
काठमाडौं । फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले आफ्नो डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ अन्तर्राष्ट्रिय मोडललाई र्याम्पमा उतार्ने भएकी छन् । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकपछि पुनम आफ्नो डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् ।
एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् ।
‘न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’ पुनमले भनिन्, ‘पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको स्वाद सहभागीले राम्रो पाउनेछन् ।’
एसएम ग्लोबलले आयोजना गर्न लागेको फेशन शो आगामी सेप्टेम्बर १२ बाट शुरु भई दुई दिनसम्म चल्नेछ । पुनम सेप्टेम्बर १० मा पेरिस जाँदैछिन् । यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।















प्रतिक्रिया