सदियौ अनादिकालदेखि जव मानव जातिको उत्पत्ति, विकास भयो, तत्पाश्चात नै समाजिक रुपरेखाको विकास हुदै गयो । विश्वको जुनसुकै भुगोल होस जहाँ मानव जातिको वस्ती विकास भयो । त्यहिवाट समाजको उत्पत्ति भयो । मानव जातिका लागि सहजताका अवलम्वन गरिने क्रियाकलापहरु मानविय मुल्य मान्यता, आर्दश, संस्कारको रुपमा विकसित हुदै गयो । मानवजातिको विकास, आवश्यकता, रहन सहन सँगै विस्तार हुदै गएको परिस्कृत रुपहरु मानविय चेतना सँग फरक फरक रुपमा मुखातरित हुदै गयो । मानवको चेतनास्तर, विकास, त्यहाँको संस्कृति, रितिरिवाज, परम्परा र त्यहाँ रहने व्यक्तिको क्षमता, योग्यताले समाजको स्वरुप फेरिदै गयो । आजको यो एक्काईसौ शताव्दीको चरणसम्म आईपुग्दा मानविय चेतनाको उच्चतम प्रयोग सगै फरक फरक प्रवृत्ति र संस्कृति यहि समाजमा देख्न सकिन्छ । त्यहि समाजको रापतापमा आज जे जे घटना, दुर्घटना र परिस्थितीहरु सृजना हुदै गयो, त्यो सवै हिजोका दिनमा समाजमा रहने व्यक्तिको चेतनास्तरको परिणाम हो । जुन हरेक समाजमा वेग्रल्ती देख्न र भोग्न पाईन्छ ।
समाज मानव जातिको घर पछिको दोश्रो पाठशाला । यहि पाठशालाको शिकाई भित्रको उपलव्धी नै हो अहिले हामीमा देखिएको व्यवहार । जव व्यक्ति जन्मछ, घर वाट शुरु भएको शिकाई समाज हुदै पाठशालाको माध्यामवाट मस्तिष्कमा वलियो जरा गाडेर वसेको हुन्छ । पाठशाला त एउटा साधक मात्र हो साध्य होईन । साध्य त घर र समाज नै हो । यहि तितो यथार्थता भित्र रहेको परिणाम नै अहिलेको परिवेश हो । यो कुनै जटिल र अपरिवर्तनशिल साध्य होईन । जुन परिवर्तन हुन सक्दैन । घर, टोल, समाज, क्षेत्र हुदै देश र विश्वको यो विशाल जन्जालमा हामीले हाम्रो समाज कस्तो वनाउने भन्ने निर्धारण हामी स्वयंमा हुने कुरामा कुनै विमति छैन । यसो भनिरहदाँ हामी कुन समाजको परिकल्पना र निर्माण गरिरहेका छौ भन्ने यक्ष प्रश्न खडा भएको छ ।
हिजोको आदिम काल होस वा शुरुवाती चरण, त्यहि चरणको फेरो समातेर मात्र समाजको व्याख्या र विश्लेषण गर्दा अवको यो विकसित समयमा पाच्य हुन सक्दैन । किनकि हिजोको वाजे वराजुको समय र आजको यो संचारको युगमा आकाश पातल फरक रहेको छ। हिजोको वाजेको पालाको चेतनास्तरले निर्माण गरेको समाजका संस्कृतिलाई परिमार्जित गर्ने कि त्यसैको निरन्तरता रमाउने ? प्रश्न चिन्ह खडा भएको छ । विश्वमा हरेक वस्तु र विषय परिवर्तनशिल भएको सन्दर्भमा हिजोको ढुङ्गे युगको, अशिक्षित समाजको सस्कृति, चालचलन, व्यवहार आजको समाजमा कति सान्र्दभिक रहेको छ ? छलफलको विषय वन्नुपर्ने समय आएको छ । पुर्खामा भएको एकताका मालामा उन्नका लागि गरिएको समाजिक चाडवाड, रितिरिवाज, परम्परा, धर्म संस्कृति, भाषाशैली त्यो वेलामा सान्र्दभिक भएता पनि आजको यो वैज्ञानिक युग र प्रविधिको युगमा त्यसको सान्र्दभिकता कति ? वुहारीले सासुको गोडा धुने वेलामा हक र अधिकार अनि जमानाको कुरा गर्ने समयमा समाजमा, अन्य चालचलन, रितिरिवाज, परम्परा, धर्म, सस्कृतिले समाजमा पारेको नकारात्मक प्रभावका वारेमा चाहि छलफल हुनु पर्देन ?
