२९ आश्विन २०८३, बिहिबार

त्यसै रिसाएका हैनन् माधव नेपाल, कहाँ–कहाँ चुके ओली ?

52.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खडगप्रसाद ओली अर्थात केपि शर्मा ओली । उनको पहिलो भाषण युवा संघको संस्थापक अध्यक्ष हुँदा गुल्मीको टाहटिममा पहिलोपटक सुनेको थिएँ, ०४८ मा । मेरा लागि एकाध घटना बाहेक ओली उर्जा र प्रेरणाका श्रोत हुन । हिजो पार्टी राजनीतिमा शक्तिशाली हुन उनले स्थायी गुटको निर्माण र निरन्तर नेतृत्व गर्नु पनि जायजै मान्न सकिएला तर पार्टी अध्यक्ष र सरकार प्रमुख हुँदा पनि गुटबन्दीमै रमाउनु उहाँको चरम कमजोरी हो ।

– सिद्धिचरण भटराई

महाधिवेशनले जन्माएको ‘ओली डक्ट्रिन’

नवौँ महाधिवेशनमा केपी ओली अध्यक्षमा झिनो मतले बिजयी बने । र, एमाले अध्यक्षको कुर्सीमा पदासिन भए । माधव नेपालको प्यानल अध्यक्षमा सानो मतले पराजित भएपनि स्थायी कमिटीमा र पदाधिकारी बराबरीको हैसियतमा थियो । त्यही बेलामा ओलीको ‘किचन टिम’का एकजना मेरा मित्रलाई मैले सोधेँ, ‘यो अमृत बोहरा र झलनाथ खनाल माधव नेपाल पक्षमा उभिँदा ‘तपाईँहरु त अल्पमतमा पर्ने हुनु भो नि ? कसरी जान्छ तपाईँहरुको रणनीति ? भनेर ।’

मित्रले गतिलो सुत्र फेला पारेका छौं झन सजिलो गरी ओलीले सत्ता चलाउँछन भनेर जवाफ दिए । मैले फेरी सोँधे ‘कसरी ?,’ उनले भने ‘बराबरी भएपछि दुवै पक्षको विवादमा निर्णायक मत जाहेर गर्ने त अध्यक्षले हो, त्यसैले ‘विवाद भएपनि समाधान हाम्रै पक्षमा’ हुन्छ । त्यसयता ओलीको हरेक शैली ‘विवाद बढाउँदै लगेर अध्यक्षको विवेकमा पु्र्‍याउने र परिणाम गुटको पक्षमा पार्ने रणनीति’ रहँदै आयो ।

ओलीका सारथी किचन मेम्बरका यी भनाई शुरुमा त मैले त्यति पत्याइन । तर, पछि व्यवहार हेर्दै जाँदा उनी यही रणनीतिमा लगातार अगाडि बढेका छन । पूर्वएमालेमा उनले पुरापुर यही रणनीति कायम गरे । यही रणनीतिमा रहेर सारा नियुक्ति र उम्मेदवारीका टिकट र आयोगका सदस्यहरुमा नियुक्त गरिएको थियो । महाधिवेशनमा भोट दिएकै भरमा यसमा पनि माधव नेपाल निकटहरुले कुनै अवसर पाएनन् । योजनाबद्ध रुपमा रहँदै आएको ओलीको यही सिद्धान्तलाई मैले ‘ओली डक्ट्रिन’ भनेको छु ।

यो पछि गएर माओवादी एमाले एकतामा पनि यो सुत्र फरक ढंगले लागू भयो । प्रचण्ड केपी ‘वान टू वान सहमति’का नाउँमा माधव पक्ष बलियो भएको ठाउँ रहेछ भने माओवादीको उम्मेदवार तेर्साईदिने र आफनो पक्षलाई दिनु पर्ने ठाउँमा माओवादीलाई दाबी नगर्न प्रचण्डसँग खुसामद गर्ने ।

अष्टलक्ष्मी हराउ काण्ड र ‘ओली बा’ प्रतिको धारणा : 

‘ओली ‘बा’ गुट चलाउँछाैँ कि पार्टी ? आफैले बनाएकी उम्मेदवार पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री छनौटमा हराउन आफैले नै गोप्य भेला गर्ने र निर्देशन दिने ? जय ओली गुट’।

मैले त्यतिखेरका समाचार र अनलाइन पढेपछि खप्न नसकेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेँ । म जिल्ला कमिटी सचिवालय सदस्यले त्यसरी लेख्न हुन्थ्यो हुँदैनथ्यो ? मैले यसको प्रवाह गरिन । किनकी त्यो खबर नै सह्य थिएन । (पूर्वएमालेमा ओलीलाई ‘बा’ भनेर पुकार्ने एक युवा जत्था छ जो ओली वरीपरी फन्का मारिरहन्छ, राजनीतिक र राजकीय लाभ लिन लालायित भइरहन्छ, उनीहरुप्रति ओली बिशेषरुपले सहानुभूति राख्छन् ।)

पछि मनोज पुन प्रहरी कारवाहीमा मारिएपछि ‘मनोज पुनलाई एमालेमा ल्याउने र हिरो बनाउने को थिए ? ’ शिर्षकमा दैनिक नेपाल अनलाइनमा एक लेख छापियो । यो शिर्षक चाँहि अनलाइनकै हो, मेरो होइन । तर, भित्र लेखिएका प्रत्येक शब्द अभिव्यक्ति मेरा हुन । मनोज पुन जसरी माओवादीबाट एमाले प्रवेश गरे, कसको संरक्षणमा युवा संघमा बसेर गुण्डा गर्दी गरे, त्यसमा मैले यथार्थ कुरा उल्लेख गरेको छु । बसन्त पौडेल र दुर्गा हत्यासंँग जोडिने कतिपय पार्टी राजनीतिका घटनाहरुलाई आशंका गरेको छु । हुन त नैतिक रुपमा पदीय जिम्मेवारीको हिसाबले म पनि पानी माथिको ओभानो हुन नसकुँला । तर, म लगायत धेरै साथीहरुले लगातार स्थानीय राजनीतिमा यसखालको गुण्डा संरक्षणको निरन्तर बिरोध गर्दै आएको छौं ।

यही बिषयको लेख प्रकाशित भएकै सन्दर्भमा हिमाल खबरमा मुकेश पोखरेलले अनुसन्धात्मक समाचार गुण्डागर्दीलाई राजनीतिक संरक्षण रहेको तथ्यसहित समाचार प्रकाशित भयो । यसबाट मुर्मिएका एमालेका केही नेताहरु ममाथि आगो हुनु स्वाभाविक नै थियो । उनीहरुको ‘डिजाइन र षडयन्त्र’ सहित ‘ओली बा स्टाटस’ पनि म माथि कारबाहीको एक प्रमाण बनाइयो । जिल्ला कमिटीको बैठक बसालेर (जबकी कारबाही पूर्व ८ महिना र कारवाही यता ६ महिना गम्भीर परिस्थितिमा पनि जिल्ला अध्यक्षले बैठक बोलाएनन्) म माथि सुनियोजित कारबाही गरी ६ महिना निलम्बन गरियो ।

त्यो ६ महिना गत भदौ ३१ अगाबै सकिएको छ । यद्यपि मैले उठाएका बिषय मलाई निलम्बन गरिएको दुई महिना नपुग्दै प्रहरीले पक्राउ गरेका मानिसहरुको हिजोको एमाले र माओवादी पृष्ठभूमिले नै प्रष्ट भइसक्यो । धेरै मिडियाले यसलाई उल्लेख पनि गरे । यो मुखुण्डो उजाडिएपछि मलाई कारवाहीको निउँ ‘ओली बा’को स्टाटस नै थियो । प्रदेश कमिटीको कार्यदल संयोजकले पनि मनोज काण्ड र स्थानीय निकाय निर्वाचन समिक्षा नछोइकन यही स्टाटसलाई मुद्धा बनाएबाट यसै बुझन सकिन्छ, यसको खास अभिप्राय के हो ?

यी सबै कुरामा मैले चर्चा गर्न र व्युँझाउन खोजेको बिषय ‘गुण्डागर्दी र गुटबन्दी’ले पार्टी चल्दैन भन्ने कुरा सम्झाउनु नै मुख्य अभिप्राय हो । पार्टीमा बैठक नियमित हुने गरेको भए सायद यी कुरा पार्टीमै राखिने वातावरण बन्दो हो । तर, स्थानीय तहमा यस्तो हुन छाडेको करिब डेढबर्ष भई सक्यो ।

अघिल्लो ओली सरकार चलाउँदा पनि सरकारको सबै नियुक्तिको मुख्य चुरो ओली गुटलाई शक्तिशाली बनाउन नै प्रयोग गरियो । राष्ट्रिय चुनौतीका बीचमा पार्टीभित्रको अन्तरबिरोध चर्काउन अनुचित थियो । त्यसैले धेरैले सहने परिस्थिति बन्यो र बनाइयो । माधव नेपालले त्यतिखेर ओलीको पेलाईबाट हैरान भएर संसदमै बोलेका थिए । त्यतिखेर नै एक लेखमार्फत माधव नेपाललाई ‘गलत ठाउँ र गलत समयमा सही आवाज’को उपमा दिएको थिएँ ।

खडगप्रसाद ओली अर्थात केपि शर्मा ओली । उनको पहिलो भाषण युवा संघको संस्थापक अध्यक्ष हुँदा गुल्मीको टाहटिममा पहिलोपटक सुनेको थिएँ, ०४८ मा । उनको भाषण सुनेर रचनात्मक क्रियाकलाप स्वरुप गुल्मीको ठूलो लुम्पेकमा युवा संघको अगुवाईमा बाटो निर्माण गरिएको थियो । मेरा लागि एकाध घटना बाहेक ओली उर्जा र प्रेरणाका श्रोत हुन । हिजो पार्टी राजनीतिमा शक्तिशाली हुन उनले स्थायी गुटको निर्माण र निरन्तर नेतृत्व गर्नु पनि जायजै मान्न सकिएला तर पार्टी अध्यक्ष र सरकार प्रमुख हुँदा पनि गुटबन्दीमै रमाउनु उहाँको चरम कमजोरी हो भन्ने लागेर उहाँप्रति म आलोचनात्मक दृष्टिकोणका साथ नै प्रस्तुत हुन्छु, यसको अर्थ हरेक कुरामा बिरोध होइन ।

ठीक यही कुरालाई लिएर अहिले राष्ट्रिय राजनीतिमा नेकपाभित्र ‘ओली प्रबृति’को बहस हुँदैछ । यसले नेकपाको राजनीतिलाई सही दिशामा स्थापित गर्न सक्छ भन्ने अपेक्षा छ । यसलाई ओलीले नवौँ महाधिवेशनदेखि आजसम्मको समिक्षा गर्ने गरी आफ्नै कामको सिँहावलोकन गर्न जरुरी छ ।

लोकतान्त्रिक चेतको अपेक्षा

भारतीय समाजवादी नेता जवाहरलाल नेहरुले आफू प्रधानमन्त्री हुँदा एक जना व्यंग लेखक तथा कार्टुनिष्टलाई सँगै लिएर हिँडथे । कार्टुनिष्टको कर्तव्य थियो –आम सभा र भेलाहरुमा जानु र नेहरुबारे आमजनतामा उत्पन्न धारणा कस्तो छ सो बारे बुझेर कार्टुन बनाउनु र पत्रिकामा छाप्नु । ती धारणा प्रायः नेहरुप्रति नकारात्मक हुन्थे तर नेहरुले ती कार्टुनबाट सकारात्मक सन्देश लिएर भावी रणनीति तय गर्न सहयोग पुग्ने अभिप्रायले कार्टुनिष्ट र व्यंग लेखकलाई साथमै लिएर हिँड्थे । के ओलीबाट यत्तिको लोकतान्त्रिक चेतको अपेक्षा गर्न सकिन्छ ?

नेपालमा के संस्कार स्थापित हुँदैछ ? हामी कहाँ आलोचना सहन नसक्ने नेताहरु नै अक्सर राजकीय पार्टीहरुमा हावी छन् । यही कुराको प्रमाणित गर्छ भर्खरै नेकपा सरकारको माधव—ओली जुहारीले ।

लोकतन्त्रमा आफनो आलोचनाको स्वतन्त्रतालाई महत्वपूर्ण स्थान दिइन्छ । लोकतान्त्रिक नेतृत्वले सहकर्मी र कार्यकर्ताको आलोचनाको स्वतन्त्रताको हरदम ख्याल गर्नु पर्दछ । पार्टीभित्रको जनवाद वा जनतान्त्रिक संस्कार यसैमा आधारित हुन्छ । तरऽ नेपालमा के संस्कार स्थापित हुँदैछ ? हामी कहाँ आलोचना सहन नसक्ने नेताहरु नै अक्सर राजकीय पार्टीहरुमा हावी छन् । यही कुराको प्रमाणित गर्छ भर्खरै नेकपा सरकारको माधव—ओली जुहारीले ।

सरकारका कामका बिरुद्ध आएका आलोचनाहरुलाई बिरोध ठान्छन । आलोचना गर्नु र आलोचनात्मक चेतका साथ कुरा उठाउनु फरक कुरा हो, दोश्रो मार्क्सवादी शैली हो । माधव नेपालले सदनमा राखेको पछिल्ला मन्तव्यलाई लिएर जुन परिदृष्य नेकपामा देखिँदैछ त्यसले हाम्रो सोँचमाथि नराम्रो व्यंग गरेको छ । माधव नेपालले जनताको आवाज र गुनासो सदनमार्फत सरकारलाई गराउनु के नाजायज हो ? उनले सकिनै लागेको अधिवेशनमा नबोलेको भए कहिले बोल्थे ? जनताको मनमा रहेको र हरेक पार्टी सदस्यले गरेको चिन्तालाई उनले सदनमा सरकारका काम प्रभावकारी बनाउने उद्देश्यका साथ राख्नु के अपराध हो ?

बरु ओलीले प्रधानमन्त्री पदको हेक्का नै नराखेर विपक्षी र नागरिक समाजलाई ‘ओठे जवाफ’ फर्काउन सुहाँउछ ? विपक्षीबिरुद्ध अरिंगाल जस्तै बन, बम दिदी बहिनीको पक्ष र निर्मलाको विपक्षमा बोलेका अभिव्यक्ति एवं गोविन्द केसीका जायज मागका बिषयमा उनको ‘बाल हठयुक्त’ अभिव्यक्ति के जायज थियो ? त्यसले कम्युनिष्ट आन्दोलनलाई कति नोक्सान पुर्‍याएको छ हेक्का राख्नु पर्दैन ? यदि जायजै कुरामा अडान लिएर प्रतिवाद गर्नुपर्ने भए संसदीय दलको बैठक बोलाएर जानकारी गराउने अवस्था स्वयम् ओली किन गर्दैनन ? उनी आफै विपक्षी नेता जस्तो ‘झर्को र चर्को’ गर्नु राम्रो होइन । यो कुरा भन्न उक्साउने सल्लाहकारहरु झन बढी खराब हुन । तिनिहरुले ओलीको राजनीतिक बचाउ गर्न सक्दैनन्, जति माधव नेपाल, झलनाथ, नारायणकाजी, बामदेव, ईश्वर पोखेल, प्रचण्ड जस्ता सहकर्मीले गर्न सक्छन् । राजनीतिक बचाउका लागि उनले आफनो कार्यकारी टिममा, ‘राजनीतिक स्प्रीट’ को बाट लिने गरेका छन ? के हिजो पार्टी महाधिवेशनमा आफूलाई जिताउन हनुमान गिरी गर्ने ’एस म्यान‘ कार्यकर्ता उनलाई घरेलु र बाह्य राजनीतिमा सल्लाहदिने हैसियत राख्छन ? अवश्य राख्दैनन् ।

सरकार चलाउनु र कम्युनिष्टहरुले सरकार चलाउनु भिन्न कुरा हो । बुर्जुवाहरु र दक्षिणपन्थी शक्तिहरुले सरकार बनाउनु र कम्युनिष्टहरुले सरकार बनाउनु आधारभूत रुपमै भिन्न कुरा हो । यो भिन्नता भनेको शासन गर्ने शैली र जनताले अनुभूति गर्ने अवस्था पनि फरक हुन्छ र हुनु पर्छ । किनकी जनपक्षिय प्रगतिशिलता यसको आधारभूत चरित्र हो र हुनु पर्छ । के ओली सरकारले यो अनुभूति दिन सकेको छ ? छैन भने हामी निश्चित रुपमा अल्मलिएका छौं वा बाटो बिराएका छौँ ।

यो अल्मलबाट मुक्त भएर सरकार र पार्टीलाई सहि मार्गमा उभ्याउनु आज हामी सबै कम्युनिष्टहरुको कर्तव्य हो । सामूहिक भावना, सामूहिक निर्णय, व्यक्तिगत जिम्मेदारी र जवाफदेहीता यी लोकतन्त्रका अकाट्य पक्ष हुन । तर, व्यक्तिगत निर्णय र सामूहिक जवाफदेहिताको अपेक्षा मृगतृष्णा मात्र हो । सम्भव छैन। यसलाई सकारात्मक रुपमा लिऔं । ओली र प्रचण्डलाई गलत अभ्यासमा जानबाट फर्कने मौका दिउँ । म यसो भन्छु कि प्रधानमन्त्री ओली पार्टी र सरकार चलाउने वर्तमान कार्यशैली सच्चाउन तयार हुुनु पर्छ भन्ने कुरामा उभिनु जति न्यायोचित सान्दर्भिक हुन्छ त्यति नै यो सरकारको विकल्प खोज्ने बहाना बनाउनु पनि असान्दर्भिक हुन्छ ।