिन्दू धर्मको महत्व ।

मुलुकले धर्म निरपेक्षतालाई अत्यधिक बहुमतले स्वीकार गरी संविधानमा लिपिबद्ध गरिसके पनि त्यसको व्यवाहारिक पक्षमा भने ठूलो आन्तर्य नभएको राष्ट्रपति निवासमा देखियो जसरी पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा देखिएको थियो, हिजोको नारायणहिटीमा पनि देखिन्थ्यो ।

लोकतन्त्रमा व्यक्तिको आचरण होइन, संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्छ । राष्ट्राध्यक्षको हैसियतलाई मुलुकमा सम्मान, सुरक्षा र प्रतिष्ठाको सबैभन्दा ठूलो मर्यादामा राखेको हुन्छ

नयाँ नेपालमा खास जिम्मेवारी पाइसकेका र प्रधानमन्त्री केपी शर्मा ओलीसम्म राष्ट्रपति निवासमा टिका थाप्न पुगेका थिए । बाहलवाला र पूर्व न्यायीक, सुरक्षा निकायलगायतका प्रमुखका तस्बिर बाहिर आए । यी बाहेक धेरैले यही शैलीमा टिको थापे भन्ने स्वभाविक अनुमान गर्न सकिन्छ ।

टिको थाप्नु ठूलो कुरा होइन । निधारको सहजताका हिसाबमा कसैले घुँडा टेक्ने वा हात टेक्ने शैलीकै मात्र आलोचना गर्नु स्वभाविक नठहर्ला । यद्यपि, केही कमजोरी भएकै हुन् त्यसलाई शीतल निवासले स्वीकार गर्न सक्नुपर्छ । यता घुँडा टेक्दा निर्मल निवासमा पूर्वराजाको खुट्टा ढोग्नेहरू पनि भेटिएकै हुन् । यसलाई पनि परम्परागत शैलीमा बुझ्न सक्नुपर्छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतका देशका जिम्मेवार पदमा रहेर काम गरेकाले राष्ट्रपति भण्डारीसामु घुँडा टेकेर टिको थापेका तस्बिर भाइरल भए । यी तस्बिरका अर्थ दासत्वसँग समेत जोडेर व्याख्या भए । तर, विश्वमा शक्ति केन्द्रका अगाडी जो कोही दास प्रवित्तिमा हुर्किने व्यवाहारिकतालाई दाँज्दा खासै नयाँ विषय होइन । लोकतन्त्र र गणतन्त्रलाई लामो समयसम्म उपभोग गर्ने मौका नपाएका कारणले कतिपयले शक्ति केन्द्रलाई निरन्तरता ठान्छन् ।

फेरि राष्ट्राध्यक्ष सामु घुँडा टेक्नु कुनै नयाँ र नौलो विषय पनि होइन । यसलाई राष्ट्राध्यक्षको जिम्मेवारीको दृष्टिबाट पनि मुल्यांकन गर्न आवश्यक होला ।

तर, यस्तो हो सैद्धान्तिक प्रश्न
राष्ट्रपति भण्डारीले दशैंमा जसरी शीतल निवास खुला गरिन् त्यसरी नै बुद्ध जयन्ति, रमजान, क्रिसमसमा पनि समान व्यवाहार देखाउँछिन् या देखाउने छैनन् ? देखाइन् या देखाइनन् भन्ने विषय संवैधानिक र सैद्धान्तिक प्रश्न हो । जसरी उनले दशैंको महत्वलाई देखाइन् यदी उनले अन्य धार्मिक सम्प्रदायका लागि पनि समय निकाल्न सकिनन् भने त्यसले लोकतन्त्र वा गणतन्त्रको अर्थ बोक्छ कि बोक्दैन ? जुन संविधानमा अधिकारका समानता कोरिएको छ उनी त्यसको संरक्षक हुन् ।

लोकतन्त्र भनेको मूर्खहरूका लागि मत दिने अधिकार हो, शाशकका लागि मूर्खहरूलाई शासन गर्ने अधिकार दिनू हो

अर्कोतिर राष्ट्राध्यक्षको जिम्मेवारी पनि समयसीमा तोकेरै दिइएको हुन्छ । उनका अगाडी हिन्दू धर्म मान्नेहरूले दशैंमा घुँडा टेक्दा कुनै धुकचुक राखेनन् । तर अन्य धर्मका लागि पनि शीतल निवासले ढोका खोलेको खण्डमा अन्य धर्मका अनुयायी या लव्ध प्रतिष्ठितले घुँडा टेक्लान् ? मिसनमा आएका धर्मका अनुयायी र अगुवाहरूले त्यसरी घुँडा टेक्छन् भन्ने लाग्दैन । कुनै पनि चिजमा विश्वाश नहुँदा पूर्वेली भाकामा ‘विद्या कसम’ खाने चलन छ । यही शैलीमा भन्ने हो भने ‘विद्या कसम अरुले घुँडा टेक्ने हिम्मत गर्दैनन्’ भन्न सकिन्छ ।

लोकाचारको विषय
दशैंको विदा काटिए पनि राष्ट्राध्यक्षले थालेको परम्परागत शैलीले मुलुकको भावना हिन्दूत्वसँग नै जोडिएको आन्तर्यलाई नकार्न नमिल्ने देखिन्छ ।

धर्म निरपेक्षतालाई अंगीकार गरेको नेपालको संविधानको संरक्षकको हैसियतमा राष्ट्राध्यक्षले निजी रूपमा दशैंलाई मनाउने वा मानक बनाउने विषय सामान्य हो । निजी जीन्दगीका अनेक अनुभव बाँकी रहन्छन् त्यसमा रमाउने स्वतन्त्रता संविधानले सबैलाई दिएको हुन्छ । त्यसबाहेक देशका अन्य क्षेत्रमा जोडिएका व्यक्तिको प्रवेश भने देशकै प्रश्न हो । यस विषयमा शीतलनिवासमा रहेको सचिवालयले ध्यान दिन सक्नुपर्ने थियो ।

संस्कार मान्यता हो । व्यक्ति भएका नाताले मान्यतासँग टाढा हुन सकिँदैन । तर, त्यो व्यक्ति जसका मान्यताका सीमालाई जिम्मेवारीले घेरी राखेको छ र उसको जिम्मेवारी संविधानको संरक्षण नै तोकिएको छ । त्यो सीमालाई हेक्का नराख्नु ठूलो कमजोरी हुन्छ । त्यसले संविधानले दिएको अधिकारलाई संरक्षकको व्यवाहारले विभेद गरेको ठहर्छ ।

लोकतन्त्रमा व्यक्तिको आचरण होइन, संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्छ । राष्ट्राध्यक्षको हैसियतलाई मुलुकमा सम्मान, सुरक्षा र प्रतिष्ठाको सबैभन्दा ठूलो मर्यादामा राखेको हुन्छ । अभिभावक भएका हैसियतले टिका थाप्न अन्य पुगेका हुन् । ति अभिभावकले कस्तो लोकतन्त्रको ज्ञान लोकलाई सिकाउने भन्ने विषयका लागि भने सार्वजनिक भएका तस्बिर घातक छन् । यसले विरोधीका लागि मुद्दा त बनाएकै छ, लामो संघर्षपछि आएको लोकतन्त्रको मान्यतालाई पनि साँघुरो घेरामा व्याख्या गर्नका लागि धेरैलाई लाचार बनाएको जस्तो देखिन्छ ।

सुधार कसरी ?
८० को दशकका एकजना नोबेल पुरस्कार विजेता तथा गणितका अध्येता बट्रान्ड रसेलले भनेका छन्– लोकतन्त्र भनेको मूर्खहरूका लागि मत दिने अधिकार हो, शाशकका लागि मूर्खहरूलाई शासन गर्ने अधिकार दिनू हो । अहिले देखिएका तस्बिरहरू र समर्थन वा आलोचनाका विषयले रसेलको भनाई पुष्टी गरिरहेको छ । जसले जुन कोणबाट बुझ्दा पनि सतहमा देखिएका चित्र, चरित्र र व्याख्याले यहि भन्छ ।

मूर्खहरूको मतले शासन व्यवस्थाको उच्च ओहदामा बसेका एकथरीको चरित्रभित्र राष्ट्रपति भण्डारीको हात र लगाउन जानेको निधारको उचाई मात्र पर्दैन । यसभित्र मर्यादाको सीमा र लोकतन्त्रको मानक पनि पर्ने रहेछ भन्ने बुझ्न आवश्यक छ ।

अर्कातिर निर्मलनिवासमा बसेर यहि मूर्खहरूलाई शासन व्यवस्थामा पुराएको भनकमा मिडियाबाजी गर्नुसँग पनि जोडिन्छ । अतः यी दुवै प्रवित्ति, स्वार्थ र अहंकारले न छाडेको लोकतन्त्र बलियो हुन्छ न जितेको गणतन्त्रको मान कायम रहन्छ । अतः जसरी जनताको मतको आकारले सबैभन्दा माथि उभ्याएको छ, त्यो मतको मर्दन नहुनेगरी लोकतन्त्रको पौराणिक होइन, आधुनिक स्तम्भ बन्न र बनाउने विषयमा ध्यान केन्द्रित हुनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित