शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

“श्री ५ त्रिभुवन—‘आम्माओ आओ आओ !”

निर्मल भट्टराई २०७५ असोज २१ गते २२:१६

-निर्मल भट्टराई
काठमाडौं । युरोपमा कुनै बेला बहस चल्यो — मानिसको धार्मिक आस्था जन्मजात गुण हो कि आर्जित गुण हो भन्ने । सो बहसको निरुपण गर्न एउटा परीक्षण गरियो । एउटा बच्चालाई बाहिरी संसारसंग सम्पर्क विहीन बनाएर सोह्र बर्षसम्म एउटै कोठामा राखियो । उसलाई बाहिरी संसारसंग घुलमिल हुन दिएको केही समय पछि त्यो नौजवान त विहान विहान चर्चतिर पो लस्कन थाल्यो । मानिसहरुले लख् काटे—ऊ ईश्वरीय आकर्षणको कारण चर्च तिर जान थाल्यो । परीक्षणकर्ताले उसलाई सोधे, “तिमी किन विहान विहान चर्चतिर जान्छौ ?” उसले लजाएर जवाफ दियो,“चर्चतिर राम्रा केटीहरु जाँदारहेछन् ।” यसबाट धार्मिक आस्था कुनै जन्मजात गुण होईन, यो आर्जित गुण हो भन्ने प्रमाणित भयो ।

तर आज सबै धर्मावलम्बीहरुले आफ्ना अबोध बालबच्चालाई आफूले मानेको धर्ममा अभ्यस्त गराएको हामी देख्न सक्छौं । र, संसारका सबै धार्मिक सम्प्रदायको निरन्तरता यही कारणले कायम रही आएको छ । धार्मिक आस्थालाई व्यक्तिगत विषय भने पनि त्यसमा परिवार र परम्पराको प्रभुत्व छ ।

उनीहरु भन्छन्, ‘उनीहरु जन्मजात कांग्रेस हुन् । रगतमै कांग्रेस । गर्वे कांग्रेस ।’

विडम्वना, आज नेपालमा राजनीतिक आस्थाको निर्माण समेत धार्मिक आस्था निर्माण गर्ने शैलीमा हुन थालेको छ ।

मेरो गाउँमा एक कट्टर काग्रेस छन् । उनका बाजे सात सालको क्रान्तिमा सहभागी भा’थे रे । बाबु पनि कांग्रेसकै राजनीति गरिरहेछन् । उनको छोराको पास्नी भोजमा सो परिवारमा कांग्रसी राजनीतिको निरन्तरताको चर्चा चल्यो । चारतारा पृष्ठभूमिमा देखिने वीपीको नयाँ फोटो देखाउदै उनले यसको रहस्य खोले—“मेरो यो बच्चा सुत्ने कोठामा यो फोटो राखिदिन्छु । मेरो छोरा आफै कांग्रेस हुन्छ ।”

तब त गाउँ शहरतिर थुप्रै “बाल कांग्रेस” फेला पर्छन् । उनीहरु भन्छन्, ‘उनीहरु जन्मजात कांग्रेस हुन् । रगतमै कांग्रेस । गर्वे कांग्रेस ।’

“धर्म जनताको लागि अफीम हो” भन्ने द्वन्दात्मक भौतिकवादी माक्र्सका अनुयायी वामपन्थीहरुको कथा पनि चानचुने छैन । आफ्ना छोराछोरीलाई जन्मजात वामपन्थी बनाउन उनीहरु त्यसै गर्छन् । आफ्ना घरमा सजाएका माक्र्स, लेनीन, स्तालिन, माओ, पुष्पलाल, मदन भण्डारी, ओली,प्रचण्डका फोटो अगाडि आफ्ना बोलीसम्म नफुटेका बच्चा लगेर आफैं हात उठाई दिएर “ल ल बाबु लालसलाम भन” भन्दैछन् । मन्दिर, मस्जिद, स्तूप, चर्च आदिमा लगेर अवोध बच्चालाई ढोगाएजस्तो नेताको फोटोलाई ढोगाउछन्, भौतिकवादी क्रान्तिकारी कमरेडहरु । तब त गाउँ शहरतिर “बाल कमरेड”, “बाल लडाकू”को कमी छैन । छ सात कक्षा पढ्दै गर्दा जबरजस्ती माओवादी बन्दुक बोकाइर्एका र बाँचे पनि जीवन बर्बाद बनाईएकाहरुलाई समेत बन्दुक बोकेकोमा गर्व लाग्न छोडेको छैन । अपरिपक्व दिमागमा कालोपोतो !

यसरी निर्माण गरिएको तथाकथित राजनीतिक आस्थालाई ठूलो भएपछि सम्बन्धित पार्टीका नेताहरुले आफ्नो पूँजी ठान्दछन् र भन्दछन्—जीवनभन्दा आस्था ठूलो हो । ज्यान छोड्नू, आस्था नछोड्नू । आस्था जोगाउने क्रान्तिकारी हो, योद्धा हो । आस्था नजोगाउने गद्धार हो, अवसरवादी हो ।

यसरी निर्माण गरिएको तथाकथित राजनीतिक आस्थालाई ठूलो भएपछि सम्बन्धित पार्टीका नेताहरुले आफ्नो पूँजी ठान्दछन् र भन्दछन्—जीवनभन्दा आस्था ठूलो हो । ज्यान छोड्नू, आस्था नछोड्नू । आस्था जोगाउने क्रान्तिकारी हो, योद्धा हो । आस्था नजोगाउने गद्धार हो, अवसरवादी हो ।

सत्य त के हो भने यसरी बनाएको आस्था वास्तविक आस्था नै होइन । यो त मस्तिष्क—कोपिलाको हरण हो । मस्तिष्क फूलवारीमा जमाईएको कब्जा हो । स्वतन्त्र ज्ञानबाट सुसज्जित नभई, व्यक्तिमा स्वतन्त्र रुपमा राजनीतिको विश्लेषण गर्ने क्षमता विकास नभई उसलाई आस्थाको भुंग्रोमा डढाउनु अन्याय हो, पाप हो ।

नेपालमा उमेरले र ज्ञानले परिपक्व मतदाताको मन जितेर राजनीति गर्ने दिन कहिले आउला ? व्यक्तिले जीवन र जगतलाई बुझ्ने भएपछि आफूलाई मन परेको धर्म र राजनीति अँगाल्ने छूट जनतालाई कहिले प्राप्त होला ? के यो विषय व्यैयक्तिक स्वतन्त्रताभित्र राख्नु पर्दैन ? बच्चैदेखि मस्तिष्क धुलाईबाट भाँडिएको जीवनधारीले मरेपछि “आस्था झण्डा” ओढ्ने परम्पराको निरन्तरता कहिलेसम्म ?

जनताको मन कब्जा गरेर होईन । कुनै नेताको फोटो ढोगाएर होईन, वालिग मतदातालाई समाज रुपान्तरण गर्न सक्ने विचार प्रवाहित गरेर सोही अनुसारको व्यवहार देखाएर उनीहरुलाई आफतिर आकर्षित गर्ने लक्ष पार्टीहरुको हुनु आवस्यक छ । वाल मस्तिष्क धुलाईबाट निर्मित आस्थाको पहाड भत्काएर मात्र यसको प्राप्ति सम्भव छ ।

लहैलहैका भरमा नेताको एकोहोरो भजन र गुणगानभन्दा नेताले शुरु गरेका नीति र पद्धतिको विना पुर्वाग्रह बहस गर्ने दिन पनि आउला ।

देश समृद्धिको यात्रामा लम्किरहदा हामीले परम्परादेखि अँगाल्दै आएका हरेक मान्यता र व्यवहारको पुनरावलोकन हुनु अपरिहार्य छ । देशको अधिसंरचनालाई आफ्नो नियन्त्रणमा राख्ने राजनीतिप्रतिको आम बुझाईमा समेत आमूल परिवर्तन नभई हुदैन ।

यो सन्दर्भमा आफू बच्चा हुदाको एउटा घटना याद आउछ । पञ्चायत कालमा राजाका जन्मजयन्ती र जन्मोत्सव आईरहन्थे । सबै अनिवार्य उपस्थित हुनुपर्ने । जन्मोत्सव र जयन्तीमा नारा जुलुस सहित गाउँ बजार परिक्रमा गर्नु पथ्र्यो । अनि पञ्चहरुले आयोजना गरेको सभामा भाग लिन पथ्र्यो । कुनै बर्षको फागुन ७ गते त्यस्तै क्रार्यक्रम थियो । सरहरुले हातमा लट्ठी लिएर भेडा बाख्रा डोहोर्याएझैं हामी प्राथमिक विद्यालयका विद्यार्थीलाई तेह्रथुम जिल्लाको औंशीबजार तिर लगे । “श्री ५ त्रिभुवन —अमर रहुन्” एक जना सर जुलुसको अग्रपक्तिंबाट जोडले कराए । भर्खर भर्ना भएका बोली समेत राम्रो फुटिनसकेका विद्यार्थीले जोडले नारा लगाए–“आम्माओ आओ आओ”!

देश कम्युनिष्ट पार्टीको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि त राजनीतिप्रतिको सोचाई, सञ्चालन गर्ने तौर तरिका र व्यवहारमा पनि परिर्वतन हुनु पर्ला । लहैलहैका भरमा नेताको एकोहोरो भजन र गुणगानभन्दा नेताले शुरु गरेका नीति र पद्धतिको विना पुर्वाग्रह बहस गर्ने दिन पनि आउला । राजनीतिलाई भीडभाड, भाषण तालीभन्दा माथि उठाएर देश विकासका दीर्घकालीन योजना निर्माण र तिनको प्रभावकारी कार्यान्वयनमार्फत् वालिग मतदाताको मन जित्नेतर्फ सोच्ने हो कि ?

प्रतिक्रिया
सम्बन्धित