शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यसकारण बामदेवलाई चुनाव लडाउन हुँदैन

दैनिक नेपाल २०७५ असोज २५ गते १२:१७

काठमाडौं, २५ असोज । काठमाडौं–७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई राजीनामा गराई उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता बामदेव गौतमलाई उठाउने विषयको अहिले पार्टी कार्यकर्ताहरूले नै आलोचना गरेका छन् ।

सरकारको आलोचना बढीरहेका बेला मानन्धरलाई राजीनामा गराउने अप्रिय निर्णयले पार्टीमात्र नभएर सरकारलाई पनि नोक्सान हुनसक्ने खतरा धेरैले औंल्याएका छन् । केहीले भने व्यंग्यात्मक रूपमा लोकतन्त्रको उपहास हुनेगरी गौतमलाई नउठाउनका लागि सुझाव पनि दिएका छन् ।

नेकपाका युवा नेता तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडाल भन्छन्,‘यो निर्णयले नेतृत्वको क्षमतामात्र होइन, पार्टीको जीवनलाई नै असर गरेको छ । यस्तो दूर्भाग्य नहोस् भन्ने सुझाव दिन चहान्छु ।’

युवा कार्यकर्ताले नै गौतमलाई प्रतिनिधि सभा ल्याउनका लागि मानन्धरलाई उठाउने विषय गलत भएको टिप्पणी गरेका छन् । युथ फोर्सकी पूर्व डेक्स इञ्चार्ज मिना श्रेष्ठ भन्छिन्,‘बामदेव गौतम बरिष्ठ र आदरणीय नेता भए पनि उहाँलाई उठाउने कुराले पार्टी र सरकारलाई नै घाटा हुनेछ । नेतृत्वले ध्यान दिनुपर्छ भुईँको टिप्न खोज्दा पोल्टाको पनि नखसोस् ।’

गौतमलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएर अगाडी बढाउन सकिने ठाउँ हुँदाहुँदै उनको राजनीतिक जीवनमा कालो पोत्ने काम गर्न नहुने कार्यकर्ताको सुझाव छ । सचिवालय बैठकमा गौतमलाई उम्मेदवार बनाउने चर्चा चले पनि स्थायी कमिटीले यसलाई अनुमोदन गरेको छैन ।

बजारमा आएका चर्चाका कारण गौतम उम्मेदवार नबनाइन पनि सक्छन् । उनको उम्मेदवारीबार आफुुलाई थाहा नभएको र किन यस्तो निर्णय भयो भन्ने विषयमा स्थायी कमिटीको बैठक डाकेरै छलफल गर्नुपर्ने नेकपा ७ नम्बर प्रदेश इञ्चार्ज भिम रावलले बताएका छन् । उनले भनेका छन्, ‘यो अप्रिय निर्णय हुनसक्छ, यसमा सोचविचार पुराउनपर्छ ।’

त्यसो त गौतम चुनाव उठिहाले पनि पराजय सामना गर्नुपर्ने अवस्था आउनसक्ने खतरा धेरैले औंल्याएका छन् । सामाजिक सञ्जालमा अनेक प्रकारका टिप्पणीबीच ७ बुँदामा हरिनारायण गौतमले पनि उनलाई उठाउन नहुने तर्क अघि सारेका छन् ।

काठमाण्डौ–७ नेवार समुदायको वस्ती बढि भएको क्षेत्र, स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिका प्रमुखले जारी गरेको घोषणा पत्रअनुसार अहिले पनि काम हुन नसकेको, बामदेवलाई हराउने सक्रिय टीम बर्दियामाभन्दा काठमाडौंमा अझ बढि शक्तिशाली भएको उनको तर्क छ ।

यस्तै, राजनधानी अहिले पनि बर्तमान सरकारको काम गराईबाट सन्तुष्ट हुन सकेको छैन भने दुई कम्युनिष्ट पार्टीको एकताबाट अतालिएका, रुष्ट भएकाहरु पनि बामदेव हराआंै अभियानमा सक्रिय हुने सम्भावना गौतमका लागि पराजयको कारण बन्न सक्ने उल्लेख उनले गरेका छन् ।

युवा जमात वर्तमान सांसद रामविर मानन्धरको राजीनामाबाट असन्तुष्ट हुनु र मानन्धरको राजीनामा र गौतमको उम्मेदवारीलाई विपक्षी दलले वर्तमान सरकारका कामको मुल्यांकनको प्रमुख एजेण्डा बनाउँदा घाटा हुने उनको तर्क छ ।

प्रतिक्रिया
सम्बन्धित