काठमाडौं, १७ भदौ । गुणस्तरीय शिक्षा दिन कमजोर भएको आरोप खेपेका नेपालका विश्वविद्यालयहरू सम्बन्धनको व्यापारमा भने तीव्र देखिएका छन् ।
देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय मात्रै होइन, भर्खर स्थापना भएका विश्वविद्यालयसमेत धमाधम नयाँ कलेज खोज्ने र नयाँ–नयाँ कार्यक्रम दिने व्यापारमा लागेका छन् ।
निश्चित कुनै उद्देश्यका लागि खोलिएका विश्वविद्यालयले आफ्नो फ्याकल्टी नभएका विषयमा समेत स्वीकृति दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आवेदन दिएका कलेजलाई विश्वविद्यालयले धमाधम सम्बन्धन तथा नयाँ कार्यक्रम दिन थालेपछि सरकारले रोकेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले सम्बन्धन अगाडि नबढाउन विश्वविद्यालयहरूलाई पत्र पठाएको हो ।
तर, पछि विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यक्रम थपको लागि खुला गरेपछि अधिकाशं विश्वविद्यालयले त्यसकै नाममा व्यापार सुरु गरेका छन् ।
आयोगका सदस्यसचिव प्रा डा देवराज अधिकारीले कार्यक्रम थपका लागि विश्वविद्यालयले विज्ञापन गर्दा त्यही विषयमा मात्र गर्नुपर्ने बताए । स्नातकमा व्यवस्थापन सञ्चालन गरेको छ भने व्यवस्थापनको मात्र कार्यक्रम थप गर्न पाउने उनले बताए ।
सरकारले समिति बनाएर देशमा कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति आवश्यक छ भन्नेबारे अध्ययन गर्दै छ । शिक्षासचिव खगराज बरालले कति जनशक्ति आवश्यक भन्ने प्रक्षेपणका लागि शिक्षा मन्त्रालयले अध्ययन कमिटी प्रस्ताव गरेको बताए ।
तर, अर्थ मन्त्रालयले पहिले पनि केही काम भएको भन्दै जिज्ञासा राखेकाले त्यसबारेमा निर्णय भइनसकेको बताए ।














प्रतिक्रिया