समाज र समय एक अर्काको परिपुरक हुन, जुन अनन्तकाल सम्म चलिरहन्छन् । परिवर्तित सन्दर्भमा भएको समाजका मुल्य मान्यताका कडिमा रहेको मृत्यृ संस्कारको समय, जन्म, चाडवाड, धर्म, रहनसहनका वारेमा उचित र समय सापेक्ष परिवर्तन नै अहिलेको आवश्यकता हो । हिजोका पुर्खाले मृत्यृ संस्कारमा तेह्र दिन वार्ने संस्कृति अहिले को समयमा कति उचित ? हिजो पुर्खामा भएको जातिय विभेद, संस्कार र संस्कृतिका नाममा हुने निरन्तरता कति उचित ? हिजो संस्कृति र धर्मका नाममा गरिने गरिवमाथी समाजको थिचोमिचो आज त्यसको नै पुनरावृक्ति कति उचित ? मुक्त, कमैया, हलिया प्रथा मा देखिएको आजसम्मको निरन्तरताका वारेमा वौद्धिक वर्गवाट उचित विकल्प के आवश्यक छैन ? निरन्तरताका नाममा समाजमा देखिएको अन्धविश्वास, कुरिति र कुसंस्कार हटाउदै जाने कि समय सापेक्षा परिवर्तन गर्दे जाने ? एक्ककाईसौ प्रविधियुक्त समयमा छलफल हुनु पर्देन, समाजका आफुलाई समाजसेवी, भद्रभलादमी भन्नेहरुले ?
हरेकतामा परिवर्तन र नयाँपन खोज्ने जनताले समाज रुपमान्तरणमा नयााँपन र आवश्यकता अनुरुप परिमार्जन गर्न खोज्नु भनेको विरोध गर्नु कदापि हुन सक्दैन । समाज आफैमा अन्धो हुन्छ । समाज शक्ति वाट परिचालित भएको हुन्छ, त्यसैको आडमा समाजमा रहेका भद्र भलादमी र कथित वुद्धिजिवीहरुको हेपाहा सोचको शिकार कहिलेसम्म भईरहने ? शक्ति र सत्ताका लागि हिजो सामन्तीको नियममा नै रहेर दमित कहिले सम्म भईरहने ? स्वार्थताको जगमा उभिएर वनाईएको धर्म, सस्कृति, चालचलनका वन्धक कहिले सम्म भईरहने ? समाज सवैको लागि समान हुने कि जमिन्दार, सामन्त र शोषक वर्गका अधिनस्थ रहिरहने ? धर्म, संस्कृतिका आडमा भएको अराजकताको सामना गर्ने कि, त्यसैको नाममा वढवा दिईरहने ? पौराणिक कालमा तत् समयमा वनेका निति नियम, परम्परा, धर्म सस्कृति त्यहि समयमा सान्र्दभिकता थियो, तर वदलिदो परिवेशमा पनि त्यसैको जंजलामा वाधिएर कति अराजकताको सिर्जना गराईरहने ? कति पिडित वनिरहने ? समाज धनिमानीको मात्र होईन, गरिव निमुखा र पिडितहरुका पनि वन्नुपर्दछ । विश्वका अधिकांश देश हरु धर्मनिरपेक्षता भईसकेको सन्दर्भमा हरेक धर्ममा समान अधिकार, सवैले सवैको सम्मान गर्ने अवस्था सिर्जना भईसकेको सन्र्दमा पनि छाउपडि प्रथा होस, वा वोक्सिका आरोपमा पिडित महिलाको व्यथा, जातिय असमानता होस वा छुवाछुत, मालिकले गर्ने शोषण होस वा मन्दिरमा धर्ममा नाममा वालवालिकाको वलि दिने प्रथा, यो सव धर्म र संस्कृतिका नाममा कदापी सह्य हुन सक्दैन । समाज भन्ने अमुक शव्दलाई भजाएर गरिने विभेद र भेदभाव किञ्चित पाच्य हुन सक्दैन ।
आजको समयमा देखिएको समाजिक वेथिती यहि समाजको परिष्कृत धर्म, सस्कृति, परम्परा, धर्म र परम्पराको उपज शिवाय केहि हुन सक्दैन । समाजको भुत देखाएर गरिने अवाञ्चित क्रियाकलाप अव कदापी सान्र्दभिक हुदैन । समयको परिवर्तन सँगै समाजमा रहेको कुरिति र कुसंस्कारको जग भत्काएर नयाँ सभ्य समाज निर्माण नै अहिलेको आवश्यकता हो, नकि धर्म संस्कृति र परम्पराको नाममा हिजोको निरन्तरता ? जसले समाज नै थिलोथिलो वनाईदियो ।
















प्रतिक्रिया