
काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।
आइतबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई सहजै पराजित गरेको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए । ३२ बल खेलेका उनले २ छक्का र ५ चौका हिर्काए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २९ रन बनाए । जसमा उनले २ छक्का तथा १ चौका प्रहार गरे ।
मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १६ तथा सागर पुनले १४ रन बनाए । कप्तान पारस खड्का भने ११ रनमै बोल्ड हुन पुगे ।
सिंगापुरका लागि अनन्थ कृष्णले २ विकेट लिए । कार्थिकेयान सुब्रामनियनले १ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । सिंगापुरका लागि चेतन सूर्ववंशीले सर्वाधिक ६० रन बनाए । त्यस्तै अनिश पारमले ३१ तथा कार्थिकेयान सुब्रामनियनले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
सिंगापुरको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा सन्दीप लामिछाने र ललिल राजवंशीले समान ३-३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट हात पारे ।
सिंगापुरलाई पराजित गरेसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो बन्दै गएको छ । यसका लागि नेपालले बाँकी खेलमा राम्रो नेट रनरेटले हराएर अरुको नतिजामा भर पर्नुपर्ने हुन्छ ।















प्रतिक्रिया