केपी ओली हाम्रो जन्मभूमि नेपालका प्रधानमन्त्री हुन्, उनका धेरै कार्य शैली प्रति म बिमति राख्छु,सोसल मिडियामा उनले गरेका राम्रा कामको तारिफ र कमजोरीको म खुलेर बिरोध गर्छु, तर पनि बिमतिमा मैले गर्ने बिरोधमा शालीनता हुनैपर्छ नत्र त्यो बिरोध बिध्वंस जस्तै खतरा हुन्छ, त्यसले द्वन्दको बिजारोपण गर्छ भने अराजकता फलाउँछ।
दुई साता अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाउने तथा ‘गो ब्याक मर्डरर’ भन्ने नारा लगाईएकोमा मैले लेख मार्फ़त बिरोध गर्दा केहीले मलाई बाबुराम भक्त पनि भनेका थिए भने धेरैले समर्थन समेत ब्यक्त गरेका थिए। मैले आफू बाबुराम भट्टराईको भक्त नभई देशको कुनै बेलाको कार्यकारी प्रधानमन्त्रीको समर्थनमा बोलेको थिएँ, जुन बाबुराम वा अरु जो सुकै पनि हुन सक्थ्यो।
दुई दिन अघिको मेरा एक मित्रले लेखेको स्टाटसलाई केही सम्पादित गरेर मैले शेयर गर्दा केही साथीहरुले मलाई देशको प्रधानमन्त्री ओलीको बिरोध गर्यो भनेर कडा प्रतिक्रिया दिने मात्र हैन अनफ्रेन्ड गर्ने समेत भेटिए। जसमा ओली र ट्रम्पको भेंटवार्ता बारे बिभिन्न बिम्बहरुको प्रयोग गरेर नेपाली राजनीतिको बिसंगति उल्लेख गरिएको थियो जसमा न कुनै असभ्य टिप्पणी थिए न त कुनै असान्दर्भिक। ती टिप्पणी कर्ता मध्ये केही त केही हप्ता अघि माधव नेपाल न्यूयोर्क आउँदा आयोजित एउटा अन्तरकृया कार्यक्रममा मलाई केही कडा पो बोल्ने हो कि भनेर निषेध नै गर्नेहरु थिए।
अर्को एउटा टिप्पणीमा प्रधानमन्त्रीको काम भन्दा कुरा बढी गर्ने बानीलाई ब्यंग गर्दै ‘सम्माननीय प्रधानमन्त्रीज्यू, ‘केही थान उखानहरु अंग्रेजीमा सिकेर आउनुहोला’ भन्दा केही साथीहरुले देशको प्रधानमन्त्रीको अपमान भो भन्ने देखि वाह वाह सही लेख्यौ भनेर भन्नु पनि भो। तर यो लेख पढ़े पछि मलाई ओली भक्त भन्न पनि बेर छैन।
हुन त म ओली भक्त नै हुन चाहन्थेँ तर उहाँका अभिव्यक्ति र कार्यशैली प्रति म पनि आम मान्छे जस्तै खुशी छैन।नाकाबन्दीका बेलाका सतीसाल बनेका ओलीज्यू दुई तिहाई मतादेश च्याँपेर पनि अहिले उत्तीसको रुख जस्तै कमजोर हुनुभएको छ तर म परदेशमा भएकोले मेरो देशको कार्यकारी प्रमुखको सम्मान र ईज्जत गर्नु मेरो दायित्व हो भन्ने कुरामा म सचेत छु।सोसल मिडियामा शालीन रुपमा आफ्ना असहमति प्रकाशन गर्नु मेरो बाध्यता थियो भने, त्यसबाट सिक्नुपर्ने काम प्रधानमन्त्रीकै थियो।तर जे भए पनि अरुको भूमिमा आफ्नै देशको प्रधानमन्त्रीको बिरोध कालो झण्डा देखाएर हैन फराकिलो मन गराएर गर्नुपर्छ भन्ने मेरो मान्यता हो किनकी अमेरिकनहरुले केपी ओलीलाई कुन पार्टीको प्रधानमन्त्री हो भनेर बुझ्ने छैनन्, कुन देशको कार्यकारीको बिरोध गरेको भनेर बुझ्छन्। जुन तपाईँ हामी सबैको प्रतिष्ठा संग जोडिएको हुन्छ।
ओली दुई तिहाई प्राप्त मतादेशका प्रधानमन्त्री हुन्, उनलाई यो गर्न सकिन, बिरोधीहरुले गर्न दिएनन्, मैले बिगारेको हैन, काम गर्न गाह्रो भयो भन्ने नैतिक अधिकार र बहाना छैन। शुरुबाती दिनहरुमा उद्घोष गरेका धेरै घोषणाहरु अहिले बिचमै हराउनु, निर्मला हत्याकाण्डमा राजनैतिक चलखेल भएर २ महिना भन्दा बढी समयसम्म अपराधी सार्वजनिक गर्न खुट्टा कमाउनु, नेता तथा कार्यकर्तामा पुरानै चुम्मा चाट र चाप्लुसी जारी रहनु लगायत केही मन्त्रीहरुका ग़ैरज़िम्मेवार कृयाकलाप जारी रहनु ओली सरकारका अकर्मण्यताहरु हुन्।
तर वर्तमान बिसंगतिका एक्लो कारक ओली होईनन्, बहुदलीय ब्यवस्था पछि पटक पटक सत्तामा बसेको नेपाली काङ्ग्रेस यसमा उत्तिकै ज़िम्मेवार छ।ओलीज्यू ब्यक्तिगत रुपमा लोभ, मोह र स्वार्थबाट टाढा होलान् तर उनका कार्यकर्ताको ठूलो जमात स्वार्थको राजनीति गर्छ।ती स्वार्थ समूहले कसरी प्रभाव पारेका छन् भन्ने ताज़ा उदाहरण डा. गोविन्द के.सी. को आन्दोलनमा लामो समय पछि देखाएको उदासीनता थियो, जसमा कांग्रेसको समर्थन राजनैतिक लाभका लागि र सरकारको उदासीनता स्वार्थ समूहको प्रभाव थियो।

त्यसै गरी जहाँ गयो त्यतै उखान टुक्का भन्दै हिड्ने शैली देशको कार्यकारी प्रधानमन्त्रीलाई सुहाउने शैली होईन, गरेका कामलाई जति पनि फूल बुट्टा भरे हुन्छ गर्न लागेका कामलाई फूल बुट्टा भर्ने तर उपलब्धि नहुने हो भने ती आफैमा ब्यंग हुन्छन्। उनका भाषण सुन्दा गललल हाँस्ने मध्ये कुरा मन पर्ने मात्र हैनन् पत्यार नलाग्नेहरुको जमात ठूलै भईसक्यो। आफ्नै कार्यकर्ता र नेताहरुबाट प्रम ओली माथि प्रहार भईरहेको त्यसको प्रमाण हो, प्रम ओलीज्यूका सल्लाहकारहरु कुन आत्मरतिमा रमाएर गलत ब्रिफिंग गर्छन, यो अनुसन्धान गर्ने जिम्मा उहाँकै पार्टीका नेताहरुलाई होला।
केही ब्यक्तिहरुले प्रम ओलीलाई अमेरिकाको न्यूयोर्कमा केही काङ्ग्रेसी कार्यकर्ताहरुले कालो झण्डा देखाउन आन्तरिक तयारी गरिरहेको भन्ने सुनिएको छ जुन आपत्तिजनक नै हुनेछ। ओली सरकारका अकर्मण्यता बिरुद्द नेपाली संघ संस्थाहरुसंग बसेर आन्तरिक रुपमा जति आलोचना गरे पनि हुन्छ, आफ्नै प्रधानमन्त्री हुन् मजाले झेँको झारे पनि हुन्छ तर सार्वजनिक स्थलबाट ओलीको बिरोध गर्नु भनेको सोसल मिडियामा भाईरल हुनु मात्र हो।
प्रधानमन्त्री ओली आफैमा कालो झण्डा देखाउनै पर्ने ब्यक्ति होईनन्, उनी नायक बन्न नसकेका होलान् तर नालायक बनिसकेका छैनन्। अबका चार बर्ष सम्म यो सरकारको बिकल्प पनि छैन र यत्तिको सरकारले पनि केही गरेन भने कुनै पनि सरकारले केही गर्न सक्ने छैन। त्यस मानेमा यो सरकार ढल्नु भनेको जनताको समृद्दिको सपना ढल्नु हो। उनका मानवीय गल्तीहरु अझै पनि सुधार्न सक्ने हो भने केही ढिलो भए पनि समय घर्केको छैन।आफैले नामै लिन नरुचाउने माओवादी संग पहिले तालमेल र अहिले एकीकरण नै गर्नु उनको तारिफ गर्नै पर्ने कला हो। उनी प्रधानमन्त्री भए देखि उत्तर र दक्षिणका बलिया छिमेकीहरुसंग पनि सम्बन्ध बिग्रेको छैन बरु सुध्रिएकै छ।
तर अहिले प्रम सम्बद्द दलका कार्यकर्ताहरुको चुरीफुरी ह्वात्तै बढेको छ, प्रधानमन्त्रीको सोसल मिडियामा बिरोध गर्नेहरु माथि खनिने तथा ब्लक तथा अनफ्रेन्ड गर्ने र आफूहरु प्रमसंग आत्मीय तथा नजिक देखाउन फोटो शेसन गर्ने देखि सोसल मिडियामा भक्तिगान गाउनेहरु देखिएका छन्। नेपाल देखि अमेरिका सम्म बिगार्ने भनेका यिनै भक्तिगान गाउनेहरुले हो।यो कुरा प्रधानमन्त्रीज्यूले बुझ्नै पर्ने कुरा हो। उहाँले त दलगत जमघट भन्दा सबैलाई संबोधन गर्ने गरी सबैसंग घुलमिल हुनुपर्ने हो।
दुई दिन पहिले नेकपाकै सांसद नवीना लामाले एउटा नामै नसुनेको ब्लगको न्यूज़ शेयर गरिन्, जसमा लेखिएको थियो,’प्रधानमन्त्री ओलीलाई अमेरिकी सरकारले भब्य स्वागत गर्यो’ भनेर लेखिएको थियो।” जुन समाचार पूर्णत: फेक थियो।तस्विरमा देखाएको फोटो कुनै बेला बाराक ओबामले क्यालिफोर्निया भ्रमण गर्दा लिईएको थियो। अर्थात देशकै सचेत बर्ग बिद्यार्थी राज़नीतिबाट नेता हुँदै सांसद बनेकी नवीनाले यही फेक न्यूज़ शेयर गरिन्। पार्टीका भक्तहरुले त्यसलाई जोड़तोड़ शेयर पनि गरे। फेक न्यूजको ब्यापक आलोचना भए पछि उनले त्यो बल्ल हटाईन्।त्यो भक्तिगानको अनुपम नमूना थियो।
यस बाहेक सरकारका रबैयालाई पनि सही हो भनेर हँ मा हँ मिलाएर शेयर ट्विट गर्नेहरुको पनि बिगबिगी छ।सके सम्म प्रतिरक्षा गर्छन् असफल भए त्यसलाई बेतर्कको आलोचना गर्न पछि पर्दैनन्।सरकारकै प्रवक्ताकै पर्फरमेन्स राम्रो छैन, जनताको अपेक्षा अनुसार काम भएकै छैन। सुधार गर्नुपर्ने धेरै कुरा छन्।
यति हुँदा हुँदै पनि नेपालमा वर्तमान सरकारको बिकल्प छैन,बैकल्पिक शक्तिहरु भर्खर जन्मेका छन्, प्रमुख प्रतिपक्षको संसदमा उपस्थिति निकै कम छ, जे जस्तो भए पनि काम गर्ने जिम्मा ओली सरकारकै हो। नेकपाले बहुमत ल्यायो, सरकार बनायो भनेर सरकारलाई हरेक कुरामा च्याँखे थाप्ने हैन बरु रचनात्मक सहयोग गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन।
ओलीका पालामा समग्र सुशासनको अवस्था खराब भएको होला, ऐजन एेजन कुरामा यो सरकार असफल भए पनि अमेरिकामा पब्लिक रुपले ओलीले काम गरेन भने बिरोध गर्नु युक्ति संगत हैन यसले देशको छबि धमिलो हुन्छ। ओलीलाई देश भित्रबाट बालुवाटार घेरेर आलोचना गर्दा हुन्छ, ज्ञापनपत्र लेख्दा हुन्छ, आमरण अनसन गरे हुन्छ,उनका कमजोरी अमेरिकामै पनि नेपालीहरुले आयोजना गरेको गोष्ठी बैठकमा गर्न हुन्छ तर सार्वजनिक क्षेत्रमा बिरोध गर्ने ब्यक्ति केही दिन भाईरल होला तर देशले केही पाउने छैन।
मेरो अनुरोध: सरकारका बिरोधीहरुले कमसेकम परदेशमा कालो झण्डाको धन्दा छोडौँ, समर्थकहरुले पनि जे कुरालाई पनि सही भन्दै एस म्यान नबनौँ।चरम चाप्लुसी र कडा बिरोध दुबै अपराध हुन्। अपराध नै गरिरहने हो भने हामी र अरुमा केही फरक हुनेछैन। ओलीका समर्थक र बिरोधी दुबैलाई सद्बुद्दि आओस्…
















प्रतिक्रिया