शनिबार, १ मंसिर २०७५
DainikNepal.com
शनिबार, १ मंसिर २०७५

खुस्किने भयो केसीको पद, प्रधानमन्त्रीलाई फकाउन नेता भेट्दै

दैनिक नेपाल २०७५ भदौ २९ गते ९:३८

काठमाडौं, २९ भदौ । गरिवी निवारण कोषका कार्यकारी निर्देशक नकुल केसीको पद धरापमा परेको छ । अपारदर्शी गतिविधि र नैतिकताको विषयमा प्रश्न उठेपछि उनको पद धरापमा परेको हो ।

हालै सम्पन्न बैठकबाट कोषका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी निर्देशक केसीले पेश गरेका दश वटामध्ये आठ प्रस्तावहरू अस्वीकृत गरिदिएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओली कार्यकारी निर्देशक केसीको कार्यशैलीबाट खुसी छैनन् भन्ने सबैले चाल पाएका थिए । सोहीकारण केसी प्रधानमन्त्री ओलीसँग झस्किएका हुन् ।

कोषको आर्थिक हिसाव किताव रहेको सफ्टवेर उडेपछि कार्यकारी निर्देशक केसीमाथि नैतिकताको ठूलो प्रश्न उठेको थियो । सफ्वेर कसरी र किन बिग्रेको हो केसीले अहिलेसम्म विश्वास लाग्ने जवाफ दिन सकेका छैनन् ।

सोहीकारण प्रधानमन्त्री केपी ओलीले हटाउन लागेको भन्दै उनले अहिले सेटिङ मिलाउन केही व्यक्ति खटाएको स्रोतले बतायो । स्रोतका अनुसार, कोषकै एकजना कर्मचारीलाई प्रधानमन्त्री ओली र ओलीको सचिवालयसँग कुरा मिलाउने भनेर खटाएका छन् । केसीले खटाएका ती कर्मचारी प्रधानमन्त्री कार्यालय र निवास धाउने गरेका छन् ।

प्रधानमन्त्री कार्यालय र निवासमा केसीका विषयमा हने कुनै पनि गतिविधिहरू केसीलाई लगेर सुनाउने गरेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस निकटका केसीले अहिले पनि कांग्रेसका नेताहरूले दिने निर्देशन कार्यान्वयन गर्दै आएको आरोप छ ।

कोष सञ्चालक समितिका एक सदस्यका अनुसार कोषभित्रको बेथितीबाट आफू दिक्क भएको बताए । ‘कोषभित्र धेरै कुराहरू अपारदर्शी छ’, नाम उल्लेख नगर्ने सर्तमा ती सदस्यले भने, ‘सबै कारोबारको सफ्टवेर बिग्रिएपछि कार्यकारी निर्देशकले चित्तबुझ्दो जवाफ दिनुपर्छ कि पर्दैन ?’

कार्यकारी निर्देशक केसीले कोषमा गरेको सबै चर्तिकलाहरू प्रधानमन्त्री ओलीसमक्ष पुगेको छ । ‘कोषभित्र के–के भएको छ सबैलाई थाहा छ । प्रधानमन्त्रीलाई पनि जानकारी छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू कार्यकारी निर्देशक नकुल केसीसँग सन्तुष्ट हुनुहुन्न । सायद उहाँलाई हटाएर उपयुक्त व्यक्तिलाई छिटै नियुक्ति गर्नु हुन्छ ।’

यति मात्र होइन्, कोषको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कार्यकारी निर्देशक हटाउने पक्षमा रहेको चाल पाएपछि केसीले कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही उच्च नेताहरूको घरदैलो पनि थालेका छन् । केसीले जसरी भए पनि कोषको कार्यकारी पक्षमा टिकिरहने योजना बनाएको एक कर्मचारीले बताए ।

कार्यकारी निर्देशक केसीसँग कोषका बहुमत कर्मचारीहरू सन्तुष्ट छैनन् । केसीको कार्यशैलीका बारेमा कोषभित्रै आलोचना हुँदै आएको छ ।

यसअघि महिला कर्मचारीलाई यौन हिंसा गरेको अभियोगमा उजुरी परेपछि कोषका उपाध्यक्ष यमबहादुर थापाले दुई हप्ता अगाडि पदबाट राजीनामा दिएका थिए । कोषमा उच्च अधिकारीहरूले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने गरेका घटना बेलाबेला बाहिरिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित