बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

किशोरीमा देखिने रक्तअल्पता किशोरमा पनि देखिन थाल्यो, के छ उपाय ?

दैनिक नेपाल २०७५ भदौ १३ गते १६:२६

–विष्णु नेपाल
काठमाडौं, १३ भदौ । विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ ।

नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ ।

नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन । परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न नेपालमा राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ ।

ती निकायहरुद्वारा संयुक्तरुपमा बुधबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणमा छ देखि ५९ महिनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेका देखाएको छ ।

हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा भनिएको छ, “रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा छ । यो सङ्ख्या २७ प्रतिशत छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिता कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ ।

विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशु मृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ । सर्वेक्षणले छदेखि ५९ महिनाका १०० बालबालिकामध्ये २१ जनामा जिन्कको कमीसमेत देखाएको छ । यसको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसित लड्ने शक्तिमा ह्रास गराई रोगको दर बढाउछ । सर्वेक्षणमा प्रजनन उमेर समूहका एक चौथाइ महिलामा समेत जिन्कको कमी रहेको देखाएको छ ।

सर्वेक्षणमा छदेखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ उमेर ४० प्रतिशत महिलामा हेलिकोब्याक्टर९एच० पाइलोरीको सङ्क्रमण, १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा एच पाइलोरीको सङ्क्रमण पाइएको छ । महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो ।

चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाक्वाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ । सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई÷मधेशमा बढी रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ ।

बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छदेखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष का तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सर्वेक्षण सार्वजनिक गर्दै आगामी नीति निर्माण तय गर्न सर्वेक्षणबाट निस्केका नतिजाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित