
काठमाडौं, १४ भदौ । बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये सबैभन्दा शक्तिशाली मानिन्छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।
उनको पहिलो नेपाल भ्रमणका क्रममा सन् २०१४ मा नेपालका प्रधानमन्त्रीबाट प्रोटोकल तोडिएको थियो । तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला मोदीको स्वागतका लागि आफैं विमानस्थल पुगेका थिए ।
कोइराला पछि बनेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि बनेका दुई प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाका पालामा नेपालमा ठूला सरकार प्रमुखको भ्रमण भएन ।
पुनः ओली निर्वाचित भए, उनका पालामा विहीबार ६ देशका सरकार तथा राष्ट्रप्रमुखको भ्रमण भयो । त्यसअघि गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदीकै भ्रमण भएको थियो । तर ओलीले प्रोटोकल तोडेनन् । सबैको स्वागतका लागि उनले सवारी मन्त्रीका रूपमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई जिम्मा दिए । मोदीको अघिल्लो पटकको भ्रमणमा पनि पोखरेल नै स्वागत गर्न जनकपुुर पुगेका थिए ।
कतिपय सल्लाहकारले उनलाई ‘प्रोटोकोल’ तोडेरै शक्ति राष्ट्रका सरकार प्रमुखको स्वागत गर्नुपर्छ भन्ने सुझाव दिएका थिए । तर ओलीले सल्लाहकारको सुझाव मानेनन् । बरु, सल्लाहकारलाई सुझाव दिए– प्रधानमन्त्रीले प्रोटोकोल जीवन्त राख्नुपर्छ । यो आउने पुस्ताका लागि पनि शिक्षा हो ।
प्रोटोकल खासगरी दुई हिसाबले तोड्ने प्रचलन छ । पहिलो, स्वागत गर्ने राष्ट्र आगन्तुक सरकार प्रमुख वा राष्ट्रप्रमुखको देशको निर्भरतामा बाँचेको हुनुपर्छ, दोस्रो, कि त्यो देशमा युगकै परिवर्तन गर्ने नेता हुनुपर्छ ।
भारतका तत्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालमा भएको जनआन्दोलनपछि बनेको तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको भ्रमणमा प्रोटोकल तोडेका थिए ।
तत्कालिन विपक्षी भारतीय जनता पार्टीले उक्त कामको आलोचना गरेको थियो । तर, सिंहको त्यसबेलाको उत्तर थियो– युग परिवर्तन गर्ने मान्छे हुन्, कोइराला । त्यतिमात्र नभएर कोइराला त्यसबेला सरकारप्रमुख मात्र होइन, राष्ट्र प्रमुखको हैसियतमा पनि थिए ।
ओलीले विदेशी पाहुनाका सामु कुटनीतिक मर्यादा र सुरक्षालाई भने जोगाउने प्रयास गरेका छन् । उनी स्वागतका लागि नपुगे पनि सुरक्षा र सहज यात्राका लागि प्रशासनिक रूपमा खरो देखिए ।
विद्यालयहरूमा सार्वजनिक विदा गराएका छन्, सवारी साधनलाई जोरविजोर सञ्चालनको निर्देशनसहित कतिपय ठाउँमा भिभिआइपीको आगमनमा रोक्ने सम्म गरेका छन् । ‘दुई दिन आफुलाई दुख भए पनि पाहुनाको हितकर काम र उनीहरूले सकारात्मक सोच लिएर फर्किने सोच प्रधानमन्त्रीको हो’, बालुवाटार स्रोतले भन्यो ।















प्रतिक्रिया