
अमेरिका । लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको ‘अचेल पाइलै पिच्छे’ भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइरहेको गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ जर्सी सिटी नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको छ ।
यो चयनले हाल अमेरिका–क्यानडामा सांगीतिक भ्रमणमा रहेका ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्डै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट एकमात्र म्युजिक भिडियो चयनमा परेको हो ।
हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक कविता संग्रह प्रकाशन गरेको चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गरेका छन् ।
मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएका छन् । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बरसम्म चल्ने प्रतियोगितामा ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।
आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताए ।
यस्तो छ गीतको भिडियो















प्रतिक्रिया