काठमाडौं, २१ भदौ । नेपाल दूर सञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएसँगै ठूलो आर्थिक चलखेल शुरु भएको छ ।
सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले १५ जना उम्मेदवार मध्येबाट तीन जनाको नाम सिफारिस गरेपछि प्राधिकरणको अध्यक्षका लागि मन्त्रिपरिषद्ले नियुक्तिको तयारी थालेको छ ।
यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । सिफारिस भएका तीन जना पूर्वअध्यक्ष दिगम्बर झा, पूर्व सञ्चार सचिव सुशील घिमिरे र प्राधिकरणमै कार्यरत पुरुषोत्तम खनालमध्ये एकले नियुक्ति पाउनेछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरु लागि परेका छन् । विदेश जानु अघि मन्त्रीपरिषद्को बैठकमा झालाई अनुकुल हुने गरी प्रस्ताव लगेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले झपारेका थिए ।
झा आफैमा बद्नाम व्यक्ति भएपनि उनको ठूलो आश्वसनमा परेर मन्त्रालयका उच्च कर्मचारीहरूले झालाई नियुक्ति गर्नकै लागि सिफारिस गरेका थिए । तर, ओलीले नपत्याएपछि झा र उच्च कर्मचारीको खेल पूरा नहुने भएको छ ।
झाले ग्रामीण दूरसञ्चार कोषको रकम व्यापक दुरुपयोग गरेको र यूटिएललाई ग्रामीण दूरसञ्चार कोष नियमावली २०६८ विपरित कोषको दुई अर्व एक करोड रुपैयाँ अनुदान दिएका थिए । यूटिएलमा मुख्य स्वामित्व हाल उपेन्द्र महतोको रहेको छ । महतो पनि झालाई अध्यक्ष बनाएर टेलिकम क्षेत्रमा माफियाकरण गर्न चाहन्छन् ।
सिफारिसमा परेका पूर्व सचिव घिमिरे भने नेकपाका महासचिव विष्णु पौडेल निकट मानिन्छन् । स्वच्छ छविका घिमिरेलाई नै पौडेलले च्यापेको हुँदा घिमिरे दूरसञ्चारको अध्यक्ष बन्ने निश्चित रहेको स्रोतको दाबी छ ।















प्रतिक्रिया