न्युयोर्क, २२ भदौ । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिला एकलको फाइनलमा प्रवेश गरेकी छन् ।
नेपाली समय अनुसार शुक्रबार बिहान भएको सेमिफाइनलमा लात्भियाकी एनास्तासिजा सेवास्तोवालाई हराउँदै सेरेनाले युएस ओपनको फाइनलमा स्थान पक्का गरेकी हुन् ।
उनले गएको सेम्टेम्बरमा छोरी जन्माएपछि दोस्रो पटक ग्राण्डसलामको फाइनलमा स्थान बनाएकी हुन् । गएको जुलाईमा सेरेना विम्बल्डन टेनिसको फाइनलमा एन्जेलिका केरबरसँग पराजित भएकी थिइन् ।
३६ वर्षकी सेरेनाले १९ औँ बरियताकी सेवास्तोवालाई ६ ३ ६ ० को सेटमा हराएकी हुन् । सेरेनाले अब फाइनलमा अमेरिकी म्याडिसन किज वा जापानकी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्ने छिन् । फाइनल खेल शनिबार हुनेछ ।
फाइनलमा जितेमा सेरेनाले मार्गरेट कोउर्टले २४ वटा ग्राण्डसलाम उपाधि जितेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने छिन् । सेरेना ३१ औँ पटक शीर्ष प्रतिस्पर्धाको फाइनलमा पुगेकी हुन् । यस्तै उनी युएस ओपनको फाइनलमा पुगेको यो नवौँ पटक हो ।
यसपटक उपाधि जितेमा यो छोरी जन्माएपछिको सेरेनाको पहिलो ग्राण्डसलाम उपाधि हुनेछ । एजेन्सी















प्रतिक्रिया