शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सुनसरीमा खुर्शिद हत्या : उच्चस्तरीय छानबिन समिति गठन गर्न गृहमन्त्रीसँग राज्यमन्त्री चौधरीको माग

दैनिक नेपाल २०७५ असोज ५ गते १६:०२

काठमाडौं, ५ असोज । सुनसरीको हरिनगरा–२ भुटाहाका खुर्शिद आलम अन्सारीको हत्या छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गृहमन्त्री रामबहादुर थापासँग माग गरेकी छन् ।

नेकपाका सल्लाहकार समेत रहेका खुर्शिदको दिन दहाडै हत्या गरी अभियुक्तहरू सीमापार हुँदा स्थानीय आन्दोलित भएको जानकारी गराउँदै राज्यमन्त्री चौधरीले विहीबार गृहमन्त्री थापालाई भेटेर छानबिन समिति गठनको माग गरेकी हुन् ।

सुनसरी राज्यमन्त्री चौधरीको गृह जिल्ला हो । अल्पसंख्यक मुस्लिम समुदायका अगुवाको हत्या हुँदा स्थानीयवासीको आन्दोलनलाई सम्बोधन गर्नका लागि चौधरीले माग गरेकी हुन् ।

प्रहरीलाई समेत गोली प्रहार गरी फरार हुने अभियुक्तहरूलाई भारत सरकारसँग समन्वय गरी पक्राउ गरी कारबाहीको दायरामा उभ्याउनका लागि उनले माग गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित