काठमाडौं, १८ भदौ । तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा डा तीर्थ खनियाँलाई नियुक्त गरे ।
सरकारको यो कदममा तत्कालीन माओवादी र एमालेले पनि समर्थन गरे । किनकि, उनीहरूले पनि रजिस्ट्रार र रेक्टर पाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्पष्ट भागबन्डा गरेर माओवादीले रेक्टरमा प्रा।डा। सुधा त्रिपाठी र एमालेले रजिस्ट्रारमा डिल्लीप्रसाद उप्रेतीलाई पठायो । थेसिस लेख्दा अरूको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेका खनियाँको विरोध भए पनि उनको पदलाई कसैले दख्खल पु-याउन सकेन ।
०७० को निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका कोइरालाको प्रचारमा खनियाँ हिँडेका थिए । गत संसदीय निर्वाचनमा त उनी उम्मेदवार बन्ने सम्भावना पनि थियो ।
चितवन–१ बाट उम्मेदवार बन्ने सम्भावित राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलियासँगै तीर्थ खनियाँको नाम पनि सिफारिस भएको थियो । यसरी पार्टीको च्यानलबाट उम्मेदवारको नाम सिफारिस आउँदा पनि उनी त्रिभुवन विश्वविद्यालयजस्तो देशकै सबैभन्दा ठूलो प्राज्ञिक निकायको उपकुलपति नै थिए ।
तीन दलको भागबन्डामा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारीमा पुगेका तीनजनाले अन्य धेरै विषयमा विवाद गरे पनि घट्टेकुलोमा सञ्चालन गर्ने भनिएको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन भने एकमत भएका थिए ।
कक्षाकोठा, उपकरण, प्राध्यापक, अस्पताल, डाक्टर, नर्स, फार्मेसी केही पनि नभएको भवनलाई मेडिकल कलेजको सम्बन्धन दिने उनीहरूलाई पदबाट तत्काल बर्खास्त गर्न र भविष्यमा सार्वजनिक पदमा नियुक्त नदिन गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले सिफारिस गरेको छ ।
पछिल्लोपटक २७ दिन अनशन बसेका डा। गोविन्द केसीसँगको सम्झौतामा उनीहरूलाई कारबाही गर्ने विषय उल्लेख छ । तर, एक महिनाभन्दा बढी हुँदा पनि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छैन ।















प्रतिक्रिया