
काठमाडौं, १३ भदौ । एकीकरण घोषणाका दिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयले भनेका थिए– एकीकरण एमालेमा माओवादी र माओवादीमा एमाले विलय भएको हो । अर्थात, घुलेको हो । यसले दुवै दलका कार्यकर्तापंक्तिको मन जितेको थियो । तर एकीकरणका प्रक्रिया, कार्यविधि, संगठन नेतृत्वको संरचनाको ढाँचासहित व्यवाहारिक एकीकरणमा भने पार्टीभित्र मन कुँड्याउनेहरू बढ्न थालेका छन् ।
कतिपयले यो एकीकरण अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले भनेजस्तो पार्टीभित्र पार्टीको घुलन नभएर ‘ओली र प्रचण्ड’को मात्रै अन्तरघुलन भएको निष्कर्श निकालेका छन् । अर्थात्, एकीकरणको तल्लो तहसम्म अन्य प्रभावशाली नेताका पक्षधरताको नेतृत्वलाई अवमुल्यन गरी ओली–प्रचण्डको तानाशाह ‘प्रवित्ति’ हावी भएको आरोप लगाउन थालिएको छ ।
यसको प्रक्रिया सरकार सञ्चालन, मन्त्री हेरफेरका विषयमा नै इङ्गीत गरिएको छ । कानुन मन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ पार्टीका नेता माधवकुमार नेपालका पक्षधर हुन् । उनलाई राजीनामा गर्न बाध्य पारे पनि सो ठाउँमा नेपाल समर्थकलाई नै ल्याउनुपर्ने थियो । तर, ओलीका समर्थक भानुभक्त ढकाललाई नियुक्त गरिनु एकाधिकारवादी सोच भएको आरोप पनि लगाइएको छ । पूर्वमाओवादी नेतृत्वले सो मन्त्रालयमा आँखा लगाए पनि भागवन्डाका हिसाबले पूर्वएमाले कै भएकाले छाडिएको थियो ।
खुमलटार स्रोतले भन्यो,‘धेरै नाम आएका थिए । तर, प्रधानमन्त्रीले भानुभक्तलाई नबनाई नहुने भयो भनेर बारम्बार फोन गरेपछि हामी पनि तर्कियौं । चासो देखाउन आवश्यक ठानिनौं ।’
ढकाल नियुक्तिका विषयमा ओलीले नेपालसँग पनि कुनै परामर्श गरेका थिएनन् । ‘भोली लालबाबु पण्डित हटाउने निर्णय होला, अन्य निर्णय पनि हुन सक्छन् । त्यसबेला पार्टीका बरिष्ठ नेतासँग छलफल नगर्ने ? अनि आफुलाई लोकतन्त्रवादी भन्न सुहाउँछ ? खै आन्तरिक लोकतन्त्र ?’, नेपाल समर्थक केन्द्रीय सदस्य प्रश्न गर्छन् ।
पार्टीमा प्रचण्ड र सरकारमा ओली हावी भएपछि तत्कालिन एमालेको १५ बर्षसम्म नेतृत्व गरेका नेपाल र ५ बर्षसम्म अध्यक्षता हात पारेका खनाल पनि नेपथ्यमा छन् । खनाल पार्टीका जिम्मेबार हुने भन्दा पनि पेन्सनर नै हुने रहरमा छन् । खनालले राष्ट्रपतिमा चासो देखाएका थिए । तर, ओली मानेका थिएनन् ।
नेपाल अझै नेतृत्व लिन सकिने जोडबलमा लागेका कारण कार्यकर्ताको एउटा पंक्ति उनीसँग रहेको छ । तर ओली–प्रचण्डको छायाँले उनलाई अघि बढ्न दिएको छैन । यसै पनि बरियतामा तेस्रो स्थानमा उकाले नेपाल तत्कालका लागि कम्युनिस्ट पार्टीको नेपथ्यमा नै छन् ।
केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टी एकीकरणको कार्यविधिअनुसार पूर्व एमाले र माओवादीको मिलन गराउन थालिएको छ । बाँडफाँटकै स्थिति हेर्ने हो भने कुनै ओली समर्थक र कुनै प्रचण्ड समर्थकको नेतृत्वमात्र रहेको छ । नेपाल समर्थकहरूले वरियतामा पनि आफुलाई उभ्याउन सकेका छैनन् । कतिपयले नेपालले अडान लिन नसक्दा आफुहरू नेतृत्वबाट बञ्चित भएको पनि बताउन थालेका छन् । ‘चुनावमा योगेश भट्टराईलाई मन्त्री बनाउँछु भनेका प्रधानमन्त्रीले अहिले बनाए ?’, एक नेताको प्रश्न छ,‘नेपाल गुटका अब्बल भएका कारणले नै उनलाई मन्त्री नबनाइएको हो ।’
त्यसो त पार्टीको सबैभन्दा शक्तिशाली भ्रातृ संगठन मानिएको युवा संघ नेपाल, अनेरास्ववियूको बाँडफाँटको तरिका पनि त्यसरी नै सतहमा देखियो ।
पूर्वमाओवादीहरू युवा संघको नेतृत्व छाड्न तयार भएपछि अनेरास्ववियू लिँदैछन् । युवा संघको नेतृत्वमा ओली समर्थक रमेश पौडेल र अनेरास्ववियूमा प्रचण्ड समर्थक रन्जित तामाङको नेतृत्व हुने सम्भावना छ । तामाङ माओवादी नेता बर्षमान पुनः नजिक पनि मानिन्छन् ।
‘यी एकीकरणहरूमा नेपाल समुहका कसैले पनि अवसर पाउन सकेका छैनन् । एकीकरणको अर्थ ओली र प्रचण्डमात्र मिलेको हो की पुरै पार्टी पंक्ति मिलेको हो ?’, नेपाल समर्थक एकजना केन्द्रीय सदस्य भन्छन्,‘यसमा नेताप्रतिको विश्वास र भरोसामात्र होइन, एउटा पंक्ति नै पेलिएको ठानिन्छ ।’
ओली–प्रचण्डको सहमतिमा संसदीय दलमा मात्र होइन, पार्टीभित्र पनि बहुमत रहेका कारणले नेकपामा अध्यक्षद्वय हावी भएका हुन् । त्यसैले दुवैको सहमतिमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर बामदेव गौतमलाई उपनिर्वाचन मार्फत प्रतिनिधि सभा छिराउने सहमति गरे । जसमा नेपाललाई सुइँकोसम्म थिएन ।
त्यसो त अहिले जिल्ला तहका नेपाल पक्षका असन्तुष्ट कार्यकर्ताका कारणले नै एकीकरण प्रक्रियामा केही अवरोध आएको छ । तर ओली–प्रचण्डले यस्तो असन्तुष्टि सम्बोधन गर्न सक्लान् ?















प्रतिक्रिया