काठमाडौं, २० भदौ । सुरक्षा अधिकारीहरूमा विभूषणको मोह धेरै हुनुमा मुख्य दुई कारण छन् । पहिलो– विभूषणले उनीहरूको बढुवामा अर्थ राख्छ ।
नेपाल प्रहरीको बढुवामा सरकारले दिने विभूषणबापत २ नम्बर राखिएको छ । अन्य सुरक्षा निकायमा विभूषणलाई नम्बरको आधार बनाइने भएकाले उनीहरूले बढी नै लबिङ गर्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दोस्रो– राज्यको उच्च तहमा अरूको भन्दा धेरै पहुँच हुने भएकाले उनीहरूले धेरै पाउने गरेका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी देशमा धेरै दुःख गर्नेहरू सुरक्षाकर्मी नै भएकाले उनीहरूले धेरै विभूषण पाएको बताउँछन् । सुवेदी भन्छन्, ‘बाढी पहिरो आउँदा, जनतालाई दुःख पर्दा सबैभन्दा पहिला सहयोग गर्न पुग्ने भनेका सेना प्रहरी नै हुन्, उनले नपाएर कसले पाउँछन् ?’
नेपाल प्रहरीमा त विभूषण विकृति नै बनिसकेको छ । कामको आधारमा भन्दा चिनजानको आधारमा विभूषण दिने प्रवृत्ति बढेकाले प्रहरीमा पहुँच नभएकाहरू यही कारण करिअरमै पछि पर्ने अवस्था छ । बढुवामा १० नम्बरमध्ये २ नम्बर विभूषणबापत राखिएको छ ।
बढुवाकै लागि विभूषणका लागि हरेक वर्ष प्रहरीमा ठूलो लबिङ हुने गरेको छ । गृहका एक अधिकारी भन्छन्, ‘प्रहरीको बढुवामा विभूषणको नम्बर नराख्ने हो भने विभूषण पाउने सूचीमा प्रहरीको संख्या ह्वात्तै घट्छ ।’















प्रतिक्रिया