लण्डन, ३० भदौ । क्लब फुटबल र व्यक्तिगत स्तरमा स्टार खेलाडी मेस्सीले जित्नु पर्ने सबै उपाधि जितेका छन् । पाउनु पर्ने जति सबै अवार्ड पनि पाएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भने मेस्सीलाई अहिलेसम्म त्यस्तो ठूलो केही हात लागेको छैन ।
चार वर्षअघिको विश्वकप फुटबलमा मेस्सीले अर्जेन्टिनालाई फाइनलमा लगे । तर जर्मनीसँग पराजित भएर उपाधि उचाल्न पाएनन् । त्यसपछि क्षेत्रीय प्रतिस्पर्धा कोपा अमेरिकामा लगातारको हार ।
सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भयो । सन् २०१६ को फाइनलमा पेनाल्टीमा मेस्सी चुके र टिम पराजित भयो । त्यो हारको पीडा मेस्सीमा निकै ठूलो परेको थियो । उनी मैदानमै बसेर रोए निकैबेर ।
अनि केही घण्टापछि अप्रत्यासित निर्णय गरे, अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा । उनी केही महिनापछि सन्यास फिर्ता लिँदै मैदानमा फर्किए । तर सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेस्सी मैदानमा बसेर रोएको सायद कसैले भुलेका होलान् ।
उनलाई त्यसको प्रभाव निकै ठूलो परेको रहेछ । मेस्सी मैदानमा मात्रै होइन, एक्लै पनि बेस्सरी रोएका रहेछन् । अर्जेन्टिनाका फिटनेश प्रशिक्षक जेरार्दो मार्तिनोले मेस्सी टिमको स्टोर रुममा बसेर मेस्सी एक्लै बेस्सरी रोएको भेटेका थिए ।
अर्जेन्टिनाको रेडियोसँग अन्तर्वातामा मार्तिनोले कोपा अमेरिकाको फाइनलमा पराजितभएको पीडापछि मेस्सीमाथि परेको प्रभाव खुलाएका हुन् । एजेन्सी















प्रतिक्रिया