काठमाडौं, २० भदौ । बिबिएस पहिलो वर्षको प्रश्नपत्र गत भदौमा परीक्षाअगावै आउट भएको थियो । विश्वविद्यालयकै जिम्मेवार पदाधिकारीसँग मिलेको गिरोहले बिबिएसको प्रश्नपत्र बजारमा बेचेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले गिरोहका १४ जना पक्राउ गरेबाटै बुझ्न सकिन्छ– कति ठूलो समूह यसमा सक्रिय थियो । यो समूहले राजधानीका विभिन्न क्याम्पसमा प्रश्नपत्र बेचेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
एमबिबिएसको प्रवेश परीक्षाको प्रश्नपत्रसमेत आउट भएका उदाहरण छन् । ०७१ मा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गराएको प्रवेश परीक्षाको प्रश्नपत्र पनि लाखौँ रुपैयाँमा किनबेच भएको थियो । प्रश्नपत्र बेचेको आरोपमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले निर्देशक पाण्डेलाई नौ महिना कैद र पाँच लाख जरिवाना सुनाएको थियो ।
भदौ ०६९ मा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा पनि प्रश्नपत्र बाहिरिएको थियो । त्रिविको आफ्नै प्रेस छ । साथै, जनक शिक्षा सामग्री केन्द्रमा सेक्युरिटी प्रेस पनि छ । तर, इन्जिनियरिङको प्रवेश परीक्षाको प्रश्नपत्र छाप्न ललितपुरको सानेपास्थित सिग्मा प्रेसलाई दिइएको थियो । त्यहीँबाट प्रश्नपत्र बाहिरिएको थियो । कतिपयले फोटोकपी गरेर र कतिपयले अडियो रेकर्ड गराएर प्रश्नपत्र किनबेच गरेका थिए ।
यसअघि अंग्रेजी केन्द्रीय विभागका प्राध्यापकबाटै प्रश्नपत्र बाहिरिएको थियो । त्रिविका अंग्रेजी केन्द्रीय विभागका प्राध्यापक शरद ठाकुरको गैरजिम्मेवारीपनका कारण प्रश्नपत्र बाहिरिएको थियो । उनलाई सामान्य कारबाही मात्र गरिएको थियो । त्यसपछि उनले मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन भई लामो समय परीक्षाकै काम गरे । त्यसैगरी ०७१ मा पनि पद्मकन्या केन्द्रबाट व्यवस्थापन विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयमा पनि प्रश्नपत्र आउट हुँदै आएका छन् । गत मंसिरमा पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र निजी कलेजलाई पहिले नै बेचिएको थियो ।
विश्वविद्यालयका पदाधिकारीको यो बदमासीविरुद्ध आक्रोशित मोरङस्थित जिपी कोइराला कलेज अफ एग्रिकल्चरका विद्यार्थीले प्रशासनिक भवन तोडफोड गरेका थिए । उनीहरूले डिनको कुर्सीसमेत आगो लगाइदिएका थिए । प्रश्नपत्र आउट भएको थाहा पाउँदापाउँदै पनि विश्वविद्यालयले छानबिन समितिसमेत नबनाएकोमा विद्यार्थी आन्दोलित भएका थिए ।















प्रतिक्रिया