शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

आइजी हुँदा अच्युतकृष्ण खरेलले दिएका थिए गिरिजालाई ३० र माधवलाई १० लाख

दैनिक नेपाल २०७५ असोज २३ गते १३:१०

काठमाडौं, २३ असोज । प्रहरी महानिरिक्षक बन्न २० लाख रकम तत्कालिन गृहमन्त्री बामदेव गौतमले मागेको खुलासा गरेका पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई पनि रकम बुझाएको खुलासा गरेका छन् ।

स्थानीय चुनाव आएका बेला दललाई खर्च दिनुपर्ने प्रहरीको बाध्यतालाई उजागर गरेका खरेलले उनको संस्मरण पुस्तक ‘अच्युतकृष्ण खरेल’मा कोइरालालाई ३० र नेपाललाई १० लाख रकम दिएको उल्लेख गरेका छन् ।

नेपालले उक्त रकम तत्कालिन नेकपा एमालेको खातामा जम्मा गरेको जनाए पनि कोइरालाले के गरे भन्ने सन्दर्भमा भने पुस्तकमा उल्लेख छैन ।

‘दललाई चुनाव खर्च दिनका लागि रकम कहाँबाट ल्याउने भन्ने दोधारमा रहेको थिएँ’, उनको संस्मरणमा उल्लेख छ,‘मैले विश्वास पात्र तत्कालिन एसपी भरत जीसीलाई बोलाएर सुनाएँ । उनले म तयार पार्छु नआत्तिनु भन्दै गएका थिए ।’

खरेलले उक्त रकम केही दिनमा जीसीले ल्याएको र आफूले भागवन्डा गरी दुई दललाई दिएको पुस्तकमा उल्लेख गरेका छन् । उनको संस्मरणमा ‘आइजीको दोस्रो इनिङ’ शीर्षकमा यस विषयमा खुलासा गरिएको छ ।

उनले आइजीलाई काम गर्नका लागि सहज प्रधानमन्त्री कोइराला भएको जनाउँदै गृहमन्त्रीमा गोविन्दराज जोशी नै भएको अनुभव पुस्तकमा उतारेका छन् । तर, उनको पुनर्वहाली भने तत्कालिन गृहमन्त्री खुमबहादुुर खड्काले गराएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित