आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

कति सक्कियो सरकारी सम्पत्ति ? ५ मन्त्री ११ नेता विदेशमा, उपराष्ट्रपति चीनमा

दैनिक नेपाल २०७५ असोज ४ गते १३:४८

काठमाडौं, ४ असोज । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने पूर्वसन्ध्यामा नै सरकारका ५ मन्त्री र ११ नेता विदेश सयरमा छन् । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनः पनि सरकारी खर्चमा चीन भ्रमणमा छन् ।

विदेश भ्रमण मोह चुलिँदा देशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा भनेको समयमा सम्बोधन हुन सकेको छैन । नेताहरू अनेक कार्यक्रमको बहनामा विदेश सयरमा व्यस्त देखिएका छन् ।

उत्पादनहिन कामका लागि नेताहरूले विदेश यात्रामा सरकारी खर्च उडाइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर बुधबार राती स्वदेश फिर्ता भए । त्यसको केही दिन अघिमात्र उनी भारत भ्रमणमा थिए । नेपालमा २० दिन पनि बस्न नसक्ने नेताहरू धेरै भएका छन् ।

कर्मचारीको विदेश भ्रमणमा व्यापक कटौती गर्ने र आफुले पाए इथियोपिया पनि जान नछाड्ने नेताहरूको संख्या व्यापक हुन थालेको छ ।

अध्ययन, निमन्त्रण, सभा र सम्मेलनको बाहनामा फजुल खर्च गरी उपलव्धीशुन्य काममा नेताहरू भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण भने नियमित र सदस्य राष्ट्रको सरकार प्रमुखका हैसियतमा हुन लागेको हो । बाँकीको भ्रमणको औचित्य नदेखिने राजनीतिक जानकारहरू बताउँछन् ।

‘एउटा नेतामात्र हुँदैन, विदेश भ्रमणमा कम्तिमा १० जना लिएर जाने चलन छ । यसमा सरकारी ढुकुटीको रकम कहाँ खर्च भइरहेको छ भन्ने प्रस्ट हुन्छ’, एकजना राजनीतिशास्त्रका प्राध्यापकले भने,‘एजेन्डा र उपलव्धी सानो छ की ठूलो हो भन्ने पनि हेक्का राख्नुपर्छ ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भियानामा छन्, उनी प्रधानमन्त्री ओली सहभागी हुने अमेरिकाको न्युयोर्क पुग्नेछन् ।

विदेश भ्रमणको फजुल खर्चमा सत्तासीनमात्र होइन, प्रतिपक्षी दलका नेता पनि कम छैनन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणका क्रममा पोर्चुगल पुगेका छन् । नेकपाका नेता माधवकुमार नेपाल अमेरिकाबाट फर्केको १५ दिनमै घाना उडे । उनका साथमा नेकपा नेत्री पम्फा भुसाललगायत छन् ।

एकै दलका नेता एउटै देश जानुका एजेन्डा र महत्वका विषयमा प्रस्ट नहुँदा जनताले यस्तो परिदृश्य देख्नु परेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनमा छन् ।

उता पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई एक महिनाका लागि अमेरिका भ्रमणमा छन् । उनी अमेरिकाका विभिन्न ठाउँमा हुने कार्यक्रममा व्यस्त छन् । उनीसँग पत्नी हिसिला यमीलगायत छन् ।

यसैबीच, फजुल खर्च जोगाउने भनिएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि चीनमा छन् । प्रतिपक्षी दलका अर्का नेता डा. मिनेन्द्र रिजाललगायको कांग्रेसको एउटा जम्बो टोली पनि चीन भ्रमणमा व्यस्त छ ।

केन्द्रका नेतामात्र होइन, प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीन भ्रमणमा छन् । नेकपा नेता जनार्दन शर्मा प्रभाकर अष्ट्रेलियामा छन् । नेताहरूको भ्रमण खर्च केही आयोजक र धेरैचाहीँ नेपाल सरकारको ढिकुटीबाट हुने गरेको छ ।

सभामुख कृष्णबहादुर महरा भर्खरै चीन भ्रमण सकेर फर्किएका छन् । अन्य विभिन्न दलका नेता र सांसदहरू विदेश भ्रमणका लागि खुट्टा उचालेर बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित