शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

बिखण्डनकारी समूहबाट बचाउन तामाङ समाजको स्थापना

दैनिक नेपाल २०७५ असोज २४ गते १८:२७


न्युयोर्क, २५ असोज । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले विज्ञप्ति जारी गर्दै समाजको धारणा सार्वजनिक गरेकी हुन् ।

शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र विकासको लागि उल्लेखनीय योगदान गरी तामाङ संस्कार र संस्कृतिलाई अमेरिकामा बसोवास गर्दै आईरहेको नयाँ पुस्तालाई हस्तान्तरण गरि संस्कृति संरक्षण गर्ने र तामाङ समुदायलाई बिखण्डनकारी समूहबाट बचाउन समाजको स्थापना गरिएको जनाइएको छ ।

‘नेपाली (प्रवासी) डायस्पोरामा सामुदायिक अगुवाई लिने पवित्र उद्देश्यका साथ अमेरिकी कानुन अन्तर्गत स्थापित ‘तामाङ समाज अमेरिका’ र संस्थासँग आवद्ध व्यक्तित्वहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गरी अर्कोतर्फ विवाद समाधान कमिटी गठन भएको भन्ने विरोधाभासपूर्ण विज्ञप्तिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्व पंक्तिको असक्षमता, अपरिपक्वता र अदूरदर्शिताको स्पष्ट चित्रण गर्दछ’। विज्ञप्तिमा भनिएको छ ।

यस्तो गन्तव्यहिन नेतृत्वबाट बृहत् समाज निर्माण र नेतृत्वको सम्भावना पुरै समाप्त भएको कुरा विज्ञप्तिको भ्रमपूर्ण र विरोधाभासपूर्ण विषय वस्तुले समेत स्पष्ट पारेको समाजले जनाएको छ । ‘तामाङ समाज अमेरिका र यस संस्थासँग आवद्ध व्यक्तिहरूको मानमर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्कोतर्फ तथाकिथत विवाद समाधान कमिटी गठन भएको भनि विरोधाभासपूर्ण विज्ञप्ति मार्फत समाज र समुदायमा भ्रम फैलाउने समाचार केही अनलाइन मिडियामा प्रकाशन भएकोले तामाङ समाज अमेरिकाको गहिरो ध्यान आकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

तामाङ सामाज अमेरिकाको संरक्षकहरू भरत राज लामा, सानु बावु थोकर, लुईसाङ वाईबा र भोजराज थोकर लगायतलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको सल्लाहकारको भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको भएता पनि प्रस्तावलाई कहिल्यै स्वीकार नगरिएकोले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गरिएको भनिएको कारवाहीको कुनै औचित्य नरहेको समाजले जनाएको छ ।

तामाङ समाज अमेरिका कुनै पनि संस्थाको विरूद्ध नभै अमेरिकाको कानुन अन्तर्गत स्वतन्त्र रुपमा दर्ता भई हालै सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमिति निर्वाचित भई स्पष्ट लक्ष्य र कार्यदिशाका साथ अघि बढिसकेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित