
काठमाडौं, १३ असोज । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएका छन् ।
शनिबार कमलपोखरीस्थित सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको बताए । उनले भने, ‘अनुराग अत्यन्तै सबल चलचित्र बनेको छ । मैले हेरेको नेपाली चलचित्रमध्ये यो अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो । युवा पुस्ताहरुको त यसले पुरै मन जितेको छ ।’
उनले ‘अनुराग’ सन्देशमूलक चलचित्र बनेको पनि दाबी गरे । उनले थपे, ‘अनुराग उत्कृष्ट चलचित्र बनेको छ । यसमा के छैन ? माया छ, प्रेम छ । कलाकारहरुको अभिनयमा जीवन्त पाएँ । अभिनेत्री एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ ।’
त्यस्तै प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाम्फेले पनि अनुराग अत्यन्तै राम्रो चलचित्र बनेको जनाइन् । उनले भनिन्, ‘पूर्वप्रधानमन्त्रीज्यूले भनेजस्तै यो चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो । यो चलचित्र सुपरहिट हुन्छ । सबै कलाकारहरुको अभिनय जीवन्त छ ।’
उनले फिल्मले नेपाली युवा पुस्ताको भावना बोकेको बताईन् । अनुराग हेर्नको लागि उनले सबै नेपालीहरुलाई आग्रह गरिन् । त्यस्तै चर्चित कलाकार जितु नेपालले पनि अनुराग राम्रो बनेको बताए ।
सांगीतिक प्रेमकथा रहेको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमती एलिजा गौतम र अभिनेता समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् ।















प्रतिक्रिया